लकडाउन र कम्युनिज्मको नेक्सस : चीनले कसरी नियन्त्रण गर्यो भाइरस ?
एमालेले दशौं हजार कार्यकर्तालाई चिनियाँ शैलीमा परिचालन गर्न सक्दैन ?
डिसेम्बर २०१९ !
जतिबेला विश्व नयाँ दशकलाई स्वागत गर्ने तयारी गर्दै थियो, एउटा हेडलाइनले विश्व मिडियाको ध्यान चीनतर्फ तान्यो । मान्छेको खुशीलाई स्तब्ध पार्ने त्यो हेडलाइन चीनको वुहानबाट आएको थियो जहाँ कोरोनाभाइरसको नयाँ संक्रमण फेला पर्यो ।
यो हेडलाइनले नयाँ दशकलाई स्वागत गर्ने मान्छेहरुको खुशी मात्र छिनेन, एकैपटक सामाजिक, आर्थिक, राजनीतिक र दार्शनिक आयाममा उथलपुथल ल्याइदियो ।
संक्रमणको डेढवर्ष पुग्नै लाग्दा पनि भाइरसको स्रोत अहिलेसम्म पुष्टि हुन सकेको मात्र छैन, बरु विश्व नै विभाजित छ । केही महिनाअघि वुहानको प्रयोगशालामा पुगेको विश्व स्वास्थ्य संगठनको चिकित्सकीय टोलीले समेत भाइरसको उत्पतिबारे निष्कर्ष ल्याउन सकेन । बरु, भाइरसले अहिलेसम्म पाँचभन्दा बढी प्रजातिमा आफूलाई अनुकूलन तुल्याउँदै विश्वलाई नै हायलकायल पार्दैछ ।
अहिले पनि आधा विश्व लकडाउनमै छ । विभिन्न मुलुकहरुले अझै केही वर्षसम्मको लागि अन्तर्राष्ट्रिय सीमामा प्रतिबन्ध मात्र लगाएका छैनन्, भाइरसको श्रृंखलाबद्ध लहरले स्वास्थ्य प्रणालीलाई चुनौति दिइरहेको छ । विश्व अर्थतन्त्र ओरालो लाग्दै गर्दा यसले धनी र गरिबबीच खाडल सिर्जना गरेको छ । माग र आपूर्तिबीच तालमेल नहुँदा खोप उत्पादन र आपूर्ति प्रभावित बनेको मात्र छैन, समयमै खोप उपलब्ध नहुँदा गरिब मुलुकहरुले थप समस्या भोग्नुपर्ने देखिएको छ ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार बेलुका ५ बजेसम्म विश्वभर कूल संक्रमित संख्या १६ करोड ३१ लाख पुगेको छ । ३३ लाख ८१ हजार जनाले ज्यान गुमाएका छन् । १ अर्ब ४७ करोडले खोप लगाइसकेका छन् । अमेरिकामा मात्र सर्वाधिक ३ करोड २९ लाख संक्रमित भएका छन् र ५ लाख ८५ हजारको ज्यान गएको छ ।
दोस्रो प्रभावित मुलुक भारतमा २ लाख ४९ हजार संक्रमित भएका छन् भने २ लाख ७४ हजारको मृत्यु भएको छ । अमेरिकापछि ब्राजिल, फ्रान्स, टर्की, रसिया, बेलायत, इटाली, जर्मनी, स्पेन, अर्जेन्टिना प्रभावित छन् । भाइरसको उत्पति थलो चीनमा अहिलेसम्म कूल संक्रमित संख्या ९० हजार ८७२ पुगेको छ भने ४ हजार ४३६ जनाले ज्यान गुमाएका छन् । सोमबार मुलुकभर २५ जना नयाँ संक्रमित थपिएका छन् भने मृत्यु संख्या शून्य छ ।
कूल संक्रमित संख्याको हिसाबमा चीन अहिले विश्वभर ९७ औं स्थानमा छ । नेपाल भने कूल संक्रमण र मृत्युदरको हिसाबमा ४३ औं स्थानमा छ । जनवरी १३, २०२० मा नेपालमा कोरोनाको पहिलो संक्रमण चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा पुष्टि भएको थियो ।
नेपालमा पहिलो संक्रमण देखिँदा चीनको वुहान पूर्ण लकडाउनमा थियो । तर, परिस्थिती ठीक उल्टो भएको छ । वुहानको जनजीवन सामान्य अवस्थामा फर्किसक्यो र नेपाल अहिले लकडाउनकै अवस्थामा छ । चीनले भाइरसको संक्रमणलाई नियन्त्रणमा लिएको अवस्था छ तर, नेपालले भने मृत्यु तथ्यांकमा चीनलाई उछिनेको छ ।
वुहानको अवस्था कस्तो छ ?
