नेपालद्वारा सबै प्रकारका भिसा सेवा स्थगित
काठमाडौं । कोरोनाभाइरसको नयाँ प्रजातिको संक्रमणमा वृद्धि भएको उल्लेख गर्दै अध्यागमन विभागले आजदेखि सबै प्रकारको भिसा सेवा बन्द भएको जनाएको छ ।
विहिबार विज्ञप्ती जारी गर्दै अध्यागमन कार्यालयले अर्को सूचना जारी नभएसम्म केही सर्तसहित भिसा सेवा तत्काललाई स्थगित भएको जानकारी गराएको हो ।
तर, लकडाउनको कारण नेपालमा अलपत्र परेका विदेशी, कारागारबाट सुपुर्दगी गर्नुपर्ने र देश निकाला गर्नुपर्ने, पासपोर्ट प्रक्रियाले रोकिएका र अन्य अत्यावश्यकीय कामले रोकिएकालाई भने भिसामा सहजीकरण गरिने जनाइएको छ ।
भिसा भएर पनि जान नपाएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सहजीकरण गर्ने जनाइएको छ ।