परदेशबाट देश नियाल्दाः निराशामा बदलिएको आशा
करिब ३ करोड जनसंख्या भएको देश नेपालका झण्डै ६० लाखभन्दा बढी नागरिकहरु प्रवासमा छन् । आफ्नो जन्मभूमिको अगाध माया–ममता र स्नेहलाई छातिमा राखेर उनीहरु विदेशी भूमिमा आफ्नो श्रम–सीप बेचिरहेका छन् । लाखौ नेपालीहरु यसरी विदेशिनुका पछाडि कतिपयका रहर होलान्, कतिपयका वाध्यता ।
देशभित्र अथक परिश्रम गर्दागर्दै दैनिक गुजारा गर्न पनि नसकिने परिस्थितिबाट छुटकारा पाउनका निम्ति धेरै नेपालीहरु विदेशिन्छन् । कतिपय आफ्नो अध्ययन–क्षमताअनुसार देशभित्र रोजगारीका सम्भावनाहरु नदेखेर त कोही गुणस्तरीय र श्रेष्ठतम शिक्षाको खोजीमा विदेशिएको पाइन्छ । विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुले आफ्नो क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका तथा नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएका दृष्टान्तहरु पनि छन् ।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोदेखि अष्ट्रेलियामा आफूलाई प्रतिष्ठीत व्यवसायीको रुपमा चिनाउन सफल शेष घले, चिकित्सा क्षेत्रमा अद्भुत सफलता हासिल गर्न सफल डा. कुमुद धिताल, बेलायतको कानूनी क्षेत्रमा सफल डा. सूर्य सुवेदी जस्ता धेरै नामहरु छन् । उनीहरुको योगदानले बिदेशी भूमिमा नेपाली झण्डाको शान अझ बढी उचाईमा पुगेको छ ।
पछिल्लो समयमा सूचना–प्रविधिको क्षेत्रमा आएको आमूल परिर्वतनसँगै विदेशमा रहेका नेपालीहरु आफ्ना परिवार, आफन्त र साथीहरुसँग दैनिक सम्पर्कमा रहन्छन् नै । साथै, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत नेपालमा हुने हरेक घटना एवं परिदृष्यका बारेमा पनि सुसुचित छन् उनीहरु । बिदेशी भूमिमा काम गरिरहँदा सबैभन्दा बढी दिमागमा आउने कुरा हो– ‘मेरो देश पनि यस्तै भैदिएको भए ?’ यति काम गर्ने अवसर आफ्नै देशमा उपलब्ध भएको भए आफ्नै घर–परिवारसँग रमाएर बस्न पाइन्थ्यो भन्ने भावनाले पनि मनलाई हुँडलिरहन्छ ।
सन् २००८ मा काम विशेषले पंक्तिकार स्वयम् अष्ट्रेलियाबाट भियतनामको हो चि मिन्ह शहरमा ओर्लदा एउटा अचम्मको अनुभुति भएको थियो । सन् १९५५ देखि सन् १९७५ सम्म अमेरिकासँग करिब २० बर्ष लामो युद्ध लडेर आर्थिक रुपमा जर्जर र मानसिकरुपमा छिया–छिया भएको भियतनामले छोटो समयमा नै कसरी यस्तो समृद्धि हासिल गर्न सक्यो भनेर सोच्न वाध्य भएको थिएँ । मलाई मात्रै होइन कि, हो चि मिन्ह भित्रने जो–कोही विदेशीलाई पनि उनीहरुले हासिल गरेको द्रुत विकासले लोभ्याउँछ ।
४० बर्ष अगाडिसम्म बन्दरगाह र माछापालनको निम्ति प्रख्यात सिंगापुरको मरिन बे अगाडी हिँड्दा होस् वा ४९ बर्षअगाडि ब्रिटिश साम्राज्यबादबाट स्वतन्त्र भएको मरुमुमिको देश युएईमा बरालिदा । करिब ४० बर्ष अगाडिदेखि मात्रै सम्बृद्धिको यात्रामा द्रुत गतिमा अगाडि बढ्दै गरेका बेइजिङ र साङ्घाई जस्ता चीनका ठुला र आधुनिक शहरहरुमा हिँड्दा होस् नै किन नहोस, पलपल दिमागमा आउने गर्छ,– यदि मेरो देश यिनीहरुको तुलनामा एक चौथाई मात्रै पनि भइदिएको भए ? तर अफसोच, करिब २५२ बर्ष लामो इतिहास भएको नेपालले पर्याप्त जनशक्ति, प्राकृतिक श्रोत र सम्पदा हुँदा पनि गर्व गर्नलायक कुनै पनि प्रगति हासिल गर्न सकेन ।
जहानियाँ राणा शासन अन्त्यको ७० वर्ष पूरा हुँदा देशले ६ वटा संविधान फे¥यो र सीमित मानिसहरुको जीवनस्तर फेरियो । तर, देश जहाँको त्यहीँ रह्यो ।
भनिन्छ, कुनै पनि कुरा जबसम्म आफुसँगै रहन्छ, तबसम्म त्यसको वास्तविक महत्वलाई आत्मसात गर्न सकिन्न । जब त्यो चिज गुम्छ वा गुम्ने अवस्थामा पुग्छ, अनि मात्रै त्यसको वास्तविक महत्व थाहा हुन्छ । देशको माटोको सुगन्ध के हो, राष्ट्रियताको मर्म के हो, राष्ट्रको पहिचान के हो, त्यो प्रवासी नेपालीहरुले ज्यादा महसुस गर्छन् । उनीहरुले हरेक दिन होइन, हरेक क्षण यो महसुस गरिरहेका हुन्छन् । देशबाट टाढा रहँदा देशको दूरावस्थाले बढी पिरोल्छ । अनि, जब विदेशमा बसेर देशको चिन्ता गर्नेहरुलाई ‘भगौडा’ को संज्ञा दिएर दुत्कारिन्छ, त्यसले झन् धेरै पिरोल्छ ।
वि.सं. २०७२ सालमा दोश्रो संधिानसभाबाट संविधान जारी भएपछि विदेशिएका नेपालीहरुमा ठूलो उत्साह र उमंग छाएको थियो । प्रत्येक गैरआवासीय नेपालीहरु मुलुकमा अब दिगो र स्थायी सरकार आउने, अनि आफ्नो देशले पनि भियतनाम, सिंगापुर तथा मध्यपूर्वका देशहरु जस्तै आर्थिक र सामाजिक प्रगति हासिल गर्न सक्ने आशामा रमाईरहेका थिए । पटक–पटक अस्थिर सरकार बेहोर्न बाध्य भएका नेपाली जनताले राजनीतिक स्थायित्वसहित विकासको तीब्र रफ्तारमा देश अगाडि बढेको हेर्न पाउने उत्कट चाहनाका साथ २०७४ सालको चुनावमा नेकपा एमाले र नेकपा माओबादीको गठबन्धनलाई झण्डै दुईतिहाई मत दिएर जिताए । त्यसलाई बहुसंख्यक प्रबासी नेपालीहरुले सकारात्मकरुपमा लिएका थिए ।
तर बिडम्बना सरकार गठन भएको तीन बर्ष पुग्दानपुग्दै सत्तारुढ नेकपाभित्र आन्तरिक खिचातानी सुरु भयो । त्यसले उत्पन्न गरेको राजनीतिक अन्योल अहिले उत्कर्षमा पुगेको छ । न सरकारले ढुक्कसँग काम गर्न पाएको छ, न जनताले स्थिरताको अनुभव गर्न सकेका छन् । फेरि पनि सत्ताको हानाथापमै नेताहरुको दैनिकी बितिरहेको छ । यो परिस्थितिले विश्वभर छरिएर रहेका नेपालीहरु निराश छन् । उनीहरुका सपनाहरु नराम्ररी मुर्छित भएका मात्रै छैनन् र मनहरु पनि भाँच्चिएका छन् । प्रसिद्ध गायिका अरुणा लामाको ‘पोहोर साल खुसी फाट्दा…’ बोलको गीतको भाव उनीहरुमा साकार भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको संसद बिघटनलाई सर्वोच्च अदालतले पुनस्थापना गरिदियो । संसद पुनस्र्थापनाको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि अब यही सरकारले निरन्तरता पाउला वा अर्को सरकार बन्ने हो भन्ने अन्योल कायम छ । दुई विकल्पमध्ये जे भए पनि गैरआवासीय नेपालीको चासो भनेको मुलुकको राजनितिक स्थायित्व र विकास नै हो ।
आशा गरौं, लिकबाहिर गएको नेपाली राजनीतिले चाँडै सिधा ट्रयाक समात्न सकोस् र समुन्नत नेपाल बन्ने दिशामा उल्लेखनीय प्रगती हासिल होस । देशभित्रै रोजगार, व्यवसाय र गुणस्तरीय शिक्षाका असीमित अवसरहरु प्राप्त हुन सकुन् । तीव्र गतिमा बढिरहेको ‘मुग्लान पस्ने’ ट्रेन्ड ओरालो लागोस । सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा साकार होस् । र, अन्तत्वगत्वा विभिन्न कारण र बाध्यताले विदेशिएका नेपालीहरु देश फर्कुँ–फर्कुँ लाग्ने वातावरणको निर्माण होस ।
Heart Touching