माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ- ओलीलाई अपदस्थ गर्नुको विकल्प छैन
सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे भोलि निर्णय हुने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सरकारलाई दिएको समर्थन फिर्ता नलिई बुधबारसम्मलाई स्थगित भएको छ ।
बैठकको कार्यसूचीमा सरकारलाई दिएको समर्थन फिर्ता लिने रहे पनि यसबारे निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
सरकारलाई दिएको समर्थन कागजमा मात्र फिर्ता लिन बाँकी रहेको भन्दै श्रेष्ठले यसबारेमा बुधबारको बैठकले निर्णय गर्ने जानकारी दिए । बैठकमा अध्यक्ष प्रचण्डले केपी ओलीको नेतृत्वको सरकार अपदस्थ गर्नुको विकल्प नरहेको ब्रिफिङ गरेको श्रेष्ठले बताए ।
ओलीलाई अपदस्थ गर्नका लागि परिस्थिति अनुकुल हुँदै गएको ब्रिफिङ प्रचण्डले गरेका छन् । उनले माधव नेपालमाथिको कारवाहीलाई कानुनीरूपमा रोक्न सभामुखले गर्नसक्ने पहलबारे समेत छलफल भइरहेको बताएको एक नेताले जानकारी दिए ।
चुनाव घोषणा हुने तर चुनाव नहुने अवस्थामा देशलाई जान नदिन आफूहरू सुविचारित ढंगले अघि बढेको र कांग्रेस तथा जसपासँगको समझदारी अनुसार कदम चाल्ने श्रेष्ठको भनाइ छ ।
बैठकले संसदको अधिवेशन हठात अन्त गरिएको भन्दै सरकारको आलोचना गरेको छ ।
बैठकमा विधान संशोधन कार्यदलले संशोधनको मस्यौदा पेस गरेको र त्यसमाथि पनि छलफल हुने श्रेष्ठले बताए ।