भाइरस संक्रमण तीव्र भएपछि झन्डै दुई महिनासम्म वुहानका दशौं लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए । सरकारले हुबेइ प्रान्तको राजधानीमा लगाइएका सबै प्रतिबन्ध खुला गरेको मात्र छैन । मानिसहरु मास्क र सामाजिक दूरी बिनै जीवन बाँचिरहेका छन् । दशौं हजार सहभागी कन्सर्ट र मेलापर्व भएको चिनियाँ संचारमाध्यमले जनाएका छन् ।
अघिल्लो जनवरी २३ तारिखमा वुहानमा लकडाउन भएपछि त्यहाँका १ करोड १० लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए । भाइरसको संक्रमण रोक्न चीनको केन्द्रिय सरकारले चिनियाँ उद्योगको प्रमुखको रुपमा रहेको हुबेइमा लकडाउन गरेको थियो ।
हुबेइ प्रान्तको वुहान सहर कोरोनाभाइरस संक्रमणको प्रतिबन्ध हटाइएको अन्तिम सहर पनि थियो । डिसेम्बरमै वुहानमा भाइरस फैलिएपनि जनवरी १९ मा चीनमा नयाँवर्षका कार्यक्रम आयोजना गरिए भने स्थानीय बासिन्दाले पनि मास्कबिनै ठूला कार्यक्रममा भाग लिन थाले ।
वुहानपछि चीनको लकडाउनलाई चीनको झन्डै ८० करोड जनसंख्यासम्म विस्तार गरियो । अर्थात, चीनको झण्डै आधाभन्दा बढी जनसंख्या लकडाउनमा बसे । वुहानमा बिरामीको उपचार, भाइरसको प्रकृति र संक्रमणको नियन्त्रण र रोकथामका लागि व्यापक प्रयास पनि भए ।
एक हजारभन्दा बढी शैय्या रहेका दुईवटा ठूला अस्पताल रातारात बनाइए । सयौं सैनिक सेवाका चिकित्सक र नर्सहरुलाई वुहानमा खटाइयो । उनीहरुको साथमा धेरै टन अत्यावश्यकीय चिकित्सा सामाग्री पनि पठाइयो ।
आफूहरुले भाइरसलाई पराजित गरेको र चीनको जीवन सामान्य अवस्थामा फर्किएको सन्देश दिन चिनियाँ राष्ट्रपति सी जिङपिङले वुहानको भ्रमण पनि गरे । भाइरस नियन्त्रणका लागि भैरहेका प्रयास एवं बिरामीको उपचारमा केन्द्र सरकार पूर्णरुपमा जनताको साथमा रहेको विश्वास राष्ट्रपतिले दिलाए । राष्ट्रपतिले भ्रमण गरेको एकदिनपछि चीनले प्रतिबन्धहरु बिस्तारै खुकुलो बनाउन थाल्यो । कतिपय कलकारखाना र आवश्यक ठानिएका अन्य व्यवसाय खुला गर्न थालियो ।
अहिले के हुँदैछ ?
