मुस्ताङ चिकित्सक, आइसियु र भेण्टिलेटरविहीन
मुुस्ताङ । अघिल्लो पटक कोरोनाको असर नदेखिएको हिमाल पारीको जिल्ला मुस्ताङमा दोस्रो भेरिएन्टको प्रभाव देखा परेसँगै स्थानीयवासीमा त्रास फैलिएको छ ।
मुस्ताङमा कोरोना महामारीको दोस्रो लहरका ८९ जना सङ्क्रमित छन् । जिल्लाको चारवटै गाउँपालिकामा देखिएका सङ्क्रमितमध्ये अधिकांशमा लक्षण रहेको र धेरैलाई अक्सिजनको आवश्यकता रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
‘यहाँ उच्च सजगता अपनाइएकै हो, अहिले लक्षणसहितका सङ्क्रमितको सङ्ख्या बढ्दो छ’’ स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले भने, ‘‘सङ्क्रमितलाई उच्च निगरानीमा होम आइसोलेसन र अस्पतालमा राखिएको छ ।’ मुस्ताङ अस्पतालमा छ शैयाको आइसोलेसन बनाइएको छ ।
ती छ वटै शैयामा अक्सिजनको व्यवस्था रहेको भएपनि भेण्टिलेटर र सघन उपचार कक्ष भने छैन । भेण्टिलेटर र सघन उपचार कक्ष नरहेका कारण चुनौतीबीच कोरोनाको सामना गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले बताउनुभयो ।
‘हामीकहाँ अक्सिजन प्लान्ट छैन्, बाहिरबाट भरेर ल्याउँदा यही अवस्थामा सङ्क्रमण फैलिँदा कठिन छ’ अर्याल भन्छन, ‘यो अवस्थाको मूल्याकङ्न गरेर हामीले निशेधाज्ञा गरेका छौँ ।’ जिल्लाभर एक जना समेत चिकित्सक नरहेका कारणले पनि बिरामीको उपचारमा समस्या भैरहेको स्वास्थ्य कार्यालयका प्रमुख भण्डारी बताउछन ।
सामान्य समयमा समेत बाहिरी जिल्लाबाट मुस्ताङका विभिन्न स्थानमा भ्रमणको लागि पुग्ने सर्वसाधारणको लागि अक्सिजनको कमी हुने मुस्ताङले अहिले कोरोनासँग जुध्न अक्सिजनको समस्या टड्कारो बनेको छ ।
रासस