उदयपुरगढीको पाँच गाउँमा पहिलोपल्ट बिजुली
रासस । सधैं अन्धकारमा रहँदै आएको जिल्लाको उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच गाउँमा पहिलोपटक बिजुली बलेपछि त्यस क्षेत्रका जनता हर्षित बनेका छन् ।
उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलोपटक बिहीबार बिजुली पुगेको हो । उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतका अनुसार गाउँपालिकाको विकट पाँच गाउँ करिब १५० घरधुरीमा बिहीबार पहिलोपटक बिजुली पुगेको छ ।
प्रदेश सरकारको एक करोड २० लाख र बलान सामुदायिक वनको सात सात लाख गरेर कूल रु एक करोड २७ लाखको बजेटमा ती दुर्गम गाउँमा विद्युत् विस्तार गरिएको हो ।
पहिलोपटक बिजुली बलेपछि मैनीटारका ६७ वर्षीय गणेश अधिकारीले भन्नुभयो, ‘हाम्रो गाउँमा बिजुली आउँछ भन्ने कुरा सपनामा पनि सोचेको थिइनँ तर आज सपना पूरा भयो, विकास भनेको त यो पो हो ।’
सिरहा लहान शाखाको बलान कद्माहा खण्ड हुँदै उदयपुर गढी गाउँपालिकाको ती दुर्गम गाउँमा पहिलोपटक विद्युत् विस्तार गरिएको हो ।