कविता- अब त आउन – Nepal Press

कविता- अब त आउन

प्रिय एनि !
मनसुन शुरु हुँदै छ
भूँईं कुहिरो आउँदै छ
चिमाल फुलेर रात्तै भएथ्यो – लिपेमा
तिमी आइनौं।
अब
हरियो हुँदैछ ।
चेपेबाट उकालिएको सिरेटो
जोर्ने भञ्ज्याङ कटेर पारी – फोर्जुङ्तिर पो डुल्दैछ ।
कोइली उसै गरी गाउँदै छ – चक्चेतिर
सोरठीको जोर मादल बजेकै छ – तस्यो नाँसातिर*
लैवरीपनि पनि सुनिन्छ – टोँ नाँसातिर
खै त
तिमी छैनौं ?
एनी
फूलको डालीडाली नाची उड्ने जुरेलीपनि आउन छोडी
विहानै उठाउन आउने चिवेपनि छैन– गाउँमा
जसरी छैनौं
तिमी – गाउँमा , भञ्ज्याङमा र चौतारीमा
एनी !
सम्झिरहन्छु – म
सिमसिम पानी
इलिमपोखरीबजार
बैशाखे पूर्णिमा
तिम्रो गोठ खोज्दै
चेर्ने* तिर उकालिएको – म
चौतारी मै भेटिएकी – तिमी
टिपेर कुसुम तिमीलाईं दिंदा
केशमा सजाउँदा – अलिकति लजाएकी तिमी
एनी !
तिम्रा लामा केशराशी
मन्द मुस्कान
गाजलु नयन
सिमसिमपानी
सेताम्मे भूँईकुहिरोबीच
सम्झिहरेछु – तिमीलाई
क्या रमाइला थिए– ती दिन !
फुलगैं पुगेर
*मथेकहाँ मही र मकै खाँदै
पिरतीका कथा बुन्दै इलिमपोखरी डुलेको
देउराली साक्षी राखी
इलिमदेवी भाकेको
जौ र फापर पिसेर रु
बाटोमा फर्कंदा भेटिएका – मृगका बथान
चराको चिरबिर
ऐंसेलु र गुयेंलीको स्वाद
माटोको वासना
तिमीसँगको पहिलो – प्रेम
प्रिय एनी १
थाह छ – तिमीलाई
हरेक बर्ष – म
मनसुनको सिमसिमपानीमा – रुझ्दै
मनमुग्ध पार्ने भूँईंकुहिरोमा – लुक्दै
तिम्रोबाटो हेरिरहन्छु ।
सत्ये सत्ये एनी
म तिमीलाई नै कुरिरहछु ।
अब त… आउ… न
मनसुन शुरु हुँदैछ ।

* शब्दार्थ गुरुङ भाषा
गाउँ, घुम्ती, ठूली आमा

पोखरा, जेठ ५, २०७८


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *