हरिद्वारमा पूर्वराजा : धार्मिक भ्रमण, राजनीतिक महत्व
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाह अहिले भारतको हरिद्वारमा छन् । आवरणमा यो उनको नितान्त धार्मिक भ्रमण हो, तर अन्तर्यमा यसले बलियो राजनीतिक सन्देश बोकेको छ ।
०६२-६३ को जनआन्दोलनमार्फत नेपालबाट राजतन्त्रको जरो उखालिएपछि तत्कालीन राजा ज्ञानेन्द्र सर्वसाधारणको हैसियतमा झरे । नेपाली राजनीतिको छेउकुनामा उनी अहिले छैनन् । मठ–मन्दिर भ्रमण गने र पार्टी–सार्टी गर्नेबाहेक उनको अरु सार्वजनिक गतिविधि पनि देखिँदैन । सरकारले पूर्वराजाको हैसियतमा दिइएका सुरक्षा तथा सुविधा पनि धमाधम खोसिरहेको छ ।
अर्कोतर्फ जनमानसमा भने पूर्वराजसंस्थाप्रति विस्तारै आकर्षण बढिरहेको छ । गणतन्त्रसँगै देशमा आएको संघीयताले ‘टोलटोलमा राजा रजौटा’ जन्माएपछि ‘बरु एउटै राजाको शासन ठिक’ भन्ने खालको मनोभावना जनतामा विकास भइरहेको छ । यससँगै पूर्वराजाको लोकप्रियताको ग्राफ उकालो लागिरहेको ठहर गर्न कुनै गहन राजनीतिक विश्लेषण आवश्यक नपर्ला । देशको युवा पुस्तामा त उनी एक ग्ल्यामरस पात्र नै बनेका छन् ।
यस्तो पृष्ठभूमिमा भारतले आफ्नो देशमा आयोजना हुने सबैभन्दा ठूलो धार्मिक कार्यक्रममा नेपालका पूर्वराजालाई विशिष्ट अतिथिको रुपमा निम्त्याएको छ । यो मात्रै धेरै ठूलो विषय हुन्थेन, तर उल्लेखनीय पक्ष के छ भने भारतमा उनलाई भुतपूर्व होइन, ‘बहालबाला’ राजाकै हैसियत दिएर व्यवहार भइरहेको छ । निमन्त्रणपत्रदेखि मेलामा टाँगिएका पर्चा–पम्लेट सम्ममा पूर्वराजालाई ‘नेपाल नरेश’ वा ‘हिन्दू सम्राट’ भनिएको छ, भूतपुर्व नलेखिकन । मानौं कि नेपालमा राजतन्त्र ढलेर गणतन्त्र आएको १५ वर्ष भइसक्दा पनि भारतीयलाई थाहै छैन ।
पूर्वराजालाई पठाइएको निमन्त्रण पत्रको ‘विषय’ छः ‘वैदिक सनातन धर्म हिन्दूका हिन्दू सम्राटलाई पवित्र भूमि हरिद्वारमा निमन्त्रणा ।’
निमन्त्रणपत्रको भाषा यस्तो छ, ‘तपाईं श्रीमान हिन्दू सम्राट एवम् हिन्दू राजा भएका कारणले मेरो प्रबल इच्छा छ कि दिनाङ्क १२.०४.२०२१ मा हुने शाही स्नानमा तपाईं सहभागी भएर गंगामा स्नान गरिकन भारतवर्षका ऋषि मनिषिबाट आशिर्वाद ग्रहण गरी आफ्नो राज्यको कुशलता हेतु आशीष प्राप्त गर्नु, किनकी राजा स्वयम् देवस्वरुप हुन्छन् र तपाईंमाथि देवाधिदेव महादेव पशुपतिनाथ भगवानको अपार कृपा प्राप्त छ ।’
यसलाई कुन अर्थमा हेर्ने ? विभिन्न मत हुन सक्छन् । पहिलो त ‘राजा कहिल्यै भुतपूर्व हुँदैन’ भन्ने एकखालको चिन्तन, जुन नेपालमै पनि कट्टर राजावादीले बोक्दै आएका छन् । राजा ज्ञानेन्द्र भूतपूर्व भए वर्तमान को त ? भन्ने उनीहरु प्रश्न गर्छन् । भारतीयले पनि यही चिन्तनलाई समातेर शाहलाई सम्मान गरेको सरल विश्लेषण गर्न सकियो ।
