कर्मचारीद्वारा बिपी प्रतिष्ठान धरानमा तालाबन्दी
धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानका कर्मचारीहरुले उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक र मेट्रोनको कार्यकक्षमा तालाबन्दी गरेका छन ।
आफ्ना मागहरु पुरा नभएकाे भन्दै कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा प्रतिष्ठनका नेतृत्वकाे कार्यकक्षमा तालाबन्दी गरेका हुन ।
कर्मचारीहरुले कोभिड–१९ को भत्ता पारदर्शी गरेर कार्य अनुपातमा सम्पूर्ण कर्मचारीलाई समानरूपमा वितरण गर्नुपर्ने, गत आर्थिक वर्षमा वृद्धि भएको २० प्रतिशत तलब यथाशीघ्र एकमुष्ठ उपलब्ध गराउनुपर्ने, कर्मचारीहरुको आन्तरिक फाइल बढुवा विज्ञापन खोल्नुपर्ने माग राखेका थिए ।
उनीहरुले ज्यालादारी कर्मचारीलाई करारमा राख्नुपर्ने तथा र कर्मचारी कल्याण समाजको निर्वाचन तत्काल गर्नुपर्ने माग राखेर कर्मचारीहरु यसअघि नै आन्दोलित भएका थिए ।
कर्मचारी कल्याण तदर्थ समितिका संयोजक राजन कोइरालाका अनुसार पदाधिकारीहरूले आश्वासन दिए पनि कर्मचारीको विषयमा चासो नदिएकाले तालाबन्दी गर्नुपरेको हो । “पदाधिकारीहरु ठेक्कापट्टाको कमिसनमा मात्र चासो राख्नु हुन्छ, हामी कर्मचारीको माग सुन्नुहुन्न । वैशाख १४ गते लिखित दिएको मागबारे सुनुवाइ भएन । पटकपटक ध्यानाकर्षण गराउँदा पनि चासो नदिएकाले तालाबन्दी गर्न बाध्य भएका हौँ”, कोइरालाले भने ।
रासस