काभ्रे र सिन्धुपाल्चोकमा एकीकृत एम्बुलेन्स सेवा
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकबीच एकीकृत एम्बुलेन्स सेवा पुनःसञ्चालन भएको छ ।
कोरोनाका विरामीलाई उपचारार्थ अस्पताल जान एम्बुलेन्सको अभाव हुन थालेपछि दुई जिल्लामा रहेका एम्बुलेन्स समेटेर ‘एकीकृत एम्बुलेन्स सेवा’ पुन:सुरु गरिएको हो ।
एकीकृत सेवा सञ्चालनार्थ काभ्रेपलाञ्चोको धुलिखेल सामुदायिक अस्पतालमा प्रेषण केन्द्र (डिस्प्याच सेन्टर) स्थापना गरी दुई जिल्लाका एम्बुलेन्सबीच समन्वयात्मक रुपमा सञ्चालन गरिएको छ ।
काभ्रेपलाञ्चोकका ४२ र सिन्धुपालचोकको ३१ एम्बुलेन्समा जीपीएस् प्रणाली जडान गरी एम्बुलेन्सको बर्गीकरण गरी सञ्चालन गरिएको धुलिखेल अस्पतालका आकस्मिक विभाग प्रमुख डा.सानु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कोरोना सङ्क्रमणको फैलावटका आधारमा विशेष गरी एम्बुलेन्स अभावको वर्तमान समयमा यो सेवा निकै प्रभावकारी मानिएको छ ।
बिरामी तथा बिरामीका आफन्तले नेपाल टेलिकमको मोबाइल तथा ल्याण्डलाइन टेलिफान प्रयोकर्ताले १०२ नंवरमा फोन गरेपछि धुलिखेल अस्पतालको डिस्प्याच सेन्टरले बिरामीको नजिक रहेको एम्बुलेन्सको ब्यवस्थापन गर्ने प्रणाली ब्यवस्थित गरिएको छ ।
काभ्रेमा ‘क’ वर्गको (भेन्टिलेटर, विशेषज्ञ चिकित्सकसहित जीवनरक्षा सामग्री भएको) एक, ‘ख’ वर्गको (प्यारामेडिक्ससहित स्वासप्रस्वास बन्द भएमा र मुटुको धड्कन बन्द भएको अवस्थामा डीफीब्रिलेशन गर्नसक्ने दक्ष जनशक्तिसहित) पाँच र ‘ग’वर्गका सामान्य एम्बुलेन्स ३६ छन् ।
सिन्धुपाल्चोकमा रहेका ३१ एम्बुलेन्समध्ये तीन ‘ख’ वर्गका र बाँकी २८ ‘ग’वर्गमा सामान्य रहेका छन् । सबै एम्बुलेन्स्मा जीपीएस् प्रणाली जडान गरिएपछि दुवै जिल्लाका एम्बुलेन्स्को गतिविधि धुलिखेलस्थित डिस्प्याच सेन्टरले गर्दै आएको श्रेष्ठले जानकारी दिए ।
रासस