संघीय राजधानीमा निषेधाज्ञाको तयारी, तीनै जिल्लाका सीडीओ छलफलमा
काठमाडौं । उपत्यकामा कोरोनाभाइरस संक्रमण जटिलतातर्फ उन्मुख भएपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् ।
भाइरस रोकथामका लागि निषेधाज्ञा वा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नेबारे बैठकमा छलफल हुने काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा (लकडाउन)बारे पनि छलफल हुनेछ ।
गृहसचिवसँग समन्वय गरेर आज बेलुकासम्म एउटा टुंगोमा पुग्ने जानकारी दिँदै काठमाडौं प्रजिअ पराजुलीले उपत्यकामा भाइरस संक्रमण ब्यापक बढेको निष्कर्षमा आफूहरु पुगेको जानकारी दिए ।
‘आज नै गृहसचिवसँग छलफल गरेर बेलुकासम्म केही निर्णय हुन्छ’ पराजुलीले नेपालप्रेससँग भने ।
सार्वजनिक यातायात बन्द गर्ने, सपिङ मल, रेष्टुरेन्ट समेत बन्द गर्ने बारेमा समेत छलफल हुने उनले जानकारी दिए । सरकारले यसअघि नै ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म उपत्यकाका तीन जिल्लासहित मुलुकका ९ सहरमा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । आजै ५ बजे मन्त्रिपरिषद् बैठक समेत बस्दैछ ।
मन्त्रिपरिषद् बैठकले भाइरस रोकथामका लागि नयाँ प्रतिबन्धहरु घोषणा गर्ने अपेक्षा गरिएको छ ।