भाइरसको कारण वुहानमा २ हजार ५४७ जनाले ज्यान गुमाए । चीनमा भाइरसबाट मृत्यु भएकामध्ये ८० प्रतिशत वुहानकै थिए । अहिले चिनियाँ अधिकारीहरुले कुनै मानिसमा संक्रमण देखिए तत्काल कन्ट्याक्ट ट्रेसिङ गर्ने, उपचारमा पठाउने र शंकास्पदलाई क्वारेन्टिनमा पठाउने कार्य गरिरहेका छन् । वुहान भ्रमण गर्ने प्रत्येक व्यक्तिलाई आउनुपर्ने कारण र कस्तो तरिकबाट आइपुगेको हो भन्ने जानकारी गराउन भनिएको छ ।
होटलमा बसेको व्यक्तिमा ज्वरो भए नभएको पत्ता लगाउन दिनमा दुईपटक ज्वरो जाँच गर्ने व्यवस्था मिलाइएको छ । स्मार्टफोन उपलब्ध भएमा उनीहरुलाई सरकारी एपमा जोड्न भनिएको छ ताकि यात्रासहित निज व्यक्तिको स्वास्थ्य अवस्था यात्राबारे नियमित अनुगमन गर्न सकियोस् । वुहान भ्रमण गर्ने व्यक्तिहरुलाई क्वारेन्टिनमा राख्न अधिकारीहरुले पाँचवटा होटल तय गरेका छन् ।
होटलका कर्मचारीले होटलमा बस्नेहरु र उनीहरुको सामानलाई निसंक्रमण तुल्याउने गरेका छन् । बसमा यात्रा गर्ने प्रत्येक यात्रुले रातो भेस्ट लगाएका स्वयंसेवीलाई स्मार्टफोनको स्वास्थ्य कोड देखाउनुपर्ने नियम पनि छ ।
भाइरस नियन्त्रणका लागि लागु गरिएको वुहान मोडेललाई चीनले अन्य राज्यमा पनि कार्यान्वयनमा ल्यायो । संक्रमित पहिचान, परीक्षण र क्वारेन्टिनमा कडाइ गर्दै चीनले लकडाउनलाई भाइरस नियन्त्रणको तयारीमा रुपमा प्रयोग ग¥यो । लकडाउनमा पनि मानिसहरु घरबाहिर निस्किएनन् र उनीहरुले सरकारलाई सहयोग गरे । अहिले आएर चीनले आफ्नो देशमा विकास भएको सिनोफार्म खोप लगाउनेलाई मात्र देश प्रवेशको अनुमति दिने निर्णय गरेको छ ।
यी समग्र परिदृश्य हेर्दा चीनको भाइरस संक्रमण नियन्त्रणमा आएको मात्र छैन, केही महिनयता मृत्युदर शून्यमा झरेको छ । तर, बाँकी विश्वमा संक्रमण दरमा उछाल आएको छ ।
भाइरसविरुद्ध कम्युनिस्ट संगठन
वुहान लकडाउनमा रहँदाखेरी नै चिनियाँ राष्ट्रपति जिङपिङले भाइरसविरुद्ध चीनले नयाँ युद्ध लडिरहेको र यसलाई समाप्त गरेरै छाड्ने अठोट व्यक्त गरेका थिए । तर, उनले भाइरसलाई हराउन विश्वकै सबैभन्दा ठूलो चिनियाँ कम्युनिष्ट पार्टी र यसको सांगठनिक संरचनालाई गाउँ-गाउँ र जनताको गहिराइसम्म लगेर भाइरसविरुद्ध एकजुट तुल्याए । फेब्रुअरी ५, २०२१ मा द न्यूयोर्क टाइम्समा प्रकाशित एक आलेखमा चिनियाँ शासकले सन् १९८९ को तियानवेन स्क्वायरको घटनापछि भाइरसको कारण अर्को सबैभन्दा ठूलो संकट भोगेको र त्यसलाई पराजित गरेको उल्लेख छ ।
उक्त आलेखका अनुसार चीनले कम्युनिष्ट पार्टीको सांगठनिक संरचना र चेन अफ कमान्डअनुसार दशौं हजार स्वयंसेवकलाई कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टिन व्यवस्थापनमा खटाएको थियो । एकैपटक ठूलो संख्यामा खोप लगाउने कानुन निर्माण गर्दै चीनले खोप निर्माता कम्पनीलाई फास्ट-ट्रयाक अनुमति पनि दिएको थियो । चिनियाँ खोपको ट्रायल नहुँदै २४ वटा देशले अर्डर गरिसकेका थिए ।
