मजदुर परिवारलाई ३० लाख क्षतिपूर्ति
सङ्खुवासभा । भारतीय लगानीमा निमार्णाधीन अरुण तेस्रोको सुरुङभित्र मृत्यु भएका मृतकका परिवारलाई ३० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ ।
अरुण तेस्रोको निर्माण गरिहेको पटेल इन्जिनियरिङ र पीडितपक्षबीच क्षतिपूर्तिवापत ३० लाख दिने सहमति भएको हो । सहमतिपछि मृतकको शव आफन्तले जिम्मा लिएका छन् ।
नौ सय मेगावाटको जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको सुरुङभित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुरको शुक्लाफाँट नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको बुधबार मृत्यु भएको थियो ।
मृतक रानाको परिवारलाई निर्माण कम्पनीले काजकिरिया खर्च तत्काल पाँच लाख रुपैयाँ उपलब्ध गराएको मृतकका भाई रामस्वरुप रानाले जानकारी दिए ।
जिल्ला अस्पताल खाँदबारीबाट बिहीबार दिउँसो मृतक कृष्णको शव पोष्टमार्टम पश्चात कञ्चनपुर लगिएको छ । आयोजनास्थलमा सुरक्षाको प्रबन्ध नभएको भन्दै गृहस्थलको निर्माण कार्य बन्द गरिएको भारतीय निर्माण कम्पनी सतलजका कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए।