नयाँ वर्ष, नयाँ यात्राः २०७८ सालमा सञ्चालनमा आउँनेछन् यी ४ परियोजना
काठमाडौं । वर्ष २०७७ लाई विदाई गर्दै हामी नयाँ वर्ष २०७८ मा प्रवेश गरिसकेका छौं । अघिल्लो वर्ष कोरोना महामारीका बाबजुद विकास-निर्माण क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि हासिल भए । र, यस वर्ष केही ठूला र अर्थपूर्ण परियोजनाहरु उद्घाटित हुने तयारीमा छन् ।
बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना र रानीपोखरीको पुनर्निर्माण गत वर्ष सम्पन्न भए । यो सरकार गठन भएको ६ महिनाभित्रै नै मेलम्चीको पानी काठमाडौं ल्याउँने प्रतिवद्धता जनाए पनि अढाई वर्ष ढिला गरी गत चैत १५ गतेमात्रै आयोजना सम्पन्न भयो । एउटा लामो र जीर्ण परियोजनाले अन्ततः निकास पाएको छ ।
यस्तै, गत २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको रानीपोखरीको पुनर्निमाण गत कात्तिक ५ गते सम्पन्न भयो । उक्त आयोजनासँगै दरबार हाईस्कूल पुनर्निर्माणको काम पनि गत वर्ष पूरा भयो ।
त्योबाहेक २०७७ सालमा सरकारले दर्जनौं आयोजनाहरूको शिलान्यास गरेको छ । बजेटमा व्यवस्था भए बमोजिम ३९६ वटा स्थानीय निकायमा अस्पताल निर्माणको कार्य अगाडि बढेको छ । यसका लागि अर्थमन्त्रालयले ५७ अर्ब ९७ करोड रूपैयाँको स्रोत सुनिश्चितता गरेको दाबी गरेको छ । त्यस्तै फागुन १० गतेदेखि १६ गतेसम्म ५ औद्योगिक क्षेत्र र फागुन २० गते सुनकोशी-मरिन डाइभर्सन आयोजनाको पनि शिलान्यास भयो ।
त्यस्तै प्रधानमन्त्रीले १६५ वटा निर्वाचन क्षेत्रमा सडक निर्माणको सिलान्यास सिंहदरबारबाटै बटन थिचेर गरे । गत वर्ष नै प्रधानमन्त्रीले नागढुङ्गा नौबिसे सुरुङ मार्गको पनि शिलान्यास गरेका थिए ।
सरकार पर्याप्त तयारीबिना आयोजनाको शिलान्यास गर्दै हिँडेको भनेर विपक्षीहरूले आलोचना गरिरहेका छन् । नेपालमा शिलान्यास भइसकेका आयोजना सम्पन्न गर्न वर्षौं लाग्ने गरेको तीतो यथार्थ छ । निर्धारित समयमै निर्माण सम्पन्न हुनु भनेको नेपालमा दूर्लभ नै हो ।
२०७८ सालभित्रमा चारवटा महत्वपूर्ण आयोजनाहरू सम्पन्न हुँदैछन् । ती चारमध्ये पुनर्निर्मित धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाखमा उद्घाटन गर्ने तय भइसकेको छ । सत्ता समीकरणमा नयाँ खेल चलिरहेका बेला अन्य तीन आयोजना उनले उद्घाटन गर्न पाउँछन् या पाउँदैनन् भन्न सकिँदैन ।
माथिल्लो तामाकोशी
माथिल्लो तामाकोशी जलविद्युत आयोजना नेपालको आफ्नै लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना हो । २०५६ सालमा आयोजनाको बारेमा अध्ययन गरी २०५७ को नीति तथा कार्यक्रममार्फत आयोजना संभाव्यता अध्ययनको काम अगाडि बढाइएको थियो ।
२०५८ लामा नर्वे सरकारबाट वातावरणीय प्रभाव मूल्यांकनका लागि राष्ट्रिय योजना आयोगले १४ करोड रूपैयाँ अनुदान प्राप्त गरेको थियो । त्यसपछि २०६५ साउन १ गते वाणिज्य बैंकहरूको तर्फबाट हिमालय बैंक लिमिटेड र नेपाल बिद्युत प्राधिकरणले कन्सोर्टियम कम्पनी गरी ६ अर्ब रुपैयाँको ऋण लगानी सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएपछि आयोजना निर्माणको काम अगाडि बढेको हो ।
१० वर्षभित्र आयोजनाको सबै काम सम्पन्न गर्ने प्रारम्भिक लक्ष्य थियो । तर, विभिन्न कारणले आयोजना लम्बिँदै गएको छ । गत वर्षको चैतमा ९९ प्रतिशत काम सम्पन्न भएको बताउने प्राधिकरणले १ प्रतिशत काम सक्न थप १ वर्षको समय लागेको छ ।
करिब ३५ अर्ब स्वदेशी लगानीमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि यसको लागत बढ्दै गएको छ । ३० प्रतिशत पुँजी र ७० प्रतिशत ऋणमार्फत निर्माण भइरहेको आयोजनाको दीर्घकालीन ऋण ४० अर्बभन्दा बढी रहेको छ । यस आयोजनाले २७ अर्ब ८२ करोड रूपैयाँ ब्याज भुक्तानी गर्न बाँकी रहेको छ । यस कम्पनीको दोस्रो क्वाटरको रिपोर्टअनुसार ६ महिनामा कुल नोक्सानी ३१ करोड ५७ लाख रुपैयाँ रहेको छ भने प्रतिकित्ता सेयर नोक्सानी ०.३ प्रतिशत ऋणात्मक रहेको देखिन्छ ।
विदेशी बिनिमयमार्फत २८ लाख २१ हजार र अन्य आम्दानी शिर्षकबाट १ लाख १६ हजारबाहेक अन्य सबै सूचकहरु ऋणात्मक देखिएको यो कम्पनीको सेयर ८८२ रुपैयाँ प्रतिकित्ता कारोबार भइरहेको छ ।
२०७८ सालमा यो आयोजनाको पहिलो चरणमा ७६ मेगावाट जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने अपेक्षा विद्युत प्राधिकरण लिएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
भैरवाहस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल २०२० को अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य लिएपनि हालसम्म सम्पन्न हुन सकेको छैन् । एसियाली विकास बैंक, ओपेक लगायतका विदेशी दातृ निकाय र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त लगानीमा आयोजना निर्माण भइरहेको छ ।
कोभिडका कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक निर्माण सामाग्री र कामदारको अभावले विमानस्थल समयमा नै निर्माण सम्पन्न हुन सकेन । सन् २०१५ बाट निर्माण कार्य सुरू भएको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
कोभिडका कारण आंशिकरुपमा मात्रै काम अगाडि बढेको आयोजनाको ९१ प्रतिशत काम सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । २०१७ सालको डिसेम्वरमा काम सुरू गरिएको आयोजनाको ४ पटक म्याद थप भइसकेको छ । ७ अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा एसियाली विकास बैंकको ४० दशमलव ५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान सहयोग, त्यस्तै ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट ३० दशमलव ५ प्रतिशत ऋण सहयोग र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लागानी रहेको छ ।
वोइङ ७७०-२०० र एयर वस ३३०-३०० सम्मका जहाजहरु अवरण गर्न मिल्ने गरी यो विमानस्थल निर्माण गरिएको छ । लुम्विनीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रणनीतिक रूपमा निकै नै महत्वपूर्ण रहेको प्राधिकरण बताउँछ ।
आगामी आर्थिक वर्षभित्र यो आयोजना सम्पन्न गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको विश्वास छ ।
धरहरा
२०७२ साल वैशाख १२ गते भूकम्पले क्षतिग्रस्त भएको ९ तले धरहरा भत्किएको थियो । पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ‘म बनाउँछु मेरो धरहरा’ अभियान सञ्चालन गरे पनि निर्माणको काम अगाडि बढ्न सकेको थिएन । दोस्रोपटक प्रधानमन्त्री भएर आएपश्चात २०७५ वैशाख १२ गते धरहरा निर्माणको शिलान्यास गरेका थिए ।
हाल धरहरा निर्माणको अन्तिम चरणमा रहेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहराको उद्घाटन गर्ने मितिसमेत तय गरेका छन् । पुरानो धरहरालाई संरक्षण गरी लिफ्टसहितको छेउमा अर्को १३ तल्ले धरहरा निर्माण भइसकेको छ । यसको रङरोगन तथा सजावटको बाहेकका सम्पूर्ण काम सकिएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
पहिलेभन्दा निकै ठूलो क्षेत्रफलमा फैलाएर धरहराको पुनर्निमाण भएको हो । धरहरा टावरबाहेक वरपर अन्य संरचनाहरु रहेका छन् । ११ वैशाखमा टावरको पुनर्निमाण सकिएर उद्घाटन गर्न लागिएको हो । अन्य संरचनाको निर्माण सकिन भने अझै केही समय लाग्ने छ ।
कमलपोखरी
भूकम्पका कारण क्षतिग्रस्त बनेको कमलपोखरीको काम पनि अनेक विवादका बीच निर्माण कार्य अगाडि बढेको छ । सांस्कृतिक महत्व बोकेको यस आयोजना यो वर्षभित्र निर्माण सम्पन्न हुने काठमाडौं महानगरपालिकाले विश्वास लिएको छ ।
संरचनाको डिजाइन र कस्ता सामग्री प्रयोग गर्ने भन्ने विवादका कारण कमलपोखरी पुनर्निर्माणमा ढिलाइ भइरहेको थियो । पोखरीको बीचमा कृत्रिम पुल बनाउने तथा पोखरीमा सिमेन्टको कमलको फूल महानगरले योजना अगाडि सारेपछि संस्कृतिविद्हरूले विरोध गरेका थिए । ढकमक्क फुल्ने कमल फूलका कारण कमलपोखरी नाम रहेकाले यसको अस्तित्वमा असर गर्ने खालको काम गर्न नहुने उनीहरूको भनाइ थियो ।
यद्यपि करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमलपोखरीको स्वरूप अब फेरिने महानगरपालिकाको दाबी छ । कमलपोखरीमा नौ वटा चैत्य रहने छन् भने पोखरी छिर्ने गेटलाई नेपाली स्वरूप दिइने छ । पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपन झल्काउन झिँगटीका छाना रहने छन् ।
त्यसैगरी विभिन्न ठाउँमा चैत्य राख्ने र पाँचवटा मकरधार निर्माण गर्ने पनि महानगरपालिकाको तयारी गरेको छ ।