विज्ञहरु महामारी नियन्त्रणमा चीनले प्राप्त गरेको सफलतामा उसको चिकित्सकीय, कूटनीतिक र आर्थिक पक्षलाई कारण मान्छन् । तत्काल नागरिक र स्रोतलाई परिचालन गर्नसक्ने शासकीय क्षमतालाई चीनले महामारीमा लागु गरेको विज्ञहरुको भनाई छ । यो क्षमता अमेरिकी र लोकतान्त्रिक भनिएका मुलुकमा अभाव रहेको उनीहरुको टिप्पणी छ । चिनियाँ शासकले सरकार र सरकारी निकायलाई मात्र होइन, नागरिक, निजी संस्था र उनीहरुको रुचिलाई पनि नियन्त्रण गर्न सक्ने खुबीलाई महामारीमा प्रदर्शन गर्न सकेको जनाइएको छ ।
‘चीनले सबै स्रोत र शक्तिलार्ई महमारीविरुद्ध केन्द्रित गर्न सक्यो’ फोडर्म विश्वविद्यालयमा चिनियाँ कानूनका प्राध्यापक कार्ल मिन्जेनर भन्छन्, ‘लाखौं मान्छेलाई कडाइ गर्नु दुःखद अवश्य पनि हो तर, उक्त कार्य गर्न चीनले कर्मचारी प्रशासनलाई पनि अधिकतम प्रयास गर्न सक्यो ।’
चिनियाँ मोडेलबारे अरु के भन्छन् ?
भाइरस नियन्त्रणमा चीनले आत्मसात गरेको मोडेललाई अँगाल्न न्यूयोर्क टाइम्सले तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुझाएको पनि थियो । तर, सन्की स्वभावका ट्रम्पले भाइरस र यसको विज्ञानलाई अस्वीकार गर्दै चिनियाँ भाइरसको उपमा दिए अनि अमेरिका र विश्व स्वास्थ्य संगठनको सम्बन्ध विच्छेद गरिदए ।
न्यूयोर्कमा काउन्सिल एन्ड फरेन रिलेसन्समा ग्लोबल हेल्थका सिनियर फेलो यानजोङलाई लाग्छ, चीनले भाइरस नियन्त्रणको लागि उठाएका कदमलाई अन्य देशले आत्मसात गर्न कठिन हुने देखिन्छ ।
‘चाहे लोकतान्त्रिक मुलुक होस् या गैरलोकतान्त्रिक, यो कुनैपनि कोणबाट राम्रो कुरा हैन । यो निराशजनक हो । केही देशका नेता चीनको तरिकालाई आफ्नो देशमा लागु गर्न चासो देखाइरहेका छन् तर, उनीहरुसँग यस्तो गर्ने सामथ्र्य छैन’ यानजोङले भनेका छन् ।
भाइरस नियन्त्रणका लागि चीनले लागु गरेको लकडाउन मोडेललाई इटालीले पछ्यायो । मिलानस्थित भिटा सैल्युट सान रफायलेमा भाइरोलोजी विज्ञानका प्राध्यापक रोबर्ट बुरियानी भन्छन्- ‘भाइरसविरुद्ध लड्नका लागि तानाशाह हुनु जरुरी छैन ।’ विश्व स्वास्थ्य संगठनका सल्लाहकार डा. ब्रुस अलवार्ड पनि भाइरसलाई नियन्त्रणमा लिने विषयमा लोकतान्त्रिक हुनु र तानशाही हुनुले कुनै सम्बन्ध नराख्ने बताउँछन् ।
दक्षिण एसियाको शक्तिराष्ट्र भारत भाइरसले थलिएको बेला चीनको यो सक्रियतालाई भूराजनीतिक प्रतिस्पर्धामा महत्वका साथ लिन सकिन्छ । भर्चुअल बैठकपछि जारी संयुक्त वक्तव्यको सार र भाषा हेर्दा चीनले अहिलेको परिस्थितीलाई आफ्नो पक्षमा पार्न खोजेको जस्तो देखिन्छ ।
दक्षिण कोरियाले लकडाउन बिनै भाइरसलाई नियन्त्रणमा लिएको थियो । उसले यसो गर्न चीनले अंगीकार गरेको संक्रमित पहिचान, उपचार र क्वारेन्टिनको विधिलाई आत्मसात गर्न सक्यो । सँगै, दक्षिण कोरियाले अक्सिजन, भेन्टिलेटर र शैय्याजस्ता अत्यावश्यक स्वास्थ्य संरचना र सामाग्रीको आपूर्तिमा जोड दिएको थियो ।
कोरियाले यति तीव्ररुपमा क्वारेन्टिनमा जनसंख्यालाई राख्यो जसले गर्दा भाइरसको फैलावट हुन पाएन । साथै, दक्षिण कोरियाले कन्ट्याक्ट ट्रेसिङका लागि आफ्ना नागरिकलाई फोन एपमा बाँधेको थियो जसले गर्दा संक्रमित पहिचान गर्न कठिन भएन ।
भाइरस संक्रमणको फैलावट हुँदासम्म चीनले ठूला समारोह र कार्यक्रम आयोजना हुन दिएन । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोसले मुलुकहरुलाई आफ्नो व्यवस्थाअनुसार भाइरस नियन्त्रणका लागि कदम चाल्न आग्रह गरेका थिए । उनको यो आग्रह पछाडि राजनीतिक व्यवस्था र नागरिकको सुझबुझपूर्ण तरिकातर्फ केन्द्रित छ । कम्युनिष्टबाहेक केही लोकतान्त्रिक मुलुकहरु भारत, इटालीले चिनियाँ मोडेलको लकडाउनलाई आत्मसात गरे भने अमेरिका, अष्ट्रेलिया, जापान र दक्षिण कोरियाले लकडाउन गरेनन् ।
लकडाउन कम्युनिष्ट शासन संरचनाको भाइरस रोकथामको शैली भएको बताउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले त्यसको आवश्यकता देखेनन् । नेपालमा पनि चिनियाँ शैलीको लकडाउन मोडेललाई पालना गर्न कठिन हुन तर्क समेत उठेका थिए ।
इंग्ल्यान्डको डेपुटी चिफ मेडिकल अफिसर डा. जेनी ह्यारिसको तर्क छ- ठूलो संख्यालाई एक ठाउँमा राखेर भाइरस रोकिन्थ्यो भने सरकारले यो काम पहिल्यै गरिसक्थ्यो । बेलायतको मोडेलमा यस्तो कुरा नसुहाउने भएकाले सरकारले निकै सतर्कतापूर्वक विज्ञानमा आधारित निर्णय लिन्छ ।’
चीनको पदचाप कतातिर ?
खोप राष्ट्रवाद र खोप कूटनीति अहिले सर्वाधिक ‘क्वाइन’ भएका शब्दहरु हुन् । पछिल्लो समय शक्तिशाली राष्ट्रहरुले आफ्नो हैसियत स्थापित गर्ने मामिलामा यी दुई शब्दावलीलाई भरपुर प्रयोग गरिरहेका छन् ।
विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक मुलुक भारत र समृद्ध स्वास्थ्य प्रणाली भएको दाबी गर्ने अमेरिका भाइरसले कठिन अवस्थामा पुगेको बेला चीनले अहिले सफ्टपावरको रुपमा खोपलाई उपयोग गरिरहेको छ ।
दक्षिण एसिया, ल्याटिन अमेरिका र अफ्रिकी मुलकुहरुमा चीनले आफूले विकास गरेको सिनोफार्म खोप आपूर्ति गरिरहेको छ । भाइरसले थलिएको भारतमा समेत उसले अक्सिजनसहितका अत्यावश्यक स्वास्थ्य सामाग्री एयर-लिफ्ट गर्यो ।
के नेपाल चिनियाँ मोडेललाई कार्यान्वयन गर्न सक्षम छ ? अवश्य पनि नेपालमा कम्युनिस्ट पार्टीकै सरकार छ तर चीनको जस्तो होइन । आज नेकपा फुटे पनि एमाले छ । एमालेले दशौं हजार कार्यकर्तालाई चिनियाँ शैलीमा परिचालन गर्न सक्दैन ?
नेपालसहित दक्षिण एसियाका पाँच मुलुकसँग कोभिड-१९ महामारीसँग जुध्नेसहित गरिबी निवारण र व्यापार साझेदारीका लागि क्षेत्रीय संरचना बनाउने घोषणा गत महिना बेइजिङले गरिसकेको छ । यही संरचनाअन्तर्गत रहेर उसले नेपाल लगायतका मुलकमा अक्सिजन, भेन्टिलेटर, पीपीई, कन्सनट्रटेर लगायतका स्वास्थ्य सामाग्री आपूर्ति गरिरहेको छ । भारतबाट खोप आपूर्ति रोकिएको मौकामा चीनले चीन-दक्षिण एसिया आपतकालिन आपूर्ति भण्डारसहितका संरचना स्थापना गर्ने घोषणा चीनले गर्यो ।
दक्षिण एसियाको शक्तिराष्ट्र भारत भाइरसले थलिएको बेला चीनको यो सक्रियतालाई भूराजनीतिक प्रतिस्पर्धामा महत्वका साथ लिन सकिन्छ । भर्चुअल बैठकपछि जारी संयुक्त वक्तव्यको सार र भाषा हेर्दा चीनले अहिलेको परिस्थितीलाई आफ्नो पक्षमा पार्न खोजेको जस्तो देखिन्छ । भारत नहुनुको भ्याकुममा चीनले उपस्थिती खोजेको रुपमा मूल्यांकन गर्न सकिन्छ । उक्त विज्ञप्तीअनुसार चीनले कोभिड-१९ विरुद्ध जुध्न स्वास्थ्य सामाग्री र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । सोही आसपासमा चिनियाँ राष्ट्रपति सी जिङपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष सन्देश पठाउँदै संकटमा चिनियाँ सहयोग उपलब्ध गराउने बताएका थिए ।
भाइरस नियन्त्रणमा चिनियाँ मोडेलले मुख्यतः कन्ट्याक्ट ट्रेसिङ, टेस्ट र क्वारेन्टिनमा बढ्ता जोड दिएको देखिन्छ । चीनले लकडाउनलाई भाइरस नियन्त्रणको साध्य नभएर साधनको रुपमा लिएको देखिन्छ । भन्नुको अर्थ, लकडाउनलाई उसले स्वास्थ्य पूर्वाधार र संरचना स्थापना गर्ने समयको रुपमा लिएको देखिन्छ । दुई दिनमै हजार बेडभन्दा ठूला अस्पताल स्थापना गर्ने चिनियाँ सक्रियता लकडाउनलाई कसरी भाइरस नियन्त्रणको अवसरमा प्रयोग गर्ने भन्ने उदाहरण हो । अर्कोतर्फ, शासकीय संरचना र दलीय चरित्रलाई पनि चीनले संक्रमण रोकथाम र नियन्त्रणमा अधिकतम प्रयोग गरेको रुपमा लिन सकिन्छ ।
के नेपाल चिनियाँ मोडेललाई कार्यान्वयन गर्न सक्षम छ ? अवश्य पनि नेपालमा कम्युनिस्ट पार्टीकै सरकार छ तर चीनको जस्तो होइन । आज नेकपा फुटे पनि एमाले छ । एमालेले दशौं हजार कार्यकर्तालाई चिनियाँ शैलीमा परिचालन गर्न सक्दैन ?
चिनियाँ मोडलको कडाई गर्न हाम्रा लोकतान्त्रिक मान्यताहरुले पनि अवरोध उत्पन्न गराउँछन् । यद्यपी सरकारले नागरिकलाई केही साता कष्ट सहेरै भनेपनि यो संकटबाट पार लगाउन आश्वस्त पार्न सक्नुपर्छ ।