कैलालीमा एकै दिन ८ संक्रमितको मृत्यु
कैलाली । कैलालीमा आज ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा भिमदत्त नगरपालिका ५ का ३३ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका १० का ६७ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका ३ का ६८ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ ।
यस्तै धनगढी ३ कै ८७ वर्षीय महिला र धनगढी १८ कि ४२ वर्षीय महिलाको संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
त्यस्तै टीकापुर अस्पतालमा टिकापुर नगरपालिका १ का ५१ वर्षीय महिला र टिकापुर ७ कि ६३ वर्षीय महिलाको मृत्यु भएको छ । जानकी गाउँपालिका १ का ६७ वर्षीय महिलाको अस्पतालबाट घरमा पुराएपछि ज्यान गएको सूचना अधिकारी जोशीले जानकारी दिए ।
कैलालीमा थप २७६ जनामा संक्रमण पुष्टि
कैलालीमा आज २७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५६४ जनाको परीक्षण गर्दा २९७ जनामा संक्रमण पुष्टि भएको हो ।
ती मध्ये कैलालीका मात्रै २७६ जना रहेको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार धनगढीमा सबै भन्दा धेरै १७० जना संक्रमित फेला परेका छन् । कैलालीका अन्य स्थानीय तहमा १०६ जनामा संक्रमण पुष्टि भएको छ ।
कैलाली बाहेकका जिल्लामा २० जना संक्रमित थपिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । ५५ शय्याको कोरोना अस्पतालमा ५९ जना संक्रमितकको उपचार भइरहेको छ ।
५ जना भेन्टिलेटरमा छन् भने १३ जनालाई आइसियुमा राखिएको छ । त्यस्तै ३६ जनालाई अक्सिजनमा राखिएको र ५ जना मोड्रेटमा रहेको सूचना अधिकारी श्रेष्ठले बताए । पछिल्लो २४ घण्टामा कैलालीमा ५ जना निको भएका छन् भने १५ जना भर्ना भएका छन् ।