तर, जब कुम्भमेलाका क्रममा आयोजित कार्यक्रम, त्यसमा वक्ताको सम्वोधन, अनि भारतीय मिडियाको प्रस्तुति हेरिन्छ, यो विश्लेषण अधुरो प्रतित हुन्छ । सानातिना च्यानलको कुरा छोडौं, हिन्दूस्तान टाइम्स, डीएनआइजस्ता प्रख्यात मिडियाले समेत ज्ञानेन्द्रलाई ‘नेपालका राजा’ भनेर समाचार लेखेका छन् ।
यो कुम्भमेला कुनै एउटा संस्थाले आयोजना गरेको सानो धार्मिक अनुष्ठान होइन । आयोजकमा ज–जसको नाम उल्लेख भए पनि यो मेलाको अन्तिम जिम्मेवार भारत सरकार नै हो । उत्तराखण्डको सरकारले मेलामा सुरक्षा लगायत सबै व्यवस्थापन गरेको छ । उत्तराखण्डका मुख्यमन्त्रीले पूर्वराजाको आगमनमा स्वागत सन्देश जारी गरेका छन् । यसरी सरकार प्रत्यक्ष संलग्न भएको कार्यक्रममा छिमेकी देशका पूर्वराजालाई वर्तमानको हैसियत दिनु हल्का विषय होइन । अनि यसमा केन्द्र सरकार पुरै अनभिज्ञ होला भनेर सोच्नु पनि मुर्खता मात्र हुन्छ ।
नेपालमै परित्यक्त अवस्थामा रहेका पूर्वराजालाई भारतले दिएको यो सम्मानलाई राजनीतिक पाटोबाट विश्लेषण गर्नुअघि हरिद्वार कुम्भमेलाको बारेमा केही जानकारी राख्नु वाञ्छनीय हुन सक्छ ।
कुम्भमेला र शाही स्नान
हरिद्वारमा हुने कुम्भमेला भारतको सर्वाधिक ठूलो धार्मिक समारोह हो । प्रत्येक १२ वर्षमा हुने यो मेलालाई ‘विश्वभरमै सर्वाधिक मानिस एकसाथ भेला हुने धार्मिक कार्यक्रम’ का रुपमा प्रचारित गर्ने गरिएको छ ।
त्यसो त कुम्भमेला भारतका चार स्थानमा आयोजना हुन्छन्– हरिद्वार, प्रयाग (अल्लाहवाद) त्रिम्बक (नाशिक) र उज्जइनमा । प्रत्येक स्थानमा १२–१२ वर्षमा मेला आयोजना हुने भएकाले व्यवहारिक रुपमा प्रत्येक ३ वर्षमा कुम्भ मेला हुने गर्छ । मूल स्थान चाहिँ हरिद्वार नै हो ।
यो हिन्दूको मेला भएकाले भारतको हिन्दूवादी सरकारले महत्व दिने नै भयो । सन् २०१९ मा प्रयागराजमा आयोजित कुम्भ मेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गंगा स्नान गरेका थिए । त्यसबेला उनले कुम्भमेलाका सरसफाइकर्मीको खुट्टा धोइदिएर ठूलै गसिपको सिर्जना गरेका थिए । यसपालीको मेलामा उनी कहिले सहभागी हुन्छन् या हुँदैनन् भन्ने आधिकारिक सूचना गरिएको छैन ।
हरिद्वारमा अघिल्लो कुम्भमेला सन् २०१० मा आयोजना भएको थियो । त्यसबेला १४ जनवरीदेखि २८ अप्रिलसम्म तीनभन्दा बढी समय कुम्भमेला चलेको थियो । यसपाली कोरोनाका कारण एक महिनामा झारिएको छ । १ अप्रिलबाट सुरु भएको कुम्भमेला ३० अप्रिलसम्म चल्ने छ ।
अघिल्लो पटकको मेलामा करिब ४ करोड हिन्दूले गंगा नदीमा स्नान गरेको दावी गरिएको थियो । यसपाली भने भक्तजनलाई पीसीआर रिपोर्ट अनिवार्य गरिएकोले पहिलेजति सहभागिता छैन । पीसीआर रिपोर्ट पेस गरेर अनुमतिपत्र लिएकाले मात्रै मेलास्थलमा प्रवेश पाउँछन् ।
कुम्भमेलामा ‘शाही स्नान’ को ठूलो महत्व छ । विशेष धार्मिक मुहुर्तको दिन पारेर विशिष्ट अतिथिले गंगा स्नान गर्ने गर्दछन्, जसलाई शाही स्नान भन्ने गरिएको छ । शाही स्नानका दिन सर्वसाधारणलाई बेग्लै नियम हुन्छन् । यस दिन नुहाउन पहिल्यै अनलाइनबाट सिट बुक गर्नुपर्छ ।
यसअघि गन ११ मार्चमा शिवरात्रीका दिन पारेर पहिलो शाही स्नान राखिएको थियो । तर, त्यसमा विशिष्ट पाहुना कोही थिएन । नेपालका पूर्वराजाले भाग लिने शाही स्नान दोस्रो हो, जुन आज सोमवती आमावश्यका दिन पारेर आयोजना गरिएको छ । तेस्रो शाही स्नान अप्रिल १४ र चौंथो अप्रिल २७ मा रहेको छ । शाही स्नान बेहानदेखि बेलुकासम्म नै चल्छ ।
कुम्भमेलामा पूर्वराजा
कुम्भमेलामा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र गत विहिबार भारत प्रस्थान गरेका थिए । हिजो आइतबार उनी हरिद्वार पुगे जहाँ उनलाई निराजनी अखडाका आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरी र पतञ्जलीका आचार्य बालकृष्णले दक्षिणकाली मन्दिरमा स्वागत गरेका थिए ।
उत्तराखण्डका मुख्यमन्त्री सीएम रावतको प्रतिनिधिका रुपमा प्रदेश सरकारको सूचना तथा जनसम्पर्क विभागका महानिर्देशक राजवीर चौहानले हरिद्वार पुगेर पूर्वराजालाई भेटेका थिए ।
दक्षिणकाली मन्दिरमा आयोजित स्वागत कार्यक्रममा सम्वोधन गर्दै आचार्य बालकृष्णले राजतन्त्रको अन्त्य भएपछि नेपाल दुरावस्थामा पुगेको बताए ।
उनले भने, ‘मलाई आशा छ कि नेपालमा राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापित हुनेछन् ।’
कैलाशानन्द गिरीले पनि त्यही भाव दोहोर्याए ।
‘हामी शाहलाई फेरि नेपालको राजा बन्न आशिर्वाद दिन्छौं । उहाँलाई सघाउन हामी काठमाडौं पनि जानेछौं ।
सो कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रले नेपालीमा लेखिएको सम्वोधन पढेका थिए । कार्यक्रमपछि पत्रकारसँग पनि उनले नेपाली नै बोले । पत्रकारले हिन्दीमा सोधेका प्रश्नका उनले नेपालीमा जवाफ दिएका थिए ।
आजको शाही स्नानमा पूर्वराजाका साथमा मुख्यमन्त्री रावत पनि सहभागी भएको केही भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा पूर्वराजाले राजनीतिक भेटघाट पनि गर्ने चर्चा चलेको छ, तर आधिकारिक पुष्टि भएको छैन । हरिद्वारमा उनले केन्द्रीय रक्षामन्त्री राजनाथ सिंह, यूपीका मुख्यमन्त्री योगी आदित्यनाथ, महाराष्ट्रका गभर्नर भगतसिंह कोशियारीलगायतसँग भेट गर्न सक्ने बताइएको छ ।
के चाहन्छ भारत ?
