गण्डकीमा कोरोनाको नयाँ रेकर्ड : एकैदिन १३ सय संक्रमित, ७ को मृत्यु – Nepal Press

गण्डकीमा कोरोनाको नयाँ रेकर्ड : एकैदिन १३ सय संक्रमित, ७ को मृत्यु

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला गरेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा १ हजार ३९६ जना नयाँ संक्रमित फेला परेका हुन् ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २२ हजार नाघेको छ । निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका अनुसार शुक्रबारसम्म गण्डकीमा कुल २२ हजार २ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार कास्कीमा ८५६, पर्वत १६७, गोरखा ६०, तनहुँ ६१, स्याङजा ५९, नवलपरासी पूर्व ५४, बागलुङ ५३, लमजुङ २८, म्याग्दी ५६, मुस्ताङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अहिलेसम्म प्रदेशमा १७ हजार ३ सय ८८ जना संक्रमितले कोरोना जितेका छन् भने अझै ४ हजार ६२० जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमित पनि अहिलेसम्मकै उच्च हो । जसमध्ये २ सय १२ जना संक्रमित उपचाररत छन् । उनीहरुमध्ये ९५ प्रतिशतको अवस्था गम्भीर रहेको निर्देशनालयले जनाएको छ ।

गण्डकीमा शुक्रबारमात्रै ७ जना संक्रमितको ज्यान गएको छ । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ४८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो वैशाखयतामात्रै ४५ जना संक्रमितको मृत्यु भएको छ ।

कास्की खतरामा !

बिहीबार फेला परेका संक्रमितमध्ये सबैभन्दा बढी कास्कीका छन् । निर्देशनालयका अनुसार शुक्रबार पुष्टि भएका कुल संक्रमितमध्ये ८ सय ५६ जना कास्कीकामात्रै छन् ।

योसँगै कास्कीमा सक्रिय संक्रमितको संख्या ११ हजार ८१५ पुगेको छ । कुल संक्रमितमध्ये शुक्रबारसम्म २ हजार ७२५ जना अझै सक्रिय संक्रमित छन् । कास्कीमा अहिलेसम्म १ सय ३७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । यो प्रदेशभरिकै सबैभन्दा धेरै आँकडा हो ।

परीक्षण गरिएका आधाभन्दा बढीमा संक्रमण पुष्टि

गण्डकीमा पछिल्लो समय परीक्षण गरिएका आधाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुन थालेको छ । स्वास्थ्य निदेशनालयका अनुसार पछिल्लो २४ घन्टामा २३ सय बढी स्वाब परीक्षण गरिएको थियो । जसमध्ये १३ सय बढीमा संक्रमण पुष्टि भएको छ ।

बिहीबार पनि कुल ९ सय ७४ स्वाब परीक्षण गर्दा थप ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार १२ सय बढीमा परीक्षण गर्दा ५ सय ७४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमण दर बढेपनि सोही अनुपातमा निको हुनेको संख्यामा भने कमी आएको छ । शुक्रबार १३ सय बढीमा संक्रमण पुष्टि हुँदा जम्मा ८६ जनाले कोरोना जितेका छन् । बिहीबार १ सय ४३ जना कोरोना संक्रमित निको भएका थिए । बुधबार ५ सयबढी संक्रमित फेला पर्दा ८४ जनाले मात्रै कोरोना जितेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर