ठगिएकी ८५ वर्षीया आमाको कथा- छोरीविरुद्ध उजुरी दिँदा हात काँपेको थियो ! (भिडियो)
काठमाडौं । नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल गत चैत्र २२ गते पक्राउ परिन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेर थुनामा राखिएको एसएसपी अशोक सिंहले बताएका थिए ।
उनीमाथिको अभियोग थियो– ८५ वर्षीया आमालाई ३ करोडको ठगी गरेर हेरचाह नगरेको । नागरिक ऐन २०७३ अनुसार मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो । सोमबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो ।
जिल्ला अदालत, काठमाडौंले ज्येष्ठ नागरिक ऐन, २०६३ बमोजिमको कसूरमा थुनामा पठाउन आदेश दिएको काठमाडौं प्रहरीले जनाएको छ । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरियो ।
एसएसपी सिंहका अनुसार प्रहरीले सुष्मालाई ८ महिनादेखि आमाको राम्रोसँग हेरचाह गर्न वा सम्पत्ति फिर्ता गरिदिन अनुरोध गर्यो । तर, उनले नटेरेपछि प्रहरी पक्राउ गर्न बाध्य भएको उनले बताए ।
०००
बुढ्यौली चढ्दै गएपछि बा–आमासँग एउटा भरोसा हुन्छ– छोराछोरीको साथ । तर, त्यही साथ गुमाउनुपरेपछि उनीहरूको हालत कस्तो होला ?
यही घटनाको भुक्तभोगी हुन्, शोभा रिजाल । ८५ वर्षीया शोभाले केही वर्षयता कुनै दिन चैनको श्वास फेर्न पाइनन् । उनका बिमारी शरीरले पीडा महसुस नगरेका पल हुन्थेनन् ।
बन्द कोठाभित्र उनीमाथि मानसिक यातना दिलाइन्थे । २ वर्ष त उनी डरैडरमा बाँचिन् । डर कसैको नभई आफ्नै साइँली छोरीज्वाइँको थियो । ‘आफ्नै छोरीज्वाइँबाट जीवनमा नचिताएको दुःख पाएँ,’ शोभा भक्कानिँदै भन्छिन् ।
केहीदिन अघि सरकारी वकिल कार्यालय धाएर फर्किँदै गरेकी थिइन् शोभा । थकित मुद्रामा थिइन् । चाउरिएका अनुहारमा खुसीका रेखा थिएनन् । ‘एक वर्ष भयो । कहिले प्रहरी प्रशासन धाउँछु, कहिले अदालत । शरीरभरि व्यथा छ । तर, सकी नसकी दौडिरहेको छु,’ लामो श्वास काढ्दै भन्छिन् उनी ।
शोभालाई भेट्दा उनका साथमा छोरा बुहारी थिए । ०७१ सालदेखि अंश लिएर आमा–बाबुसँग छट्टिएका थिए, छोरा । ०७६ सालमा बिरामी भएयता उनी पुनः छोरासँगै बस्न थालेकी छन् ।
मुद्दा मामिलाको लागि बुढो शरीर घिसार्दै हिँडेको धेरै भयो शोभाले । आफ्नै छोरीमाथि उजुरी दिँदा, मुद्दा हाल्दा हाँत कापेका छन्, छाति चर्केका छन् शोभाको । ‘जस्तै भए पनि आफ्नी छोरी, सानो दुःखले हुर्काएको थिइनँ । तर मप्रति ऊसकाे माया हैन, स्वार्थ लुक्या रै’छ,’ शोभा भन्छिन् ।
०००
२०७१ मा शोभा, उनका श्रीमान् भूपेन्द्र र जेठी छोरी गीताले मोरङको जिल्ला अदालतमा छोरा सुरेन्द्रलाई मुद्दा हालेका थिए । किन मुद्दा हालिएको भन्नेबारे शोभा खुल्दिनन् ।
‘सर्वोच्च अदालतको फैसलाबाट उनीहरू छुट्टिए,’ शोभाका एक आफन्त भन्छन् । त्यसपछि शोभा, भूपेन्द्र र जेठी छोरी गीता सुरेन्द्रबाट छुट्टिएर विराटनगर जनपथ टोलमा बस्न थाले ।
शोभालाई २०६५देखि पाठेघरको क्यान्सर भएको थियो । पछि शल्यक्रियामार्फत् उनको रोग निको भयो । तर, २०७२ सालमा भूपेन्द्रलाई पनि क्यान्सर देखियो । यही क्यान्सरको शिकार भई उनी गल्दै गए ।
क्यान्सर उपचारको क्रममा ०७३ साल फागुनदेखि सानेपास्थित ललितपुरमा उनै साइँली छोरी सुष्मा रेग्मीकहाँ बस्न थाले । त्यतिबेला उनीहरूले विराटनगर महानगरपालिका–६ स्थित ५ विगहा जग्गमा ५ करोडमा विक्री गरे । विराटनगर–६ स्थित आदर्श टोलमा रहेको घरसमेत बेचे ।
क्यान्सरका कारण २०७५ सालमा श्रीमान् भूपेन्द्रको निधन भयो । त्यसपछि आफूलाई छोरीले दबाब दिन सुरु गरेको शोभा बताउँछिन् ।
विराटनगर बखरीमा श्रीमान् भूपेन्द्रले किनेको जग्गा छोरी सुष्माले जबर्जस्ती उनको नाममा पास गराइन् । ‘मलाई एक्लै कोठामा थुनेर डर देखाउँथी, हप्काउँथी । मैले पास नगर्दीकन सुखै पाइनँ,’ शोभा भन्छिन्, ‘जेठी छोरी गीताको नाउँमा रहेको एक कट्टा जग्गा समेत पालनपोषण गर्छु भन्दै आफ्नो नाममा पास गराई ।’
शोभा आफूले सही नगरेको पत्रमा पनि छोरीले कीर्ते सहीगरेको बताउँछिन् ।
शोभाको माछापुच्छ्रे बैंक थापाथलीमा रहेको १ करोड ४ सय ४३ लाख र सोही बैंकको लकरमा रहेको २२ तोला सुन, १०० तोला चाँदी र एक करोड ४४ लाख । त्यसको हालसम्मको ब्याज समेत कीर्ते गरेर छोरी सुस्माले हात पारेको उनको आरोप छ ।
त्यसैगरी अरनिको सहकारी, विराटनगरमा शोभाको नाममा रहेको ६० लाख र त्यसको २ वर्षको ब्याज समेत गरेर ७२ लाख रुपैयाँसमेत छक्याएर आफ्नै नाममा राखेको उनको आरोप छ ।
श्रीमान् भूपेन्द्रको ०७५ मंसिर १ गते निधन भयो । उनको नाममा रहेको एक करोड पनि छोरी सुष्माको हातमा छ ।शोभाको डिम्याट नम्बर बमोजिमको सबै सम्पत्ति शेयर समेत उनका ज्वाइँ कमल प्रसाद रेग्मीले बेचेको उनको आरोप छ ।
छोरीसँग आग्रह गर्दासमेत नदिएपछि उनी प्रहरीकहाँ धाउन बाध्य भइन् । त्यसपछि उनले गत असार ११ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराइन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंको पत्र महानगरीय प्रहरी परिसर, टेकुमा दर्ता भयो । त्यसअघि वैशाख २५ गते मुद्दा दिँदा प्रहरीले दर्ता गर्न मानेको थिएन । तर, पटक पटक प्रहरीले ताकेता गर्दा पनि सुष्मा आइनन् ।
श्रीमान्को निधन भएसँगै छोरी सुष्माको व्यवहार परिवर्तन भएको शोभा बताउँछिन् । आफू र जेठी छोरी( अपांग)लाई दुःख दिन त्यसैदिनबाट सुरु गरेको उनी बताउँछिन् ।
‘श्रीमान् मर्नेबित्तिकै चेक ल्याएर साइन गर भनी । मैले गरिदिएँ । नागरिकता पनि खोसी । वृद्धभत्ता पनि उसैले हात पारी,’ शोभा सुनाउँछिन् ।
आफू बिरामी हुँदा पनि छोरीले दासको झैं व्यवहार गरेको शोभा सुनाउँछिन् । ‘फूलबारीमा पानी हाल्ने मालीको काम गरेँ । आफूले नसक्दा पनि लुगा धुन बाध्य भएँ,’ उनी गुनासो पोख्छिन् ।
बिरामी हुँदा पनि सुष्माले बेवास्ता गरेको उनी बताउँछिन् । ‘म बिरामी भएर सिकिस्त भएँ । उपचार गर्ने सुरसार गरिनँ, त्यसपछि माइली छोरी गंगालाई पुकारेँ । मलाई उनै छोरीले बचाइ,’ शोभा सुनाउँछिन् ।
हिजो लोकसेवा तयारीका लागि आफैंले घच्घच्याकी थिइन् शोभाले छोरीलाई । आफैंसँग राखेर तयारी गराइन् । छोरीले नाम निकालिन् । ‘भविष्यमा सुख दिन्छे भनेको थिएँ, उसैले मलाई यो हाल गराइ,’ शोभा सुँक्सुकाउँछिन् ।
अहिले सुष्मा जेलमा छिन् । आफ्नो छोरीलाइै जेल हाल्न त मन छैन शोभालाई ।
आफूलाई दुःख दिए पनि छोरीले दुःख पाएको हेर्न मन छैन । भन्छिन्, ‘यस्तो दिन देख्न मन थिएन मलाई । बाँच्ने स्थिति नभएपछि गर्नुपर्यो ।’