कर्णाली सरकारले विश्वासको मत नपाउने, एमालेका यमलाल कँडेल मुख्यमन्त्री बन्ने बाटो खुल्दै
सुर्खेत । कर्णाली प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको सर्मथन फिर्ता पछि वहुप्रतीक्षित प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो वैठक आज दिउँसो दुई बजे बस्ने भएको छ ।
कर्णाली प्रदेश कर्णाली प्रदेश सभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुपर्ने समय ६ घण्टा मात्रै बाँकी रहँदा पनि नेपाली कांग्रेस अहिलेसम्म अलमलमै रहेको छ ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूहरुले कुनै निर्णय गरि नसकेको बताएका छन् । उनले केन्द्रको निर्देशन पर्खिएको बताए ।
‘एक हिसाबले भन्दा हामी अहिले पनि अलमलमै छौं । कुनै निर्णय लिन सकेका छैनौं । पार्टी केन्द्रको आदेश कुरेर बसेका छौं ।’ उनले भने, ‘सबै अधिकार हामीलाई दिएको भए यसअघि नै निर्णय गरेर हामी कित्ताकाट गरिसक्थ्र्यौं । हामीलाई पार्टीले टिकट दिएको हो । पार्टीको निर्देशन मान्नै पर्यो नि ?’
स्रोतका अनुसार अहिले कर्णाली प्रदेशमा के गर्ने भन्ने बारेमा काँग्रेसका केन्दीय नेताले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डसँग वार्ता गरिरहेका छन् । कांग्रेससँग ६ सिट छ ।
राप्रपा तटस्थ
प्रदेश सभामा एक सिट रहेको राप्रपा तटस्थ बस्ने भएको छ । राप्रपा निकट स्रोतका अनुसार अहिलेको अवस्थामा कर्णालीमा मुख्यमन्त्री शाहीको पक्ष वा विपक्षमा मतदान नगर्न प्रदेश सभा सदस्य शोशिला शाहीलाई पार्टी केन्द्रले विहीवार बेलुका निर्देशन दिएको छ । पार्टी निर्देशनपछि सांसद शाहीले मोबाइल अफ राखेकी छन् ।
एमाले एकै ठाँउमा
प्रदेश सरकारबाट केहि दिन पहिले बाहिरिएका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले आफूहरु सबै एकताबद्ध रहेको नेपालप्रेसलाई बताए । ‘हामीलाई एमालेको माया छ । हामी दलको निर्णय मानेरै राजीनामा दिएर दलको वैठकमा सहभागी भएको तपाईंहरुलाई थाहै छ ।’
पछिल्लो समय नेपाल पक्षमा लागेका उनले भने, ‘हामी एमालेको दलको निर्णय मानेर सदनमा उपस्थित हुन्छौं । यसमा हामी कोही पनि तल-माथि हुँदैनौं ।’
अहिले नेकपा एमालेका सबै सांसदहरु बसिरहेको स्रोतले बताएको छ । ‘अहिले आजको सदनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा छलफल भइरहेको छ,’ स्रोत भन्छ, ‘एमाले एक ढिक्का छ ।’
मुख्यमन्त्रीले विश्वासको मत नपाउने
एमालेका दुई सांसद आफूतिर तान्न हदैसम्मको बल प्रयोग गरेका मुख्यमन्त्री अन्ततः एमाले एक ढिक्का भएका कारण असफल बन्ने पक्का देखिएको छ । ३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैका २० सांसद छन् ।
माओवादी केन्द्रसँग १२ जना मात्रै सांसद छन् । कांग्रेस र माओवादी मिल्दा पनि उसको संख्या १८ मात्रै पुग्नेछ । मुख्यमन्त्री शाहीले विश्वासको मत ल्याउन २० मत ल्याउनै पर्नेछ तर अब उनी २० मत ल्याउन नसक्ने अवस्थामा पुगेका छन् । एमालेका २० मध्ये नेपाल पक्षमा ९ जना सांसद रहेका छन् ।
एमाले नेतृत्वमा एकल सरकार
तीन वर्ष देखि नै एमाले नेतृत्वमा सरकार बनाउने योजना आजबाट साकार हुँदैछ । मुख्यमन्त्री शाहीले विश्वासको मत नपाउने निश्चित देखिएको समयमा एमालेको एकल सरकार तीन वर्षपछि कर्णालीमा बन्न लागेको हो ।
एमाले संसदीय दलका नेता तथा कर्णाली प्रदेशका इन्चार्ज यमलाल कँडेल मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ ।
आज दिउँसो दुई बजे संसद वैठक बस्दैछ । वैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाउने, चार दल रहेको प्रदेश सभामा दलगत धारणा राख्ने कार्यसूची तय भएको प्रदेशसभा सचिव जीवराज वुढाथोकीले बताए ।
यस्तै सरकारले सदन नचलेको समयमा ल्याएको दुई अध्यादेश मन्त्रीले सदनमा राख्नेछन् भने त्यसपछि मात्रै मुख्यमन्त्री शाहीले विश्वासको मत पाउँ भन्दै मन्तब्य दिनेछन् ।
उनको मन्तब्य पछि सांसदहरुले प्रश्न सोध्नेछन भने मुख्यमन्त्रीले त्यसको जवाफ दिने र अन्तिममा विश्वासको मतको कारवाही अगाडी बढाउने कार्यक्रम रहेको उनको भनाई छ ।