स्वाव संकलनको तीन दिनसम्म पाइदैन कर्णालीमा रिर्पोट – Nepal Press

स्वाव संकलनको तीन दिनसम्म पाइदैन कर्णालीमा रिर्पोट

सुर्खेत । गत शुक्रबार वीरेन्द्रनगर नगरपालिकाले विहानै ६ बजे देखि स्वाव संकलन थाल्यो । कोभिड-१९ सँग मिल्दा जुल्दा लक्षण भएका पाँच सय जनाले उक्त दिन स्वाव दिए । विहान ६ बजेदेखि थालिएको स्वाव संकलन करिब नौ बजेसम्म जारी रह्यो । सकेसम्म सामाजिक दुरी कायम गर्दै स्वाव दिएका नागरिकहरु समयमै नतिजा थाहा नपाउँदा अन्य रोगको औषधी सेवन गर्न थालेका छन् ।

वीरेन्द्रनगर ८ का अमर नेपाली (नाम परिवर्तन) उनले सोही दिन विहानै स्वाव दिए । उनलाई ज्वरो आउने, खोकी लाग्ने, शरिर पुरै दुख्ने लक्षण देखिँदा उनी स्थानीय एक मेडिकलमा गए । त्यहाँ उनलाई टाईफाईडको औषधी प्रयोग गर्न भनेर भनियो तर उनले कोभिड जाँच गरेर मात्रै औषधी सेवन गर्ने भनेका कारण नगरपालिकाको स्वाव संकलन केन्द्रमा लाईन लागेर स्वाव दिए । उनले स्वाव दिएको तीन दिन वित्दा पनि नतिजा के छ भन्ने थाहा पाएका छैनन् ।

सोही दिन कमला (नाम परिवर्तन)ले पनि स्वाव दिईन । उनी देउती अस्पतालमा उपचार गराइ रहेकी थिईन । कोभिडसँग मिल्दो जुल्दो लक्षण भएका कारण स्वाव जाँच गर्न अस्पतालले उनलाई भन्यो । उनका श्रीमानसहित उनी शुक्रबार विहानै स्वाव दिएर आएपनि हालसम्म रिर्पोट नपाएको गुनासो गर्छिन् ।

‘नगरपालिकाले सबैको स्वाव लिने तर जाँच गर्दा मनोमानी रुपमा गर्ने गरेको पाइएको छ । पालो अनुसार जाँच हुनुपर्नेमा पावर र पहुँचका आधारमा पिसिआर जाँच हुने गरेको पाइयो ।’ कमला भन्छिन्, ‘अस्पतालमा बेड खोज्न पावर, स्वावको रिर्पोट थाहा पाउन पावर चाहिने भएपछि आम नागरिकले कसरी उपचार पाउने ?’ उनले कोभिड भए नभएको समयमै जानकारी पाउनु पर्ने भएपनि कोरोनाले निमोनिया भइसकेपछि मात्रै रिर्पोट पाउने अवसथा आउनु दुखद भएको बताईन् ।

‘कोरोना भए नभएको वा औषधी उपचार गर्ने बारेमा आवश्यक चेकजाँचको रिर्पोट चाँडो आइदिएको हुन्थ्यो ।’ अमर भन्छन्, ‘यहाँ त मनलाग्दी गर्ने प्रचलन बढेको छ । कोरोना संक्रमण भएको थाहा पाएको भए परिवारका अन्य व्यक्तिबाट टाढा रहन पनि सकिन्थ्यो तर रिर्पोट नै आउन ढिलाई हुँदा यसले परिवारलाई नै जोखिममा पार्ने गरेको छ । राज्यले यसबारेमा ध्यान नदिँदा कोरोना भयावह अवस्थामा फैलिएको छ ।’

वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ इत्रामकी कल्पना थापाले सोही दिन दिएको स्वावको रिर्पोट थाहा पाउन पत्रकार देखि डाक्टरसम्मको सहयोग लिएपनि थाहा पाउन सकिनन् । ‘म आफै एक कर्मचारी पनि हो । मलाई कोरोनको लक्षण मिल्दो जुल्दो छ । साना छोरा छोरी छन् । स्वाव दिएको तीन दिन वित्दा पनि रिर्पोट नपाउँदा तनाव व्यहोर्नुपरेको छ ।’ कल्पना भन्छिन्, ‘कम्तिमा स्वाव लिइसकेपछि पोजेटिभ नेगेटिभ के भएको छ भन्ने जानकारी दिनुपर्नेमा जानकारी नै दिइएको छैन । मेरो भन्दा पछि स्वाव लिएकाहरुको रिर्पोट आइसकेपनि मेरो रिर्पोट आएको छैन । यसले कोभिड फैलिने खतरा बढेको छ ।’ समयमै कोभिडको जाँच नहँुदा नीजि अस्पतालमा जानुपर्ने र त्यहाँ औषधी सेवन गर्नपर्ने बाध्यता आइलागेको उनले गुनासो गरिन् ।

‘सरकार कोभिडको जाँच गरेर मात्रै अन्य औषधी सेवन गर्नु भनेर भन्छ तर यहाँ तीन दिनसम्म रिर्पोट पाइदैन । के औषधी नखाएर पीडा सहेर नै हामीले बस्नु ?’ उनी भन्छिन्, ‘राज्य नै यसरी लापरवाही रुपमा अघि बढेपछि कसको के लाग्छ र ? हामी नागरिक त राज्यका लागि केहि पनि होइनौं कि जस्तो लाग्न थालिसक्यो ।’

यता, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले सामान्यतया एक दिनमै रिर्पोट दिनुपर्ने व्यवस्था रहेको बताए । ‘एक दिनमा नै कोभिडको रिर्पोट दिनुपर्ने हो । हामीसँग पर्याप्त मेसिन नभएका कारण दिन सकिएको छैन ।’ उन भन्छन्, ‘एक दिनमा मुस्किलले साढे चार सयको रिर्पोट निकाल्न सकिन्छ, दैनिक एक हजार बढि स्वाव संकलन भइरहेका छन् । यसले समस्या आएको हो ।’ उनले अटोमेटिक किट नभएको र म्यानुअल स्वाव जाँच गर्नुपर्ने भएका कारण समस्या भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर