गुराँस टिप्नेलाई पाँच हजार जरिवाना ! – Nepal Press

गुराँस टिप्नेलाई पाँच हजार जरिवाना !

रासस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ ।

समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई अटेर गरेर गुराँस टिप्नेलाई रु पाँच हजार जरिवाना तिराउने निर्णय भएको जानकारी दिए । ‘गुराँसको फूल टिप्ने क्रममा हाँगा भाँच्दा रुख मासिने खतरा बढ्यो’, उनले भने, ‘राष्ट्रिय फूल गुराँस संरक्षणका लागि यस्तो निर्णय गर्नुपरेको हो ।’ गुराँसको फूल नपाक्दै टिपिदिँदा बिउ भुइँमा झर्ने र नयाँ बिरुवा पलाउन नपाउने समस्या हुने उनले बताए ।

घोडेपानीको जङ्गलमा पछिल्लो दश वर्षयता गुराँसका रुख काट्न पनि रोक लगाइएको छ । विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा ३२ प्रताजिका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययन अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छन् । एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको आँकलन गरिएको छ । वसन्त ऋतुसँगै घोडेपानी क्षेत्रको गुराँसको जंगल अवलोकनका लागि केही दिनयता पर्यटकको चाप बढेको छ ।

वनैभरि राताम्मे फुलेका गुराँसका रङले यहाँको जङ्गल निकै मनमोहक र आकर्षक बनेको छ । गुराँसले भरिएको जङ्गलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटक बढ्न थालेका घोडेपानी टोल सुधार समितिका कोषाध्यक्ष ज्ञानबहादुर गर्बुजाले बताए ।

आन्तरिक पर्यटकको रुपमा बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौंलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा आउने गरेका छन् । दैनिक १५० देखि २०० को हाराहारीमा आन्तरिक पर्यटक आउन थालेका बताइएको छ । पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रे«लगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर