टेलिकमको लकडाउन अफर, ३९ रुपैयाँमा अनलिमिटेड डाटा
काठमाडौं । नेपाल टेलिकमले लकडाउन ‘स्टे कनेक्टेड’ अफर सार्वजनिक गरेको छ ।
निषेधाज्ञाको समयमा घरमा नै बसेका सेवाग्राहीलाई ध्यानमा राख्दै टेलिकमले उक्त अफर सार्वजनिक गरेको हो ।
टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार ३९ रुपैयाँमा अनलिमिटेड डे डाटा प्याक हुनेछ भने उक्त डाटा प्याकको स्पिड १ एमबीपीएससम्म रहेको छ ।
लकडाउन स्टे कनेक्टेड अफरअन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ । दैनिक रूपमा एक पटक बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म मात्र चलाउन सकिनेछ ।
यस्तैगरी, टेलिकमले निषेधाज्ञाको अबधिमा एमपोस अर्थात् विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटासमेत पाउँनेछन् । रु २०० देखि रु ४९९ सम्म रिचार्ज गर्दा बोनस स्वरूप ५०० एमबी डाटा उपलब्ध हुनेछ ।
उक्त डाटा २ दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ । यस्तै रु ५०० वा सो भन्दाबढी रकम रिचार्ज गर्दा एक हजार २४ एमबी डाटा उपलब्ध गराइने छ । उक्त डाटा चार दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ ।
उक्त अफर शुक्रबारदेखि एक महिनाका लागि लागु हुनेछ । उक्त अफरअन्तर्गत एक महिनाका लागि अनलिमिटेड ‘डे डाटा प्याकेज’ र ‘रिचार्जमा डाटा बोनस’ उपलब्ध हुने बताइएको छ ।