मकवानपुर प्रशासनले अक्सिजनको अभाव हुन नदिने
हेटौँडा । हेटौँडा प्रशासनले कोभिड–१९ का बिरामीलाई आवश्यक अक्सिजन सिलिण्डर अभाव हुन नदिन आवश्यक तयारी थालेको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले अक्सिजन व्यवस्थापन समिति गठन गरेको हो ।
हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सुपेन्द्र कार्कीको संयोजकत्वमा रहेको समितिमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत र हेटौँडास्थित तीनवटै अक्सिजन सप्लायर्सका प्रमुख सदस्य रहेका छन् ।
कोभिड–१९ को बिरामीको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन आवश्यक सरोकारवाला निकायसँग समन्वय गरी अक्सिजन व्यवस्थापन गर्ने छ ।
जिल्लाका सबै स्वास्थ्य संस्थामा आवश्यक पर्ने अक्सिजनको आँकलन एवं नियमित आपूर्तिको व्यवस्था मिलाउने र सोको जानकारी दैनिकरूपमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई गराउने छ ।
रासस