माधव नेपालको टिप्पणी- केपी ओलीले धरहरातिर हेर्दै दम्भ देखाए (भिडियो)
बालुवाटारको डिनरपछि वामदेवजीले मलाई फोन गर्नुभो, अब मिलेर लड्छौं
जनकपुरधाम । नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालले आफूलाई कसैले कारवाही गर्न नसक्ने जिकिर गरेका छन् ।
शुक्रबार बिहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपालले आफू आन्दोलनबाट नभाग्ने र संगठन छाडेर नहिँड्ने प्रष्ट्याए । पार्टीले सोधेको स्पष्टीकरणबारे नेपालले आफैंले पार्टी परित्याग गरेको, अर्को पार्टी ज्वाइन गरेको र संसदीय दलले जारी गरेको ह्वीप नमानेको खण्डमा मात्र संसदबाट हटाउन सकिने उल्लेख गरे । आफूहरुसँग बहुमत भएको तर अध्यक्ष ओलीलाई कारबाही भने नगर्ने उनको भनाइ थियो ।
‘केपी शर्मा ओलीको दम्भ भर्याङ उक्लेर धरहराभन्दा माथि बसेको छ’, नेता नेपालले भने, ‘त्यसैले हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो उहाँ । धरहरा हेरेर उहाँले आफ्नो दम्भ देखाइरहनु भएको थियो ।’ ओलीमा भएको दम्भको कुनै अर्थ नरहेको भन्दै नेपालले आफूहरु आन्दोलन, पार्टी र लोकतन्त्र नछाड्ने दोहोर्याए ।
ओलीले फागुन २८ को निर्णय फिर्ता गर्न नमानेकै कारण सहमति नभएको उनले बताए । उनले भने, ‘मैथिलीमा भनिन्छ- मन चङ्गा त कठौतीमा गंगा । तर ओलीको मन नै चङ्गा (शुद्ध) छैन ।’
‘मैले भनेको थिए बालुवा पेलेर तेल निस्किने बेला छैन’,पत्रकार सम्मेलनमा नेपालले भने, ‘बालुवाटारको बालुवामा तेल छँदै छैन । वामदेवजीले तैपनि पेल्नुस् न एकपटक भनेपछि छलफलमा गयौं । तर, बालुवा पेलेर तेल निस्किनेवाला छैन । केपी ओली सुध्रिनेवाला छैन ।’
केपी ओलीले फागुन २८ को निर्णय फिर्ता नलिने अडान राखेपछि डिनर छाडेर हिँडेको कुरा वामदेव गौतमले आफूलाई फोन गरेर बताएको नेता नेपालले बताए । उनले भने, ‘अब पार्टी नबच्ने भन्दै केपी ओलीविरुद्ध उभिनैपर्ने भयो छलफल गर्नुपर्ने भो भन्नुभो ।’
यस्ता यस्ता चेपारे कुरा नगरौ कमरेड कुनै दिन तपाईं लाइ प्रचण्डले सहारा दिन सक्दैनन् किनकि प्रचण्ड भन्दा शक्तिशाली जनार्दन र काजि भैसके , समयले कोल्टे फेरिसक्यो तपाइको अहंकारले केपी ओलीको रौ हल्लिदैन।