प्रहरी अस्पतालमा कोभिड बिरामीलाई निःशुल्क उपचार र खाना : एआईजी डा. आशा सिंह (भिडियो)
‘सिभिल र प्रहरीलाई भनेर कोटा छुट्याएको छैन, टेण्टमा समेत राखेर उपचार गर्दैछौं’
कोभिड-१९ को दोस्रो लहरले नेपालमा दिनानुदिन संक्रमित संख्या उच्च भइरहेका छन् । निजी तथा सरकारी अस्पतालले बिरामीको चाप थामिननसक्नुको छ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पनि संक्रमितहरूको चाप अत्याधिक छ । अन्त भन्दा फरक के छ भने , सर्वसाधारण र प्रहरी लगायत सबैलाई प्राथमिकतामा राखेर कोभिडको उपचार गरिरहेको प्रहरी अस्पतालले बिरलै मात्र बिरामी फर्काउनुपर्ने अवस्था आएको अस्पतालको निर्देशक एआईजी डा. आशा सिंह बताउँछिन् ।
उनका अनुसार प्रहरी अस्पतालले कोभिडको बिरामीलाई निःशुल्क उपचार गरिरहेको छ र औषधि र खाना पनि निःशुल्क गरेको छ । उनै डा. सिंहसँग कोभिड-१९ को महामारीमा अस्पतालले गरिरहेको उपचार र सेवासुविधाबारे नेपाल प्रेसले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
कोभिड-१९को दोस्रो लहर आएसँगै धेरैजसो सरकारी र निजी अस्पतालको व्यवस्थापन कमजोर भएको गुनासा आइरहेका छन् । नेपाल प्रहरी अस्पतालको हकमा व्यवस्थापकीय पाटो कस्तो छ ?
हामीले कोरोनाका बिरामी राख्ने व्यवस्था गरेका छौं । कोभिड इमर्जेन्सी व्यवस्थापन गरेका छौं । बेड पनि निकै बढाएका छौं । बेड नपुगेर टेन्टमा बिरामी राखेर र बन्दै गरेको नयाँ भवनमा बेड थपेर सेवा सुरु गरेका छौं ।
अक्सिजन दिने व्यवस्था गरेका छौं । त्यसबाहेक २ सय ६४ बेड कोभिडका लागि डेडिकेट गरेका छौं । २० वटा आईसीयू छ, ५० वटा एचडीओ छ । बाँकी १ सय ३५ बेड छ । त्यसबाहेक नर्मल अक्सिजन पनि नभएको बेड । त्यसमा पनि अक्सिजन राखेर उपचार दिने व्यवस्था मिलाएका छौं ।
हाम्रो फिभर क्लिनिक चलिरहेको छ । पीसीआर नियमित गरिरहेका छौं । ननकोभिड इमर्जेन्सी चालू छ । नन कोभिड आईसीयूमा बिरामी हुनुहुन्छ । इमर्जेन्सी अप्रेसन गरिरहेका छौं । नर्मल ओपीडी सेवााचाहिँ बन्द छ । जनशक्तिको व्यवस्थापनमा सम्पूर्ण चिकित्सकलाई टिममा विभाजन गरेका छौं । डीआईजीहरूलाई पनि ड्युटीमा खटाएका छौं । अहोरात्र खटिरहनुभएको छ सबै जना ।
सर्वसाधारणलाई नेपाल प्रहरी अस्पताल भन्नेबित्तिकै ‘यहाँ प्रहरीको मात्र उपचार हुन्छ’ भन्ने बुझाइ छ । प्रहरीलाई मात्र हो कि सर्वसाधराणलाई प्राथमिकताका साथ उपचार गरिरहनुभएको छ ?
आजको दिनमा हामीले सर्वसाधारणलाई उपचार सेवा दिइरहेका छौं । २०७४ सालसम्म प्रहरी अस्पताल प्ररहीको लागि मात्र थियो । बहालवाला प्रहरी, भूपू प्रहरी र उनीहरूको परिवार ।
०७४ पछि भने सर्वसाधारणहरूको पनि इच्छा देख्यौं । सबै सुविधा हेर्दा प्रहरीको सेवा नभई सिभिललाई पनि दिन सक्छौं भनेर धारणा बनायौं । त्यही अन्तर्गत पहिलो कोभिडको लहर आउँदा प्रहरी अत्यधिक मात्रामा संक्रमित भएका थिए । प्रहरी धेरै संक्रमित भएर उनीहरूलाई उपचार गर्नेमा प्रहरी अस्पताल पर्दछ । त्यतिखेर पनि सिभिललाई उपचार गरेका थियौं, संख्या कम थियो ।
कोभिडका बिरामी आउँदा बेड छैन भन्नुपर्दा निकै मन दुख्छ । सकेसम्म गरेको छ । सामाजिक सञ्जालमा जथाभावी लेखिदिएको हुन्छ । चुनौती सबैको लागि छ । त्यही भएर यो महामारी हो । विकसिकत मुलुकले त बेड नपुगेर सडकमा टेन्ट हालेर उपचार गरे । हामी यो बेला एकजुट हौं । अवश्य हामी महामारीबाट बाहिर निस्कन्छौं ।
दोस्रो लहर आउँदा त सिभिल र प्रहरी दुवैलाई उतिकै प्राथमिकतामा राखेर गरिरहेका छौं । व्यवस्थापकीय कठिनाइ अथवा अक्सिजन अभावका कारण समस्या भइरहेको छ । आशा गरौं, अक्सिजनको सप्लाइ नर्मल हुन्छ । अहिले पनि आईसीयूमा २० जना हुनुहुन्छ, त्यसमा १७ जना त सिभिल नै हुनुहुन्छ । इमर्जेन्सीमा पूरैै बेड थपेर अक्सिजन दिइरहेका छौं । कोटाचाहिँ अहिलेसम्म प्रहरी र सिभिललाई भनेर छुट्याएका छैनौं ।
अहिले नेपालका धेरै अस्पतालमा अक्सिजन र आईसीयू नै नपाएर बिरामीहरूले मृत्युवरण गर्नुपरेको अवस्था छ । यहाँ त्यस्तो अवस्था भोग्नुपरेको छ कि छैन बिरामीले ?
अहिले अत्यन्तै चुनौतिपूर्ण अवस्था छ । जस्तो बेड छ भनेर सोध्नुहुन्छ । हामी बेड त छ, अक्सिजन छैन भन्छौं । त्यही पनि भर्ना हुनुहुन्छ । उहाँको हालत अलिकति बिग्रन्छ । अक्सिजन बेडमा जानुहुन्छ । झन् बिग्रन्छ अनि आईसीयूमा लानुपर्ने हुन्छ । ती सबै भरिएका छन् । वार्डकै बिरामी त्यहाँ छन् । २२ दिनसम्म पनि आइसियु खाली हुने अवस्था हुन्न । लामो प्रक्रिया जान्छ । त्यो अवस्थामा आईसीयूमा एकदमै गम्भीर बिरामी आए भने हामीले उपचार त दिन्छौं । तर आईसीयू अपुग छ । त्यसकारण ज्यान त गुमेको छ ।
अहिलेसम्म कतिजना जतिने गुमाउनुपरेको छ त्यसरी ?
दुई जना । उहाँहरूलाई हामीले तपाईंहरू आईसीयू खोज्नुस् भनेका थियौं । उहाँहरूलाई इमर्जेन्सीमा तीन दिन राख्यौं । खाली भएपछि आईसीयू सिफ्ट त गर्यौं । तर ढिलो भइसकेको थियो ।
प्रहरी अस्पतालले भेन्टिलेटर र आईसीयूमा उपचार गरेर कति बिरामीलाई निको पारेको छ ?
अस्पतालमा भर्ना भएका कोभिडका बिरामीमध्ये ७५ प्रतिशतलाई निको पारेका छौं । गुमेका बिरामीहरू पनि उहाँहरू ढिलो आउनुभयो । घरमै अक्सिजा लिएर बस्नुभयो । अस्पताल आउँदा निमोनिया फैलिसकेको अवस्थामा आउनुभयो । त्यसरी आउँदा आईसीयूमै राखेर उपचार गर्दा पनि रिजल्ट त्यति राम्रो नआउने रहेछ ।
बेड भए पनि अक्सिजन अभावको कुरा भन्नु नै भयो । यसर्थ उपचार गर्न ल्याइएका बिरामी फर्काउनुपर्ने अवस्था आयो आएन ?
आईसीयूका लागि आउनुहुन्छ कतिपय । हामीले छैन भनेका छौं । प्रायः समन्वय गरेर आउनुभएको छ । आइपुग्नु भएकोलाई चाहिँ सकेसम्म फर्काएका छैनौं फर्काउन भन्दा पनि आईसीयू फूल छ बेड छैन भन्छौं । अक्सिजनको एकदमै अभाव भएको बेलामा हामीलाई नर्मल अक्सिजन सिलिण्डर आईसीयू चलाउन चाहियो । नपुगेको अवस्थामा त अक्सिजन छैन भन्ने बाध्य अवस्थामा छौं हामी ।
बेड नभएपछि बाहिर टेन्टमा राखेर उपचार गर्यौं भनेर भन्नुभएको थियो । त्यसलाई कसरी व्यवस्थापन गर्नुभयो ?
टेन्टमा हामीले ६ वटा बेड राखेका छौं । बन्दै गरेको नयाँ भवनलाई पनि बेड नपाउन्जेलसम्म ४० वटा बेड राखेका छौं ।
यहाँ उपचार गर्न ल्याइएका बिरामीले तिर्नुपर्ने शुल्कबारे पनि बताइदिनुस् न ?
सबै निःशुल्क छ । नेपाल सरकारले हामीलाई सहयोग गरिरहेको छ । खाना पनि दिन्छौं, औषधि पनि दिन्छौं । कहिलेकाहीँ रेमडिसिभिर थिएन । बाहिरबाट ल्याउनु भन्थ्यौं । त्यो पनि अहिले हामीसँग छ । यहीँबाट उपलब्ध गराउँछौं । नन कोभिडको हकमाचाहिँ सर्वसाधारणलाई साधारण शुल्क तिर्नुपर्छ ।
अहिले अस्पतालको नेतृत्व गरिरहनुभएको छ । कोभिडको पहिलो चरणदेखि नै तपाईंले कस्ता चुनौति सामना गर्नुपर्यो ?
२०७६ सालको चैत्रमा नै कोभिडको पहिलो वेभको लागि लकडाउन भयो । त्यतिबेला सरकारले कोभिड अस्पताल बलम्बुमा सुरु गर्यो । त्यहाँ हाम्रो डाक्टर नर्सले गएर पनि ड्युटी गर्नुभयो ।
त्यस अवधिमा कालीमाटी वृत्तमा एकैपटक प्रहरीको १७ जना संक्रमित भए । पोजेटिभ भएपछि आइसोलेट गरेर राखियो । एक हप्तासम्म पीसीआर रिपोर्ट आइपुगेन । त्यसपछि लाग्यो, प्रहरी त जहाँ पनि ड्युटी गरिरहेको छ ।
एउटा प्रहरी संक्रमित हुने बित्तिकै अर्को प्रहरी संक्रमित हुन्छ । हप्तादिनसम्म रिपोर्ट कुर्नुपर्यो भने प्रहरीको लागि निकै चुनौती हुन्छ । त्यसकारण मैले हेर्डक्वार्टरसँग समन्वय गरेर पीसीआर ल्याबको स्थापना गराएँ । त्यतिबेला पनि हाम्रो अस्पताल कोभिड अस्पताल थिएन । मेरो मान्यताचाहिँ कोभिडका लागि हामी रेडी हुनुपर्छ भन्ने थियो ।
हाम्रो एउटा भवन ब्लक बी लाई पूरै खाली गराएर कोभिडका लागि डेडिकेट बनायौं । अचानक साउनको २० गतेतिर हुनुहुपर्छ, १ जना प्रहरी संक्रमित भए । ५ दिनको अवधिमा ५ सय हाराहारीमा प्रहरी संक्रमित थिए । सरकारले पनि एकाएक कोभिड अस्पताल घोषणा गरिदियो । त्यो भन्दा पहिला त हामीलाई लागेकै थिएन, प्रिपिरेसन गर्नुपर्छ । तर १ सय १४ बेड जतिचाहिँ कोभिडका लागि छुट्याएका थियौं । त्यसले नपुगेर दुई नम्बर गनमा पूरै लगभग ४ सय ५० बेड स्थापना गर्यौं । सबै प्रहरीलाई भर्ना गर्यौं । त्यो बेलामा पनि आईसीयू चलायौं । यो दोस्रो लहरजस्तो थिएन । डेथ पनि कम थियो । लगभग २२ जनाको मृत्यु भएको थियो । त्यो मेरो लागि ठूलो चुनौति थियो । पार पाइयो ।
दोस्रो लहर वैशाखको दोस्रो हप्तामा बढ्न थाल्यो । यो धेरैमा चुनौती छ । यसको प्रकृति एकदमै फरक छ । युवा उमेरका बिरामी कोभिड भए पनि सुरुमा खासै लक्षण देखिएको हुन्न । ५ दिन जति आइसोलेसनमा बस्नुहुन्छ । आउँदा पूरै निमोनिया भइसकेको हुन्छ । यो समयमा २० वटा आईसीयू, ५० वटा एचडीओ, अक्सिजन प्लान्ट बनायौं । यो सबै काम गर्न चुनौती थियो । सबैको सहयोगले गरिएको छ ।
प्रहरीहरू अघिल्लो चरणको तुलनामा अहिले कति संक्रमित छन् ?
अहिले कम छ निकै । केही दिनसम्म ७० जना पुग्नुभएको थियो । निको हुनेको क्रम बढी छ । अहिलेसम्म एक जना बहालवाला प्रहरीको निधन भएको छ । बहालवाला दुई जना आईसीयूमा हुनुहुन्छ ।
अन्त्यमा,अस्पताल प्रमुखको हैसियतमा अहिलेको यो महामारीमा के भन्न चाहानुहुन्छ ?
कोभिडका बिरामी आउँदा बेड छैन भन्नुपर्दा निकै मन दुख्छ । थाहा छ त्यो बिरामीले आईसीयू पाएन भने मर्छ । एउटा स्वास्थ्यकर्मीको लागि त्यो जतिको दुःखदायी क्षण अरु हुन्न । आफू पनि संक्रमित हुने खतरा छ । आम नागरिकले उनीहरूलाई सम्मान गर्नुपर्याे । कतै कतै तोडफोड भएको सुनियो । सामाजिक सञ्जालमा जथाभावी लेखिदिएको हुन्छ । चुनौती सबैको लागि छ । त्यही भएर यो महामारी हो । विकसिकत मुलुकले त बेड नपुगेर सडकमा टेन्ट हालेर उपचार गरे । हामी यो बेला एकजुट हौं । अवश्य हामी महामारीबाट बाहिर निस्कन्छौं ।
डा.साहव तपाईं र तपाईंको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुले राम्रो काम गरिरहनु भएको छ, अझै राम्रो गर्ने प्रयास गर्नुहोस् पूर्ण सफलताको शुभकामना गर्दछु।
अस्पतालको सेवा सुबिधाहरुको बारेमा AIGP साहबले होइन अस्पतालमा भर्ना भएका बिरामी र बिरामीका आफन्तले भने पछि मात्र सहि मुल्यांकन हुनेछ जस्तो लाग्छ मलाई