मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्रीले विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएका हुन् । बैठक चलिरहँदा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएको मन्त्रिपरिषद् स्रोतले बताएको छ ।
यहि वैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री रहेको स्रोतले नेपाल प्रेसलाई बतायो ।
सरकारको विकल्पमा बहुमतसहितको अर्को समीकरण नबनेसम्म ओलीलाई दिइएको समर्थन फिर्ता नलिने मुडमा माओवादी छ। नेपाली कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्ने उसको तयारी छ ।
माओवादी केन्द्रले तत्कालै सर्मथन फिर्ता नलिने बुझेपछि ओली विश्वासको मत लिन आफैं अघि सरेका हुन् । उता नेपाली कांग्रेस र माओवादी केन्द्रले भने अझै पनि ओलीको विपक्षमा बहुमत पुर्याउन सकेका छैनन् । जनता समाजवादी पार्टीभित्र यस विषयमा सहमति हुन नसक्दा कांग्रेस र माओवादी केन्द्र अविश्वास प्रस्ताव दर्ता गर्नबाट हच्किरहेका छन् ।
जसपाको पूर्व राजपा पक्ष ओलीको पक्ष र पूर्वसंघीय समाजवादी पक्ष विपक्षमा छ ।