कोरोना आतंकबीच सिर्जना फुराउने मुडमा कवि-लेखक
काठमाडौं । पोहोर कोरोना कहरका कारण पहिलोपटक लकडाउन हुँदा कवि श्रवण मुकारुङले ‘क्वारेन्टिनबाट कविता’ शीर्षकमा साहित्यिक श्रृंखला सुरु गरेका थिए । उनी फेसबुकमार्फत् स्वदेशी र विदेशी कविता लिएर दैनिक लाइभ आउँथे । उक्त अभियानलाई धेरै साहित्यप्रेमीले रुचाएका थिए ।
अहिलेको निषेधाज्ञामा भने उनी केही थाती रहेका काम पूरा गर्ने सोचमा छन् । ‘आधा लेखेर अलपत्र छाडेका केही किताब, केही पढ्नपर्ने छन् । लकडाउनलाई त्यसमा सदुपयोग गर्ने योजना छ ।’
उनले सिनेमाको स्क्रिप्टमा पनि काम गरिरहेका छन् । पछिल्लो समयको व्यस्तता र दौडधूपले उक्त काम पूरा गर्न सकेका थिएनन् । लेख्दै गरेको स्क्रिप्टलाई पूर्णता दिने मुकारुङको सोच छ । ‘अलि अलि थालेको लामा कविता पनि छन् । यसलाई पनि सार्थक बनाउन काम गर्नुपर्नेछ,’ उनी भन्छन् ।
यतिबेला कोभिडको डर पनि उतिकै छ, श्रवणलाई । घर परिवारलाई कसरी जोगाउने भन्ने चिन्ता पनि भएको उनी बताउँछन् ।
कवि तथा कथाकार अविनाश श्रेष्ठ अहिलेको कोरोना भेरियन्टबाट आतंकित छन् । ‘अघिल्लो वर्ष अन्योलमा मात्र थियौं । यो कस्तो रोग हो, थाहा थिएन । थाहा नहुनाले डर थियो । अहिले हामीलाई रोगबारे धेरै कुरा थाहा छ । भएता पनि भेरियन्टक खतरनाक छ । यसले प्राण नै लिन सक्छ । यतिधेरै मान्छे नेपालमै मर्न थाले भनेपछि एक किसिमको आतंकचाहिँ मनमा पलायो,’ कथाकार श्रेष्ठ भन्छन् ।
यद्यपि, लकडाउनले फुर्सदिलो बनाएको हुँदा केही सिर्जनात्मक काम गर्ने उनको सोच छ । श्रेष्ठ लेखेर छाडेका कथाहरू फिनिसिङ गर्ने क्रममा छन् । सँगै पोहोर साल लेखेका कविताहरू पनि फिनिसिङ गर्ने योजनामा छन् उनी ।
लेखनसँगै पठनमा पनि उनले समय छुट्याएका छन् । २० वर्षयता थुपारेका पुस्तक छनोट गरेर पढिरहेका छन् उनी । ‘पठन नियमित गर्न थालेको छु । बिहानदेखि आनन्द लिएर पढ्छु । साथै नेफ्लिक्सबाट नयाँ फिल्म हेर्छु । मसँग अमेजन पनि छ । त्यसबाट छानेर केही राम्रा सिनेमा हेर्ने योजनामा छु,’ उनी भन्छन् ।
कवि विमला तुम्खेवा लकडाउनको समय नयाँ कथा संग्रहको तयारीमा छिन् । ‘कथाहरू प्रकाशन गर्ने योजनामा छु । यसपालि फुर्सद भयो । अब रि–राइट गर्ने काम गर्छु,’ उनी भन्छिन् । कवि तुम्खेवा सामाजिक सञ्जालमा भने कम सक्रिय छिन् अहिले । सञ्जालमा कोरोनाले बढी त्रास फैलाइरहेकाले डरमुक्त हुन पनि सञ्जालमा कम सक्रिय भएको उनी बताउँछिन् ।
आख्यानकार नारायण ढकाललाई भने योजनामा निषेधाज्ञाले अंकुश लगाएको महसुस भइरहेको छ । ‘निषेधाज्ञा नभएको भए अरु योजना भइहाल्थे । अहिले ती काम थाती रहे । बरु बजारमा आएका नयाँ किताब पढ्ने तरखरमा छु । कतिपय गम्भीर किताब दोहोर्याउनु पर्ने थियो, अब दोहोर्याउँछु’, ढकाल भन्छन् ।
लेखनमा भने नयाँ केही गर्न नसकिएको उनी बताउँछन् । ‘लेख्ने कुरा त मस्तिष्कमा सामग्री अटाउनुपर्यो । केही कुरा दोहोर्याएर लेख्दा राम्रो पनि हुँदैन । बरु यही बीचमा रेशम विरहीको किताबसत्ता र स्वप्नदोष पढेँ । शार्दुल भट्टराईको जनैको डर पढेँ । अहिले अलि धेरै त निबन्ध पढिरहेको छु,’ आख्यानका ढकाल भन्छन् ।
कोरोनाको त्रास भने उनलाई पनि उतिकै छ । उनका छोरा डाक्टर । अस्पतालमा आएका बिरामी नयाँ भेरियन्टले संक्रमित भएका नै आएका कुरामा उनी जानकार छन् । ‘छोरा अस्पतालबाट फर्केर आउँदा उसको हेर्दा तनाब लाग्छ’, ढकाल भन्छन् ।
लेखक अर्चना थापा केही महिनायता पारिवारिक शोकमा थिइन् । अहिले पुनः कोभिडले आतंक मच्चाइरहँदा आफू विक्षिप्त भएको सुनाउँछिन् । ‘अहिले भविष्यको योजना बनाउन नसकेको स्थिति छ । पारिवारिक शोकमा छौं हामी । अहिलेको मानसिक स्थिति पनि खल्बलिएको छ,’ उनी भन्छिन् ।
अहिले सामाजिक सञ्जालमा पनि उति सक्रिय हुन नसकेको उनी बताउँछिन् । यद्यपि, पुस्तकहरू भने पढिरहेकी छन् उनले । केही दिनयता थापा पठनमा सक्रिय छिन् । ‘लेख्न र सिर्जनात्मक काम गर्न नसकेपछि पढ्नचाहिँ तिरन्तरता दिइरहेको छु,’ उनी भन्छिन् ।