भेन्टिलेटरको अभाव भएपछि ‘हवाई बेड लिफ्ट’मा पुर्‍याइयो एकैदिन दुई संक्रमितलाई झापा – Nepal Press

भेन्टिलेटरको अभाव भएपछि ‘हवाई बेड लिफ्ट’मा पुर्‍याइयो एकैदिन दुई संक्रमितलाई झापा

झापा । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज एकैदिन देशका विभिन्न स्थानबाट कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारार्थ पुर्‍याइएको छ ।

भेन्टिलेटर सहित आइसियूको चरम अभाव भएपछि दाङ र पर्साका संक्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा लगिएको हो । काठमाडौंको एक नीजि अस्पतालमा उपचाररत संक्रमितलाई पनि बिएण्डसी लैजाने तयारी भइरहेको बताइएको छ ।

उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष स्वास्थ्यकर्मी तथा अन्तरराष्ट्रिय गुणस्तरको मापदण्ड अनुसारका प्रयोगशाला भएकाले सो अस्पताल अब्बल दाबी गरिएको छ । अस्पतालमा कोरोनाका जटिल बिरामीलाई थप उपचार गर्न अत्याधुनिक भेन्टिलेटर सहित आइसियू श्यया अलग्गै छ ।

बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटर सहित आइसियू श्यया छ । तीमध्ये २५ भेन्टिलेटर सहित आइसियू श्यया कोभिडका बिरामीलाई छुट्याएको र बिरामीको आवश्यकता अनुसार थप गर्दै जाने बताइएको छ ।

अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत नौदिनदेखि उपचाररत् ४५ वर्षीय पेमा योगी र वीरगञ्जस्थित अली अस्पतालमा उपचाररत् २९ वर्षीय हरि पौड्यालाई ‘हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा लगिएको हो । ती बिरामीका आफन्तले ती अस्पतालमा भेन्टिलेटरको अभाव भएपछि ‘हवाई बेड लिफ्ट’ गरेका बताइएको छ ।

सोही अस्पतालमा यही वैशाख १५ र २० गते काठमाडौँस्थित ह्याम्स र मनमोहन अस्पतालमा उपचारार्थ दुई संक्रमितलाई थप उपचारार्थ ‘हवाई बेड सिफ्ट’ गरिएको थियो । ती बिरामीका आफन्तले भेन्टिलेटर सहितको आइसियू श्यया नपाएपछि बिएण्डसी लगेका थिए । अहिले ती बिरामीको स्वास्थ्यावस्था सन्तोषजनक रहेको चिकित्सकले जनाएका छन् ।

जनसम्पर्क अधिकृत गिरीले भने,‘भेन्टिलेटर सहित आइसियूका लागि देशभरबाट बिएण्डसीमा सम्पर्क गर्नेक्रम बढ्दो छ । हामी गुणस्तरीय सेवादिन प्रतिवद्ध छौँ ।’

उनका अनुसार अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग अलग भेन्टिलेटर सहित आइसियू श्ययाको ब्लग सञ्चालनमा ल्याएको छ । विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजु श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करण पोखरेल लगायतले सेवा प्रदान गरिरहेको छ । रासस

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *