अक्सिजन उद्योगको विद्युत महसुल छुट गरिने
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले देशभरका सबै अक्सिजन उद्योगलाई डिमाण्ड शुल्क छुट निर्णय गरेको छ ।
वैशाखदेखि लागू हुने गरी आगामी असोज मसान्तसम्म खपत गरिएको विद्युतको डिमाण्ड शुल्क मिनाहा गर्ने मन्त्री स्तरीय निर्णय गरिएको हो ।
मन्त्री टोपबहादुर रायमाझीले आज पदभार ग्रहण गर्दै अक्सिजन उद्योगको महसुल छुट सम्बन्धी मन्त्री स्तरीय निर्णय गरेकाे जनाइएको छ ।
उक्त निर्णय मन्त्रीपरिषद्ले पास गरेपछि कार्यान्वयनमा आउछ । कोभिड –१९ को बढ्दो संक्रमणले अस्पताल भर्ना हुने बिरामी दिनानुदिन बढेपछि अक्सिजनको आपूर्ति सहज बनाउन सो निर्णय गरिएको मन्त्री रायमाझीले बताए ।
उनले उद्योग २४ सै घण्टा सञ्चालन गर्नुपर्ने भएकाले मन्त्रालयको निर्णयले उद्योग सञ्चालक र उद्योगमा कार्यरत मजदूरलाई राहत मिल्ने बताए । कोभिडका कारण मानिसको मृत्युदरसमेत बढिरहेकाले पशुपति आर्यघाटमा रहेको विद्युत शवदाहगृहको विद्युत् डिमाण्ड शुल्क समेत छुट गरिने उनले जानकारी दिए ।
छुट शुल्कवापतको शोधभर्ना नेपाल विद्युत् प्राधिकरणलाई नेपाल सरकारले उपलब्ध गराउन अर्थ मन्त्रालयको सहमतिका लागि पत्राचारसमेत गरिएको छ ।