न्यू योर्क टाइम्सबाट ओपेडको अवकाश, यस्तो छ कारण
अंग्रेजीमा ‘ओपी–इडी’ भनेर लेखिने शब्दलाई छोटकरीमा ‘ओपेड’ भनेर चिनिन्छ । ओपेड शिर्षक अन्तर्गत विभिन्न खालका आलेख प्रकाशित हुन्छन् ।
ओपेडको खास अर्थ ‘अपोजिट दि एडिटोरियल पेज’ अर्थात ‘सम्पादकीय पृष्ठको विपरीत’ हो । कतिपयले ‘एडिटोरियल एन्ड ओपिनियन’ अर्थात ‘सम्पादकीय र विचार’ पनि भन्ने गर्छन । नेपालमा आधारभूत पत्रकारिता पढाउने कतिपय अध्यापकले समेत ओपेडलाई ‘ओपिनियन एन्ड एडिटोरियल’ नै भनेर पढाउँछन । डेढ दशकदेखि पत्रकारिताको अनुसन्धान र लेखनमा सक्रिय भानुभक्त आचार्यको बुझाईमा पुस्तकमा वास्तविकता लेखिएपनि नेपालमा अधिकांशले ओपेडको अवास्तविक अर्थ नै प्रयोग गर्ने गरेका छन् । ‘मैले सत्र वर्षदेखि किताबमा अपोजिट दि एडिटोरियल पेज लेख्ने गरेकै छु । तर अचेल मान्छेले नबुझेर एडिटोरियल एन्ड ओपिनियन पनि चलाइदिए । यो नेपालीको मात्रै दोष होइन ।’अचार्यले हालै ट्वीट गरेका छन् ।
ओपेडबारे जेजस्तो बुझाई विद्यमान भएपनि अब विश्वप्रसिद्ध अमेरिकी अखबार दी न्यू योर्क टाइम्सले भने यसको प्रयोग बन्द गरेको छ । गत अप्रिल २६ मा दी न्यू योर्क टाइम्सले ओपेड शब्दलाई ‘अवकाश’ दिने सार्वजनिक रुपमा बताएको थियो । विचारपृष्ठका सम्पादक क्याथलिन किंङ्गबरीले एक आलेख लेखेरै यसबारे प्रष्टोक्ति दिएकी छिन् । ‘ह्वाई दी न्यू योर्क टाइम्स इज रिटायरिङ दी टर्म ओपेड’ अर्थात दी ‘न्यू योर्क टाइम्सले किन ओपेड पदावलीलाइ अवकाश दिँदैछ ?’ भनेर लेखिएको आलेखमा उनले प्रस्टोक्ति दिएकी छिन् ।
क्याथलिन किंङ्गबरीको बुझाईमा ओपेड अखबार पत्रकारिताको परम्परागत शब्द हो । अब डिजिटल युग सुुरु भइसकेकोले यसबारे नयाँ शब्द प्रयोग गरिनुपर्ने उनको तर्क छ । उनी लेख्छिन, ‘डिजिटल दुनियाँमा जहाँ टाइम्सका लाखौँ पाठकहरुले अखबारको पत्रकारिता ग्रहण गर्छन् । त्यहाँ कुनै भौगोलिक एडिटोरियल हुन्न जसको विपरीत पृष्ठमा ओपेड होस । यो त एक पुरानो जमानाको अखबारे साजसज्जाको एक अवशेष मात्रै हो ।’
जसले ओपेड चर्चित बनायो उसैले छोड्यो
ओपेड शब्दको सुरुवा दी न्यु योर्क टाइम्सले गरेको भने होइन । ओपेड ‘क्वाइन’ गर्ने सम्पादक थिए हर्बट बायर्ड स्वोप । सन १९२० को दशकमा न्यु योर्क वल्र्ड पत्रिकामा सम्पादक हुँदा उनले ओेपेड शब्द प्रचलनमा ल्याएका थिए । स्वोपले ओपेड बारेको भनेको एक भनाइ ज्यादै चर्चित छ । उनले भनेका थिए, ‘नथिङ इज मोर इन्ट्रेस्टिङ देन ओपिनियन, ह्वेन ओपिनियन इज इनट्रेस्टिङ’ अर्थात ‘विचार भन्दा चाखलाग्दो चीज अरु केही हुँदैन जब विचार चाखलाग्दो हुन्छ ।’ ओपेडलाई अवकाश दिन लेखिएको आलेखमा समेत दि न्यु यार्क टाइम्सले भनाई उधृत गरेको छ ।
हर्बट बायर्ड स्वोपले ‘क्वाइन’ गरेको नाम भएपनि ओपेडको व्यापकतामा उनको उल्लेख्य योगदान भने थिएन । उनले आफ्ना अखबारमा संस्थागत सदस्यहरुलाई मात्रै ओपेड लेख्न लगाएको अमेरिकाको डिजिटल म्यागाजिन स्ेलटमा ज्याक स्याफरले सन २०१० सेप्टेम्बर २७ मा लेखेका छन ।
आफ्नै अखबारका सदस्यहरुको मात्रै ओपेड छापिने क्रमलाई सन् १९७० सेप्टेम्बर २१ बाट दी न्यु योर्क टाइम्सले आम मान्छेहरुको पहुँचमा पुर्याएर छाप्न थाल्यो । त्यससंगै अखबारको क्रेजमात्रै हैन ओपेडकै महत्व बढेको दी न्योर्क टाइम्सले लेल्लेख गरेको छ । अमेरिकामा मात्रै नभई विश्वभरको मिडियामा ओपेडको व्यापक प्रयोग भयो । दी न्यू योर्क टाइम्सको अवकाश बारेकै आलेखमा लेखिएको छ, ‘ओपेडको दौडाई महान रह्यो । यो बाँकी उद्योगको लागि मानक नै बन्यो र पाठक तथा लेखकहरुका बीचमा अत्यधिक लोकप्रिय बन्यो ।’
यद्यपि, १९२० को दशकमा ‘क्वाइन’ भएको ओपेडलाई आधा शताब्दीपछि प्रयोगमा ल्याएको दी न्यु योर्क टाइम्सले आधा शताब्दीसम्म प्रयोग गरेर बिट मारेको छ ।
‘ओपेड’ आउट ‘गेस्ट एस्से’ इन
ओपेड शब्दलाई अवकाश दिएको दी न्यु योर्क टाइम्सले नयाँ शब्द ‘क्वाइन’ गरेको छ । त्यो हो- गेस्ट एस्से । यसको सामान्य नेपाली भावार्थ ‘अतिथि निबन्ध’ हुन्छ । अहिले अनलाइन संस्करणमा ओपेड भेटिदैन । गेस्ट एस्से भनेर प्रस्ट भनिएको हुन्छ ।
ओपेडलाइ अवकास दिनु अगाडि दी न्यू योर्क टाइम्सले यसको प्रयोग आधा शताब्दीसम्म गर्यो । दी न्यु योर्क टाइम्सको प्रथम ओपेडको प्रकाशन सन १९७० को सेप्टेम्बर २१ मा भएको थियो ।
ओेपेडको पहिलो प्रकाशनमा दी न्यू योर्क टाइम्ले लेखेको थियो, ‘ओपेड पेजको उद्देश्य न त टाइम्सको सम्पादकीयलाइ अझ पृष्ठपोषण गर्नु हो, न त यसको विपरीत धारणा नै दिनु हो ।’ टाइम्सले त्यतिबेलै ओपेडको उद्देश्य आपूmसंग संस्थागत रुपमा नजोडिएका लेखक र चिन्तकहरुको विचारहरु प्रकाशन गर्नु र लोकतन्त्रको स्वास्थ्य सुदृढ पार्नु रहेको जनाएको थियो ।
विश्वभर पत्रकारिताका माध्यमबाट पाठकहरुमा समेत प्रभाव पार्न सफल ‘ओपेड’ को ‘गेस्ट एस्से’ मा भएका रुपान्तरण नयाँ विश्वले कसरी ग्रहण गर्ला ? चासोकै विषय रहनेछ ।