नेपालको राजनीतिक अहिले तरल अवस्थामा छ । सरकार चल्न पनि नसकेको र ढल्न पनि नसकेको अवस्थामा आगामी विकासक्रम भारतको ‘रोल’ मा निर्भर हुने धरैले ठानिरहेका छन् ।
परम्परागतरुपमा हेर्दा नेपालमा राजनीतिक अस्थिरता र अन्योल सिर्जना हुँदा त्यसमा खेलेर आफ्नो स्वार्थपूर्ति गर्ने भारतको प्रवृत्ति हो । भारतले सँधै नेपालमा संस्थापनविरोधि शक्तिलाई प्रश्रय दिने वा मलजल गर्ने अघोषित रणनीति अख्तियार गर्दै आएको छ । राजसंस्था नेपालमा जिवित हुँदासम्म उसले माओवादी र आन्दोलनकारी शक्तिलाई बोक्यो । राजतन्त्र ढाल्न सहयोग गर्यो । अहिले गणतन्त्र स्थापित हुने क्रममा रहँदा फेरि उसले पूर्वराजासँग हिमचिम बढाउन खोजेको कतिपयले आशंका गरेका छन् । नेपालमा कहिल्यै राजनीति स्थिरता बहाल हुन नदिने रणनीतिका रुपमा भारतले नयाँ खेल खेल्न लागेको उनीहरुको तर्क छ ।
कतिपय राजावादीले चाहिँ भारतले नेपालमा हिन्दू राज्य र राजतन्त्र फर्काउन भुमिका खेलिदिने आशा गरेर पनि बसेका छन् । भारतमा हिन्दू कट्टरपन्थि दलको सरकार छ । सत्तारुढ भारतीय जनता पार्टीका केही नेताले नेपालमा हिन्दू राज्य हुनुपर्ने भनेर बोलेका पनि छन् । तर, त्यसकै आधारमा सिंगो भारतीय संस्थापन साँच्चै नेपालमा राजतन्त्र र हिन्दूराज्य फर्काउनुपर्ने पक्षमा होला भन्ने निस्कर्षमा पुग्न मिल्दैन ।
भारत आफ्नो लाभका निम्ति मात्र चल्ने देश हो, नकि छिमेकीको लाभका निम्ति । नेपाल विश्वभरका हिन्दूको आश्रयस्थलका रुपमा चिनिँदा भारतलाई फाइदा होइन, घाटा हुन सक्छ । धार्मिक आडमा राजनीति गरिरहेको भारतीय जनता पार्टी आफ्नै देशमा हिन्दूत्व बलियो बनाउन चाहन्छ, नेपालमा होइन । आफ्नै देशका धार्मिकस्थलको प्रवद्र्धन गरेर पैसा कमाउन चाहन्छ । विश्वव्यापी हिन्दूत्वको केन्द्रमा उ आफैंलाई राख्न चाहन्छ । अहिले विजेपी र मोदीको सपना यही हो ।
धर्मको राजनीतिकरण एवं व्यवसायीकरणमा तल्लिन रहेको भारतलाई नेपाल हिन्दूराष्ट्र नहुँदाखेरि नै खुशी छ । त्यसो नहुँदो हो त नेपालमा जनचाहनाविपरित यति सजिलै धर्मनिरपेक्षता आउँथेन पनि होला । भारतका संस्थापन निकट केही व्यक्ति वा संस्थाले स्वच्छ हिसाबले नेपालमा हिन्दू राज्य फर्कियोस भन्ने चाहना गरेका हुन सक्लान् । अथवा सत्तारुढ भारतीय जनता पार्टीका केही नेताको त्यस्तो व्यक्तिगत इच्छा हुन सक्ला । तर, भारतको सरकार वा सिंगो संस्थापनले नेपालमा हिन्दू राज्यको पुनस्र्थापना चाहँदैन ।
जहाँसम्म राजसंस्थाको प्रश्न छ, त्यो पनि यस्तै नै हो । नेपालमा बलियो र स्थायी राजनीतिक संरचना खडा हुँदा भारतलाई केही फाइदा छैन । नेपालको राजनीतिमा दख्खल दिन भारतलाई राजा हुँदाभन्दा नहुँदा धेरै सहज हुन्छ । नेताहरुलाई जस्तो सजिलोसँग राजालाई चलाउन–खेलाउन सक्ने परिस्थिति हुँदैन । त्यसैले उसलाई नेपालको अहिलेकै राज्यप्रणाली अनु्कुल छ । नेपालमा राजसंस्था ढालेर गणतन्त्र ल्याउन भारतले साथ दिनुको अभिप्राय पनि यही नै हो ।
नेपालमा राजतन्त्र फर्काउने हो भने नेपालीले नै फर्काउने हो, भारतले फर्काइदिने होइन । हिन्दू राज्य फर्काउने हो भने नेपालीले नै फर्काउने हो । भारतले ज्ञानेन्द्रलाई दिएको सम्मानलाई धार्मिक आवरणमा उसको राजनीतिक स्टन्टका रुपमा मात्रै बुझौं । स्वयम् पूर्वराजा ज्ञानेन्द्रले पनि यसबाट धेरै हौसिनु आवश्यक छैन । बढीमा नेपालका राजनीतिक दललाई झस्काउन वा तर्साउन खोजेको हुन सक्छ । कुम्भमेलाको अन्तराष्ट्रिय प्रचारप्रसार गर्ने अभिष्ट पनि पक्कै होला । भारतको भित्रि उद्देश्य जे भए पनि यसले नेपालमा भने ठूलो राजनीतिक महत्व राख्छ ।