सामाजिक विकास मन्त्रीले पठाइन गृह जिल्लामा स्वास्थ्य सामाग्री
खोटाङ । प्रदेश नं १ सामाजिक विकास मन्त्री उषाकला राईले गृह जिल्ला खोटाङलाई स्वास्थ्य सामाग्री पठाएकी छिन ।
प्रदेश सरकारबाट जिल्ला स्वास्थ्य कार्यालय खोटाङको लागि कोभिड–१९ को संक्रमण रोक्न स्वास्थ्यकर्मीको लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।
सामाजिक विकासमन्त्री राईले स्वास्थ्य कार्यालय खोटाङलाई मास्क, स्यानिटाइजर, भिटिएम, आइसोलेशन शय्यालगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।
प्रदेश सरकारबाट पठाइएको स्वास्थ्य सामग्री बिहीबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले स्वास्थ्य कार्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरे ।
सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र, हेल्थ लजिष्टिक मेनेजमेन्ट सेन्टरबाट स्वास्थ्य कार्यालयलाई ३ लाख ७ हजार १३० बराबरको ३०० थान भिटिएम, ३०० थान गाउन सेट, एक हजार थान मास्क, ५०० एमएलको २० थान ह्याण्ड स्यानिटाइजर, २० थान इन्फ्रारेड थर्मोमिटर र पाँच/पाँच लिटरको दुई जार सोडिएम हाइपोक्लोराइट सोलुसन प्राप्त भएको छ ।
यस्तै १५ थान जेनेरल बेडसेट र दुईवटा पल्स अक्सिमिटर फिङ्गर टिप पनि आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त करिब रु चार लाख बराबरको स्वास्थ्य सामग्री बुधबार स्वास्थ्य कार्यालयलाई उपलब्ध गराइएको छ । मन्त्रालयले उपलब्ध गराएको ३ लाख ९९ हजार ८३३ मूल्य बराबरको स्वास्थ्य सामग्री समेत आइपुगेको छ ।
दश स्थानीय तह रहेको जिल्लामा निर्माण गरिएका अधिकांश आइसोलेसन सेन्टरमा स्वास्थ्य सामग्री अभाव भएको जनाइएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी) खोटाङले नगरपालिकालाई ३० शय्याको र गाउँपालिकालाई २० शय्याको अक्सिजनसहितको आइसोलेशन सेन्टर व्यवस्थापन गर्न निर्देशन दिएको थियो ।
डिसीसिएमसीको निर्देशनपछि आइसोलेशन निर्माणको कामलाई तीव्रता दिइएको जिल्लामा हालसम्म २२६ तयार भइसकेको जनाइएको छ ।
रासस