कविता : रुवाइ
मसँग फूलले भन्यो-
म तिम्रै लागि फुलेको
खोलाले भन्यो –
म तिम्रै लागि बगेको
हावाले भन्यो-
म तिम्रै लागि उडेको
पहाडले भन्यो-
म तिम्रै लागि उभिएको
गहिराइले भन्यो-
म तिम्रै लागि बसेको।
मैले फूललाई भनेँ-
ए फूल !
तिमी एकपटक
मेरो चुल्ठोमा आएर बसिदेऊ
केवल मेरा लागि
मैले खोलालाई भनेँ-
ए खोला !
तिमी एकपटक पहाड चढिदेऊ
केवल मेरा लागि
मैले हावालाई भनेँ-
ए हावा !
तिमी एकफेरा रोकिइदेऊ
मेरा लागि
मैले पहाडलाई भनेँ-
ए पहाड !
तिमी एकपटक झुकिदेऊ
केवल मेरा लागि
मैले गहिराइलाई भनेँ-
गहिराइ ! तिमी उठिदेऊ
एकपटक मेरा लागि
अपसोच !
फूलले बैँश छ झर्दिन भन्यो
खोलाले खोलैसँग बग्न भन्यो
हावाले हावासँगै उड्न भन्यो
पहाडले उसैसँग उभिन भन्यो
गहिराइले उसैसँग डुब्न भन्यो
म रोएँ
फूलले झुक्याएर रोएँ
खोलासँग बग्न नसकेर रोएँ
हावासँग उड्न नसकेर रोएँ
पहाडसँग थिग्रिन नसकेर रोएँ
गहिराइसँग भासिन नसकेर रोएँ
रोएँ अनि रोइरहेँ।।
मलाई मनले भन्यो
किन रुन्छौ ? म छु नि !
मलाई पाइतलाले भन्यो
कहाँ जाने ? म पुर्याउछु नि !
मलाई हत्केलाले भन्यो
के गर्ने ? म समाउँछु नि !
वा ! मेरा लागि
मेरा लागि मजस्तै भइदिने मनसँग रोएँ
आफैँसँग हिँडिदिने पाइतलासँग रोएँ
आफ्नै गन्ध ओकल्ने निश्वाससँग रोएँ
अनि आफैँसँग रोएँ
रोएँ अनि रोइरहेँ ।।
लेखर्क, भोजपुर
मन छुने कविता मेडम !