पाँच दिने सेतो मच्छेन्द्रनाथको जात्रा सम्पन्न
काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको यस वर्षको पाँच दिने जात्रा सम्पन्न भएको छ ।
लगनटोलबाट फर्काइएको रथबाट झिकेर मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै जात्रा शनिबार सम्पन्न भएको हो । यस वर्ष सेतो रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ ।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमिदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरुआत हुन्छ । पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो । जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पुर्याइन्छ ।
जात्राको तेस्रो दिन बिहीबार लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाइएको थियो । चौँथो दिन शुक्रबार भव्य जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काई शनिबार रथबाट मूर्ति मन्दिरमा सारिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।
शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुन: रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर चौँथो दिन अन्त्य गरिन्छ । पाँचौँ दिन आर्यावलोकितेश्वर करुणामयसमेत भनिने सेतो मच्छेन्द्रनाथलाई रथबाट निकालेर मन्दिरमा स्थापित गरिन्छ । यसपछि पाँच दिन लामो जात्रा समापन हुन्छ ।
यस वर्ष कोरोनाको नयाँ भेरियन्टसहितको जोखिम बढ्न थालेकाले स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाइएको समितिका सचिव सुजीव बज्राचार्यले जानकारी दिए ।
समितिका सचिव बज्राचार्यले पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षितरुपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरी सावधानीसाथ पाँच दिने जात्रा सम्पन्न गरिएको बताए । जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको थियो ।
जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको हो । यसले गर्दा रथयात्रा सुरक्षितरुपमा सम्पन्न गर्न सकिएको हो ।
यही वैशाख २ गते काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले स्वास्थ्य सुरक्षाका विधि अपनाएर दूरी कायम गरी गर्ने निर्णय गरेको समितिका संयोजक एवम् महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले राससलाई जानकारी दिए ।
कोरोना महामारीबाट बच्दै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको हो । यो नमूना उपत्यकाका अन्य स्थानमा हुने जात्राका लागि पनि काम लाग्ने आशा गरिएको छ ।
रासस