कहिले हट्ला यो प्रदूषण ? तत्काल ठूलो वर्षातको सम्भावना न्यून – Nepal Press

कहिले हट्ला यो प्रदूषण ? तत्काल ठूलो वर्षातको सम्भावना न्यून

सरकार पर्ख र हेरको अवस्थामा

काठमाडौं । कोभिड लकडाउनका बेला काठमाडौंबाट सगरमाथा देखिने गरी खिचिएको तस्विर भाइरल बन्यो । अघिपछि प्रदूषणले ‘भिजिब्लिटी’ निकै कम हुने काठमाडौंबाट सर्वोच्च शिखर छर्लङ्ग देखिएको विषयले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय संचारमाध्यममा पनि चर्चा पाएको थियो ।

ठीक विपरित अवस्था अहिले छ । अचानक बढेको प्रदूषणका कारण काठमाडौंबाट सगरमाथा त के नजिकैका भीरपाखा पनि देखिँदैनन् । काठमाडौंको भिजिब्लििटी २ देखि ३ किमीसम्ममा सीमित भएको छ । नेपाली राजधानीले अहिले संसारकै प्रदूषित सहरको रुपमा खराब कीर्तिमान राखिरहेको छ ।

वायुप्रदूषणको गुणस्तर (एक्यूआइ) ४ सय पीएमभन्दा माथि पुग्नु आफैंमा चिन्ताको विषय हो । वातावरणविद्हरु यसलाई ‘स्वास्थ्य संकटकाल’ कै संज्ञा दिन थालेका छन् । प्रदूषणको नियन्त्रणका लागि सरकारले विशेष रणनीति अपनाउनुपर्ने उनीहरुको सुझाव छ ।

चैतको दोस्रो सातादेखि देशका विभिन्न स्थानमा लागेको डढेलोबाट निस्केको धुँवा काठमाडौंको वायूमण्डलमा फैलिएको हो । चैत १८ गते विभिन्न ठाउँमा हल्का वर्षा भएपछि घट्दै गएको वायुप्रदूषण अहिले पुनः बढ्न थालेको छ । सुदूरपश्चिमको धनगढीदेखि दाङ, पोखरा हुँदै राजधानी उपत्यकासम्मको वायु गुणस्तर विश्व स्वास्थ्य संगठनले मापन गरेभन्दा खतराको तहमा पुगेको छ ।

डब्लुएचओका अनुसार एक्युआइ ३५ भन्दा तल हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्युआइलाई सामान्य मानिन्छ भने २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लुएचओले ३०१ भन्दा माथि पुगे घातक हुने जनाएको छ । तर, नेपालको वायुप्रदूषण ४ सय एक्युआइभन्दा माथि छ । जल तथा मौसम विज्ञान विभागका अनुसार ठूलै हावा नचले र पानी नपरेसम्म अहिलेको वायुमण्डल सफा हुनेछैन ।

बरिष्ठ मौसमविद् वरुण पौडेल पहाडी भूभागसहित काठमाडौंमा हल्का पानी पर्ने सम्भावना भए पनि पूर्णरुपमा प्रदूषण हट्नेगरी वर्षा हुने सम्भावना तत्काल नरहेको बताउँछन् । ‘अस्ति केही दिन हल्का बर्षा हुँदामात्र प्रदूषण घटेको थियो’ उनी भन्छन्, ‘त्यसयता वायुमण्डल स्थिर भएको छ र तत्काल प्रदूषण कम हुने गरी मौसम परिवर्तन हुने सम्भावना छैन ।’

पौडेलका अनुसार गएको हिउँदयता ठूलो पानी पर्न सकेको छैन र प्रि-मनसुन पनि निस्क्रिय छ । सुख्खाको कारण डढेलो लाग्ने क्रम सुरु भएको र वैशाखमा घटना अझै बढ्नसक्ने उनले जनाए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत पुस महिनामै यो वर्ष डढेलोका कारण भयावह स्थिति आउन सक्ने बताएको थियो । सन् २०१२ देखि यताको तथ्यांक आंकलन गर्दा नोभेम्बरदेखि मार्च महिनासम्म डढेलो र आगजनीको घटना बढिरहेका छन् । सो वर्षमा ४० जिल्ला प्रभावित हुने गरी ३७९ वटा डढेलोका घटना भएका थिए भने ७३ वटा जिल्लामा २७ सयवटा डढेलोका घटना अभिलेख भएका छन् । यसपटक नेपालको वायुप्रदूषण हिन्दुकूश हिमश्रृंखला (तिब्बत र भुटानसम्मै) फैलिएको जनाइएको छ ।

पछिल्लो साता नासाको ‘आइक्यूएयर’ नक्सामा नेपाली भूभागको धेरैजसो हिस्सा रातो देखिन्छ । उक्त रातो हिस्साभित्र राजधानी काठमाडौंसमेत छ । आइक्यूएयरको तथ्याङ्कले पछिल्लो साता नेपालसहित एसियाली मुलुकमा तुवाँलोको अवस्था विकराल बन्दै गएको देखाउँछ ।

बातावरणविद् शंकरप्रसाद पौडेलका अनुसार म्यानमारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दूकुश हिमालय क्षेत्रमा प्रदूषण बढी देखिन्छ । ती स्थानको स्थानीय प्रदूषणमा वायु प्रदूषण मिसिँदा अवस्था झनै विकराल बनेको उनी बताउँछन् ।

‘अहिलेको वायूप्रदूषणमा नेपालको डढेलो मात्र जिम्मेवार छैन, भारतको विभिन्न स्थानमा खेतीबालीका लागि एकैपटक धेरै आगो बाल्दा नेपालमा समेत असर परेको पौडेल बताउँछन् । भारतबाट आएको डढेलोको धुवाँसँग नेपालको प्रदूषणसमेत मिसिएकाले कठिन भएको उनको भनाई छ ।

दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका संयोजक सुन्दरप्रसाद शर्मा यो वर्षको डढेलोलाई भिन्न ढंगले हेर्नुपर्ने बताउँछन् । डढेलो मात्र नभएर एट्मोसफेयरिक ब्राउन क्लाउड (एबीसी) को कारण पनि प्रदूषण बढेको हो । उनी भन्छन्– ब्ल्याक कार्बन, सल्फर र हानिकारक डस्ट पार्टिकल लामो समय वायुमण्डलमा तैरिँदा प्रदूषण बढेको छ र यसले स्वास्थ्यमा समेत हानी पुर्‍याउँछ ।’

सरकारको तयारी कस्तो छ ?

प्रदूषण बढेको भन्दै सरकारले गत साता चार दिन देशब्यापीरुपमा शिक्षण संस्था बन्द गरायो । सकेसम्म घरबाहिर ननिस्कन र ब्यायामका गतिविधि नगर्न पनि भन्यो । तर, त्यसपश्चात प्रदूषण नियन्त्रणका विषयमा सरकारले थप योजना अघि सारेको छैन ।

डेढेलो निभाउनका लागि सरकारले अग्नि नियन्त्रक विमान खरिदको तयारी गरेको छ । बनमन्त्री प्रेम ओलेले चाँडै फायर फाइटर विमान ल्याउन तयारी भएको बताए । हरेक वर्ष मुलुकभरका जंगलमा फैलिएको डढेलो नियन्त्रणबाहिर जान थालेपछि सरकारले फायर फाइटर विमान किन्न लागेको हो ।

अहिलेको वायुप्रदूषण नियन्त्रण गर्न मुख्यतः तीन काम गर्नुपर्छ । पहिलो- डढेलो नियन्त्रण रणनीति कार्यान्वयन, दोस्रो- डढेलो लागिसकेपछि नियन्त्रण गर्न पहल । तेस्रो- सवारी साधन, धुवाँ निकाल्ने इट्टा-भट्टा र अव्यवस्थित सहरीकरण ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकमा यसबारे छलफल भई प्रक्रिया अघि बढेको वनमन्त्री आलेले जानकारी दिएका छन् । विमान कुन देशबाट किन्नेलगायत यसका खरिद प्रक्रियाबारे नियमसंगत ढंगले अघि बढ्ने उनले बताए । फायर फाइटर विमान चैत, वैशाख, जेठ र असार ४ महिना अग्नि नियन्त्रणका लागि प्रयोग गर्ने र बाँकी समय अन्य व्यवसायिक प्रयोजनमा लगाउन सकिनेबारे समेत छलफल भएको छ ।

वातावरण मन्त्रालयका प्रवक्ता प्रकाश लम्साल अझै केही दिन प्रदूषणमा सुधार नभए मात्र सरकारले नयाँ रणनीति अघि सार्ने बताउँछन् । ‘तत्काल हामीसँग प्रदूषण नियन्त्रणको योजना छैन,’ नेपाल प्रेससँग उनले भने, ‘अझै केही दिन हेर्नेछौं ।’ सार्वजनिक यातायातका साधनमा जोरविजोर लागु गर्ने वा उद्योग कलकारखाना बन्द गर्ने मन्त्रालयको योजना नरहेको उनले बताए ।

सन् २०१८ मा विश्व आर्थिक मञ्चसँगको सहकार्यमा संसारका झन्डै १८० मुलुकमा भएको अध्ययनपछि प्रकाशित एक सोधमा वातावरण प्रदूषण हुने मुलुकको सूचिमा नेपाल १७६ औं स्थानमा थियो ।

लामो समयदेखिको खडेरीका कारणले यस वर्ष चैतमै डढेलोको घटना बढेको र यसले प्रदूषण वृद्धिमा सहयोग पुगेको जनाइएको छ । फागुनदेखि जेठसम्म डढेलोका घटना बढी हुने भए पनि यो वर्ष अझै बढ्ने संकेत देखिएकाले यसको नियन्त्रण र व्यवस्थापनका लागि जिल्लासँग पनि सहकार्य गरिने शर्माले बताए ।

राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता उद्धव रिजाल वायुप्रदूषण नियन्त्रण गर्न यसअघि भएका विभिन्न सहमति कार्यान्वयन नगर्दा अहिले समस्या निम्तिएको बताउँछन् । उनका अनुसार अहिलेको वायुप्रदूषण नियन्त्रण गर्न मुख्यतः तीन काम गर्नुपर्छ । पहिलो- डढेलो नियन्त्रण रणनीति कार्यान्वयन, दोस्रो- डढेलो लागिसकेपछि नियन्त्रण गर्न पहल । तेस्रो- सवारी साधन, धुवाँ निकाल्ने इट्टा-भट्टा र अव्यवस्थित सहरीकरण ।

सन् २०१८ मा विश्व आर्थिक मञ्चसँगको सहकार्यमा संसारका झन्डै १८० मुलुकमा भएको अध्ययनपछि प्रकाशित एक सोधमा वातावरण प्रदूषण हुने मुलुकको सूचिमा नेपाल १७६ औं स्थानमा थियो । नेपालको प्रदूषण निकै उच्च रहेको उक्त शोधले उल्लेख गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर