सास धान्ने संघर्षमा चलचित्र क्षेत्र, हजारौंको रोजिरोटी संकटमा – Nepal Press
वर्ष समीक्षा : चलचित्र

सास धान्ने संघर्षमा चलचित्र क्षेत्र, हजारौंको रोजिरोटी संकटमा

एक वर्षमा ४ फिल्म रिलिज, नगण्य व्यापार

काठमाडौं । कोरोनाको महामारीले विश्वव्यापी रुपमा सबैभन्दा बढी प्रभाव परेको क्षेत्रमध्ये एक हो- चलचित्र उद्योग । अरु क्षेत्रहरु कोरोनालाई जित्दै पुरानो लयमा फर्किन लाग्दा पनि चलचित्र उद्योग भने अझै लमतन्न सुतिरहेको छ ।

नेपालमा पनि चलचित्र क्षेत्रका लागि सम्भवतः इतिहासकै सबैभन्दा दयनीय वर्ष रह्यो २०७७ साल । गत वर्षको चैत ११ गते देशव्यापी लकडाउन गरिएपछि ठप्प बनेको चलचित्र क्षेत्र अहिले पनि चल्मलाउन सकिरहेको छैन । असार महिनामा कोभिड-१९ को दोस्रो लहर उत्कर्षमा पुग्ने सरकारी प्रक्षेपण सार्वजनिक हुँदा यो क्षेत्रको चाँडै तंग्रिने सम्भावना पनि देखिएको छैन ।

स्वभाविकरुपमा भीडभाड हुने वा हुनुपर्ने भएकाले चलचित्र क्षेत्रलाई कोरोनाको सबैभन्दा बेसी मार परेको हो । सरकारले लामो समय हलहरु चल्न दिएन । जब व्यवसायीहरुले एकतर्फी निर्णय गर्दै हल खोल्न थाले, दर्शकहरु हलमा आइदिएनन् । त्यसो भएपछि निर्माताहरु नयाँ फिल्म रिलिज गर्न डराए । रिलिज डेट तोकिएका फिल्महरु स्थगित भए । आजको मितिसम्म चलचित्र क्षेत्रलाई कालो ग्रहणले छोपेको छ । सयौं कलाकार तथा प्राविधिकहरुको रोजगारी खोसिएको छ । यद्यपि, म्युजिक भिडियोले थोरै राहत कलाकारहरुलाई मिलेको छ ।

एक वर्षमा चार फिल्म, कमाइ नगण्य

वर्ष २०७७ मा नेपाली फिल्म, संगीत र कला क्षेत्र गहिरो संकटमा मात्र फसेन, आर्थिक र मनोवैज्ञानिकरुपमा वर्षौं पछाडि धकेलिए । १० महीना लामो लकडाउन झेलेको नेपाली फिल्म हल पुस २६ गते खुले पनि तर त्यसयता फुटफल शुन्यप्रायः रह्यो ।

लामो लकडाउनपछि माघ १ गते शिव श्रेष्ठको मल्टिस्टारर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भयो । कोभिड कहरपछि पहिलोपटक रिलिज भएको यो फिल्म व्यवसायीकरुपमा असफल भयो । नाम चलेका अनुहारलाई लिएर बनाइएको महंगो बजेटको फिल्मले बक्सअफिसमा पानी पनि भन्न सकेन । फिल्मले गतिलो समिक्षा पनि पाएन । बरु कतिपयले यसले दर्शक भड्काएको आरोप लगाए ।

यस वर्ष रिलिज भएको अर्को फिल्म थियो ‘गोर्खे’ । यो फिल्म पनि रिलिज त भयो तर, रिलिज भएकै दिन कतिपय हलमा यसका सो स्थगित भए । यो फिल्म पनि बक्सअफिस र समीक्षकको कोणबाट असफल बन्यो । ‘एउटा यस्तो प्रेम कहानी’ ले बक्सअफिसमा २ लाख र ‘गोर्खे’ ले २ लाख रुपैयाँ ग्रस कमाइ गरेका छन् । कुनै फिल्मले १ लाख रुपैयाँ कमाउँदा निर्माताको हातमा बढीमा २० हजार रुपैयाँ पर्न आउँछ ।

गत शुक्रबार सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म ‘श्री’ र मुकेश ढकालको मुख्य भूमिका रहेको ‘गुड फे्रन्ड’ रिलिज भएका छन् । तर, दर्शक हेर्न आएका छैनन् । नयाँ वर्षको छेकोमा रिलिज हुने तयारीमा रहेका ‘लप्पन छप्पन २’, ‘कृष्णलीला’ र ‘मनसँग मन’ कोभिडको दोस्रो लहरको त्रासमा ‘पोस्टपोन्ड’ भए ।

लकडाउन खुलेयताको तीन महिनामा फिल्म हलहरु केही बलिउड र हलिउड फिल्म चलाएर सास धानिरहेका छन् । बक्सअफिस तथ्यांक केलाउँदा महामारीयता नेपालमा सबैभन्दा बढी कमाउनेमा बलिउड फिल्म ‘रुही’ बन्यो । यस चलचित्रले प्रदर्शनको एक महीनामा नेपालबाट ४० लाख ग्रस कमाएको थियो । दक्षिण भारतको फिल्म ‘मास्टर’ ले ठीकै कमाइ गर्न सक्यो । ए–लिस्टर नभए पनि सानो ब्यानरका हलिउड फिल्म चाहिँ रिलिज भइरहेका छन् । नेपालस्थित विदेशी फिल्मका वितरकले पनि कोभिडको दोस्रो लहरको त्रासमा अन्तर्राष्ट्रिय फिल्म रिलिज गर्न सकिरहेका छैनन् । यसो हुनुमा लगानी उठ्ने चिन्ता नै मुख्य कारण हो ।

नयाँ प्रजातिको कोरोनाको त्रासका कारण पछिल्लो समय निर्माताले धमाधम फिल्म पोस्टपोन्ड गर्न थालेका छन् । यसले हलहरुको मुस्किल झन् बढेको छ । चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधान हलहरु बन्द हुने अवस्थामा पुगेको बताउँछन् । ‘एक त फिल्म धमाधम पोस्टपोन्ड भैरहेका छन् र विदेशी फिल्महरु पनि उपलब्ध छैनन्,’ उनले भने, ‘अर्को, दर्शक कोरोनाको डरले हलमा आउनै छोडेका छन् ।’

कोभिड पुनरुत्थानका लागि चलचित्र विकास बोर्डले ६ महिनाभित्र रिलिज हुने फिल्मलाई ५–५ लाखको दरले राहत दिने, रिलिजको खर्चमा सघाउने र प्रदर्शनमा प्राथमिकता दिने भने पनि निर्माता त्यसतर्फ आकर्षित भएनन् । फिल्म निर्माण सकेर बसेका निर्माताले नयाँ प्रदर्शन मिति घोषणा गरेका छैनन् ।

कुनै बेला बलिउडको विरोधमा उत्रने केही निर्माताले यसपटक चाहिँ बजारलाई लयमा ल्याउन ठूलो ब्यानरको भारतीय रिलिज हुनुपर्ने आवश्यकता महसुस गरे । तर, बलिडमा पनि उही अवस्था छ । सूर्यवंशी, बन्टी और बब्ली, थालाबी रिलिज स्थगित भए ।

लकडाउनले २३ वटा फिल्म बनेर पनि प्रदर्शन हुन पाएका थिएनन् । सुटिङमै रोकिएका दर्जनसहित केही नयाँ फिल्मले फिल्म गतिविधि खुलेपछि काम पुरा गरे । तर, निर्माण भैसकेर पनि प्रदर्शन हुन नपाएका नयाँ फिल्म कहिलेदेखि रिलिज हुने अहिलेसम्म टुंगो छैन । यसो हुनुमा कोभिडको अर्को त्रासले तत्काल हलसम्म आउँदैनन् कि भन्ने अन्यौल नै कारण हो । लकडाउनअघि नै चार करोड लगानी फसाएर बसिरहेको प्रेमगीत–३ जस्ता ठूला फिल्मको हैरानीको कथा कोभिडको कहरभन्दा तीतो छ ।

महामारीको कारण वर्ष २०७७ मा ३० प्रतिशत हल सँधैका लागि बन्द भएको चलचित्र संघको आँकडा छ । जसमा अर्धशहरी क्षेत्रका सिंगल थिएटर प्रमुख छन् । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सका सिभिल, लाबिम, छायाँ र भक्तपुरका आउटलेट शुन्यप्रायः स्थितीमा खुलिरहेका छन् । दर्शकको हटस्पट मानिने जयनेपाल, कुमारी, गोपिकृष्ण हलहरु महामारीयता बन्द छन् । सिंगल थिएटरलाई पनि पुननिर्माण गरेर मल्टिप्लेक्स बनाउनुपर्ने दबाब परिरहेको छ ।

रोजगारी गुम्दै, रोजिरोटी संकटमा

एउटा फिल्मले दिने अस्थायी रोजगारी कति होला ? प्रि-प्रोडक्सन चरणमा २०, छायांकनमा ५०, पोस्ट–प्रोडक्सनमा २०, रिलिज पूर्वसन्ध्यामा २०, वितरणमा ८ र अन्य काममा २५ जना । यसप्रकार प्रत्येक वर्ष सयभन्दा बढी फिल्म निर्माण हुँदा हजारौंले रोजगारी पाइरहेका थिए । फिल्मबाट पालिएकाहरुको रोजिरोटी यो वर्ष संकटमा परेको छ ।

सबैभन्दा बढी मारमा दैनिक ज्यालादारी काम गर्ने प्राविधिकहरु परेका छन् । चलचित्र प्राविधिक संघका अनुसार लकडाउनको कारण ५ प्रतिशत प्राविधिक स्थायीरुपमै पेशाबाट पलायन भएका छन् । अब पनि लकडाउन हुने हो भने ८० प्रतिशत प्राविधिक पेशाबाटै पलायन हुने संघ अध्यक्ष पुष्कर लामा बताउँछन् । एउटा प्राविधिक उत्पादन गर्न कम्तीमा ५ वर्ष लाग्ने र प्राविधिकको क्षति फिल्मलाई दीर्घकालसम्म पर्ने उनको भनाई छ ।

विकल्पमा ओटीटी प्लेटफर्म

गतवर्ष नेपाली फिल्मको इको-सिस्टममा केही परिवर्तन देखियो । लकडाउन लगत्तै नेपाली फिल्मको वितरण हाइव्रिड प्रणालीमा प्रवेश गर्‍यो । भन्नुको अर्थ, एकसाथ हल र ओटीटी प्लेटफर्ममा फिल्म रिलिज भए । खगेन्द्र लामिछाने र ऋचा शर्मा लगायतका कलाकारले ओटीटी प्लेटर्फम लन्च गरेर फिल्मलाई डिजिटल रिलिज गरे । नेटफिल्क्स, अमेजन, एचबीओ, हुलु, डीसहोम, नेटटिभी लगायतका ओटीटी र स्ट्रिमिङ प्लेटर्फममा फिल्म हेर्ने दर्शकीय स्वादको विकास भयो ।

गत सातादेखि नेपालबाटै थालनी गरिएको अन्तर्राष्ट्रिय डलर क्रेडिट कार्डको व्यवस्थाले यी डिजिटल प्लेटफर्ममा नेपाली दर्शकको उपस्थिती झनै बाक्लिने अपेक्षा गरिएको छ । कतिपय फिल्म निर्माता डिजिटल प्लेटफर्मममा दर्शकीय उपस्थितीले फिल्म हलको परम्परागत मनोरञ्जन उपभोग शैलीलाई चुनौति दिने बताउँछन् । लकडाउन कालखण्डमा अधिकांश दर्शकले विदेशी फिल्म हेरेर मजा लिए र त्यसको समीक्षा गरे । जसले गर्दा फिल्म बुझ्ने दर्शकीय चेतनाको विकास भएको अनुमान गर्न सकिन्छ ।

कोभिडको विश्वव्यापी प्रभाव

क्षतिको आयतनको हिसाबले गत वर्ष कोभिडको असर मेनस्ट्रिममा भन्दा स्वतन्त्र र कम बजेटका इन्डाइ फिल्ममा कम पर्‍यो । अस्कर, सनडान्स, कास्ट, टोरन्टो, भेनिस, ट्राइबेका, मुम्बई, बुसान बर्लिन लगायतका फेस्टिभल र अवार्ड भर्चुअल माध्यममा सीमित भए । नेपालको ठूलो फिल्म फेस्टिभल किम्फ समेत भर्चुअल बन्यो ।

स्टानफर्ड विश्वविद्यालयमा केही महिना पहिले आयोजना भएको एउटा भर्चुअल छलफलको निष्कर्ष थियो जुन नेपाली समाजका लागि पनि सान्दर्भिक छ । नेपाली मनोरञ्जन क्षेत्रको लागि झनै सान्दर्भिक । पहिलो- भविष्यको अन्यौल सबैतिर छ । दोस्रो -केही वर्ष यस्तै रहनसक्छ र तेस्रो -आउने साल हैन, ५/१० वर्ष पछाडिलाई सोच्न थालिहाले हुन्छ ।

अमेरिकी फिल्म उद्योगले सोही अवधीसम्म ५ विलियन अमेरिकी डलरभन्दा बढी क्षति व्योहोर्‍यो । हलिउडका १४ हजार प्राविधिकले रोजगारी गुमाएको अनुमान गरिएको छ ।

भारतीय अखबार हिन्दूस्तान टाइम्सका अनुसार लकडाउन कालखण्डमा बलिउडले १३ सय करोड भारु गुमायो । बलिउड अब कहिले लयमा फर्किन्छ भन्ने टुंगो छैन । बलिउड नगरी मुम्बईमा पूर्ण लकडाउनको तयारी गरिएको छ भने अहिले सो क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ ।

हलिउड रिपोर्टर म्यागजिनका अनुसार अमेरिकी फिल्म उद्योगले सोही अवधीसम्म ५ विलियन अमेरिकी डलरभन्दा बढी क्षति व्योहोर्‍यो । हलिउडका १४ हजार प्राविधिकले रोजगारी गुमाएको अनुमान गरिएको छ । अमेरिकामा भाइरसबाट मृत्यु हुने संख्या र संक्रमण दर उकालो लागिरहेको छ । हलिउड नगरी लस-एन्जल्स कोरोनाको हटस्पट बनिरहेको छ ।

वर्ष २०७७ ले स्टारडमको पुनव्र्याख्या पनि गरिदियो । ‘सेलेव्रिटी कल्चर इज बर्निङ’ शीर्षकको न्यूयोर्क टाइम्समा प्रकाशित लेखमा अमान्डा हेस लेख्छिन् -सुपरहिरो, सेलेव्रिटी र आममान्छेको ग्याप महामारीले मेटिदियो ।’

चिकित्सा मानवशाष्त्री एवं फिल्म निर्देशक डा. सचिन घिमिरे नयाँ कोरोनाको प्रजाति व्यापक फैलिएको कारण आउने वर्ष पनि समाज प्रभावित हुने बताउँछन् । ‘अझै केही समय म्युटेन्ट भाइरसको गति रोकिने छाँटकाँट छैन’ उनी भन्छन्, ‘भाइरसको संक्रमण र चरित्रलाई लिएर ब्यापक अन्यौल छ । विश्व नै अन्यौल भइरहेको बेला नेपाली फिल्मको भविष्यबारे अहिले नै भन्न नमिल्ला ।’

बरु, फिल्मकर्मीले नै अहिले नै सुटिङ र निर्माण लगायतका कामहरु सकेर बस्न उनको सुझाव छ । घिमिरेले लेखेको फिल्म ‘नीरफूल’ लकडाउनका कारण रोकिएको थियो र कहिले रिलिज हुन्छ निधो छैन । डा. घिमिरे कोभिडले थिलोथिलो परेको नेपाली फिल्म क्षेत्रलाई बचाइराख्न चलचित्र विकास बोर्डले पुनरुत्थानका कार्यक्रम ल्याउनुपर्ने बताउँछन् । सम्पूर्ण जनसंख्यामा खोपको सुनिश्चितता नहुँदासम्म दर्शक ढुक्क भएर फिल्म हलमा जाने सम्भावना कम भएको उनको ठम्याइ छ ।

वर्ष २०७७ ले स्टारडमको पुनव्र्याख्या पनि गरिदियो । ‘सेलेव्रिटी कल्चर इज बर्निङ’ शीर्षकको न्यूयोर्क टाइम्समा प्रकाशित लेखमा अमान्डा हेस लेख्छिन् -सुपरहिरो, सेलेव्रिटी र आममान्छेको ग्याप महामारीले मेटिदियो ।’

मार्भल स्टुडियोका सुपरहिरो भान्सामा पसेर पाककलाको ज्ञान बाँड्दै गर्दा कसरी चिकित्सक र नर्सले फ्रन्टलाइनमा उभिएर संसारको रक्षा गर्दैैछन् भनेर उनले आलेखमा तर्क गरेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर