सल्यान पुगेका प्रचण्डको आग्रह- परिवारमा सल्लाह गर्नुहोला, मेरो अभियान ठीक कि बेठीक
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सपनाको रक्षा गर्ने अभियानमा फेरि एक पटक लागेको भन्दै त्यो ठीक भए नभएको बारे घर-परिवारमा सल्लाह गर्न आग्रह गरेका छन्।
कर्णाली प्रदेशको भ्रमणको क्रममा बुधबार सल्यानको सल्लीबजार पुगेका प्रचण्डले भने, ‘बीचमा दुर्घटना हुने खतरा पैदा भएको थियो। त्यो दुर्घटनाबाट राष्ट्रको रक्षा, जनताको रक्षा र तपाईं हामीको सपनाको रक्षा गर्नको लागि म फेरि एकचोटी यो अभियानमा छु ।’
उनले यो अभियानबारे घरपरिवारमा चिन्तन मनन् र सल्लाह गर्न समेत आग्रह गरे। ‘तपाईंहरूसँग भेट भयो, छोटो समयमा उपस्थित भएर मेरो कुरा सुन्नु भयो,’ सल्लीबजारमा आयोजित सानो सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘विचार गर्नुहोला मेरो कुरा । तपाईंहरुलाई कस्तो लाग्छ ? ठीक भने कि बेठीक भने की ? चिन्तन, मनन् गर्नुहोला घर परिवारमा । साथीभाइहरूमा सल्लाह गर्नुहोला ।’
बाँकी जीवन विकास निर्माण र समृद्धिका लागि लगाउने संकल्प गर्दै आफू चुनावमा गएको र त्यसको तीन वर्षपछि दुर्घना हुन खोजेको टिप्पणी गरे। ‘यो संविधान र लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको सपना पुरा गर्न धेरै ठूला-ठूला कुरा गर्ने मौका पाएँ मैले,’ प्रचण्डको भनाइ छ, ‘नेपालको इतिहासमै कमै नेताले यस्तो मौका पाउँछन् । मैले पाएँ । अब बाँकी जीवन विकास निर्माण, समृद्धि, सामाजिक न्याय र समाजवादका निम्ति दिन्छु भनेर संकल्प गरेर चुनावमा गएँको थिएँ ।’
त्यस्तो दुर्घटना प्रधानमन्त्री केपी शर्मा ओलीले गराउन खोजको प्रचण्डको भनाइ थियो । कम्युनिष्ट आन्दोलन र एकता अहिले पनि जरुरी रहेको भन्दै प्रचण्डले फेरि पनि त्यसका लागि लाग्ने बताए। ‘कम्युनिष्ट आन्दोलन र एकता अहिले पनि जरुरी छ,’ उनको भनाइ छ, ‘हामीले गरेको एकता गल्ती गरेको होइन । त्यो सही नै हामीले गरेको हो । फेरि पनि आन्दोलनलाई एकताबद्ध गर्नैपर्छ । फेरि पनि राजनीतिक दलहरूकाबीचमा समझदारी गर्नैपर्छ ।’
नेकपाबारे अदालतले अनपेक्षित फैसला गरेको उनको भनाइ छ। ‘हामीले त सोच्या थियौं, अदालतले बढी भन्यो भने नाम अर्को फेर्नुहोस् भन्ला,’ प्रचण्डले भने, ‘किनभने त्यो भन्दा अरु ठाउँ थिएन । तर, अनौंठो भयो । अदालतले भन्नै नहुने कुरो भन्यो ।’
मैले मेरो परिवार र साथीहरुसँग छलफल गरेँ, सबैजनाले प्रचण्ड भनेको महादलाल हो, उ अहिले सत्ताको फोहोरी खेल खेलेर असफल भइसकेपछी गोहीको आँशु चुहाउँदै फेरि पश्चिमी बस्तिहरुका जनतालाई घाँस हाल्न खोज्दैछ, जहाँ भेट्यो, कालोमोसो दलेर, चारपाटे मुडेर, जुत्ताको माला लगाएर लखेट्नुपर्छ भन्ने सल्लाह भयो।