कोरोनाले मातातीर्थ मेला नलाग्ने
काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं.–६ थानकोट नजिकैको मातातीर्थमा आमाको मुख हेर्ने औँसीका दिन लाग्ने मेला नलाग्ने भएको छ ।
वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा लाग्ने मेला कोरोनाको कारण स्थगित गरिएको हो । यस वर्ष वैशाख २८ गते मङ्गलबार आमाको मुख हेर्ने औँसी परेको छ ।
कोरोनाको नयाँ भेरियन्टसहितको सङ्क्रमण बढ्दै गएपछि यसबाट बच्न मातातीर्थ मेला स्थगित गरिएको चन्द्रागिरी नगरपालिकाले जनाएको छ । प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन मातातीर्थमा हजारौँ भक्तजनको ओइरो लाग्ने गर्छ ।
गतवर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी गरिएकाले मेला स्थगित गरिएको थियो । आमा नहुने नरनारी औँसीका दिन बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्ने गर्थे । यस वर्ष स्थानीयवासीलाई पनि मातातीर्थमा नजान सूचित गरिएको नगरप्रमुख घनश्याम गिरीले राससलाई जानदिए ।
रासस