सङ्क्रमित बढेपछि गोर्खा अस्पतालमा वेड अभाव
गोर्खा । गोरखा अस्पतालमा सञ्चालित आइसोलेसन कक्षमा वेड अभाव भएको छ ।
पछिल्लो समय सङ्क्रमण बृद्धिभएपछि बिरामीहरुलाई अस्पतालको बाहिर अक्सिजन दिएर राख्नुपरेको हो ।
अस्पतालका सूचना अधिकारी कृष्ण ढकालका अनुसार वेड अभावमा कोरोना सङ्क्रमितलाई अस्पताल बाहिर बेन्चमा राखेर उपचार गरिरहेका छन । गोर्खा अस्पतालको आइसोलेशनमा ६ वेड मात्र रहेका छन ।
‘दुई वेडमा महिला र चार श्ययामा पुरुष सङ्क्रमित छन्, उनीहरुसबैलाई अक्सिजन दिनुपर्छ । थप बिरामीलाई भर्ना गर्नसक्ने अवस्था छैन ।’ ती बिरामीमा ज्वरो आउने र अक्सिजनको मात्रा घटेको पाइएको छ ।
अस्पतालमा राखेर उपचार गर्न सक्ने अवस्था नभएपछि अस्पतालले अक्सिजनदिनु नपर्ने बिरामीहरुलाई भने होम आइसोलेसनमा बस्न भन्दै फिर्ता पठाउने गरेको छ । दोस्रो चरणको सङ्क्रमण शुरु भएपछि अहिलेसम्म जिल्ला अस्पतालमा २४ सङक्रमित उपचार गराउन आएकोमा छ जना बाहिरी जिल्लाबाट उपचारका लागि रिफर गरिएको छ ।
यसैगरी १२ जना उपचारपछि निको भएर घर फर्किएको उहाँले जानकारी दिए । सोमबार बिहान थप पाँच जना बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने भएपछि अस्पताल बाहिर नै राखेर सङ्क्रमितको उपचार थालिएकोे उनको भनाई छ । जिल्ला अस्पतालमा बाहेक आइसोलेसन वेड निर्माण गरिएको छैन ।
आइसोलेसन वेड नहुँदा उपचारकालागि सम्भव भएका बिरामीलाई समेत अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।
अस्पतालमा आइसोलेसनको अभाव भएपछि अस्पतालको नयाँ बन्दै गरेको भवनमा तत्कालका लागि ३० श्ययाको आइसोलशन निर्माणको प्रयास भइरहेको सूचना अधिकारी ढकालले जानकारी दिए ।
रासस