कोरोना होइन कुर्सीको संक्रमणमा देश
मलाई राजनीति गर्नु छैन तर राजनीतिका खबरहरुबाट म बेखबर छैन । कोरोनाको यतिविघ्न कहरका बेला पनि देशको राजनीतिमा ‘रस्साकस्सी’ चर्को छ । जति नै वेवास्ता गरौं भनेपनि देश दुखेका खबर र देश दुखाउनेका भाषणबाट अलग हुन नसकिने रहेछ ।
टेलिभिजनको पर्दामा दलका नेताहरुको संसद भवन,सिंहदरबार , बालुवाटार , शीतलनिवास र सर्वोच्च अदालतसम्मको दौड जत्ति निरस भएपनि हामी हेर्दैछौं । कुर्सी केन्द्रीत राजनीतिको बिजेता जो भएपनि हाम्रो पीडा यथावत नै रहनेछ । सर्वसाधारण जनता यतिबेला कोरोनाको रोगसंगै भोक र शोकबाट पनि गुज्रिरहेका छन् । एक सिलिण्डन अक्सिजन वा एउटा आइसीयुको पर्खाइमा मृत्युवरण गर्न बाध्य छौं । अस्पतालमा बेड नपाएर छटपटिएको बिरामीभन्दा देश अझ बढी छटपटिएको छ । मेरो देश नै यतिबेला संक्रमणमा छ, कोरोनाको होइन कुर्सीको ।
२०७४ सालको चुनावमा दलका घोषणा पत्र र उम्मेदवारका प्रतिबद्धता पढी नसक्नुका थिए । खासमा ती त आम जनताको भोट तान्नका लागि देखाइएको ‘ललिपप’ पो रहेछन् ।
कोरोनाको दोस्रो लहरपछि नेपालमा सक्रमणको दरमात्रै बढेन मृतकको संख्यापनि बढ्यो । संक्रमितको उपचारमै असहजता उत्पन्न हुँदासमेत नेपालका राजनीतिक दलहरुको प्राथमिकतामा जनताको जीवन पर्न सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै संसद विघटन र निर्वाचनमा जाने निर्णय लिएका छन् । राजनीतिक रुपमा यस्ता निर्णय कसरी कार्यान्वयन हुन्छन् त्यो अलग विषय हो । तर कोरोनाको खोप पर्खिरहेका जनताको हातमा मतपत्र थमाउनका लागि यो उपयुक्त समय होइन । सत्तापक्ष होस् या प्रतिपक्ष राजनीतिक खिचातानी र प्रहसनका लागि यो समय उपयुक्त छैन । यतिबेला सरकार बनाउन वा गिराउन यता वा उता हस्ताक्षर गर्दै हिडेका माननीयहरु आफ्नो निर्वाचन क्षेत्रका जनताको दुःख निवारणमा देख्न चाहन्छन् जनता । कोरोनाविरुद्ध लड्न लकडाउन गरिएको छ । तर हजारौं श्रमजीवी जनताको गाँस खोसिने स्थिति बनेको छ । सरकारले बनाएको नयाँ धरहराबाट अस्पताल देखिएको छैन । देशभरका डाडाँमा ठडिएका भ्यू टावरबाट जनताको शोकबाहेक के नै देखिएको छ र ? त्यसैले क्रमशः नेपालका राजनीतिक दल र नेताहरुप्रति आम जनताको भरोसा गुम्दैछ । आफ्ना हरेक राजनीतिक भाषण र दस्तावेजमा ‘जनताका लागि’ भन्न नछुटाउने नेताहरुले जनता समस्यामा परेका बेला ‘कुर्सीका लागि’ सबथोक गरे तर ‘जनताका लागि’ केही गरेनन् ।
एकातिर कोरोनाको कहर, अर्कोतिर कुर्सीको कहर । संविधान निर्माणसंगै राजनीतिक स्थायित्वको अपेक्षा पूरा भएको सबैको बुझाई थियो । घरघर पुगेर दलका नेताहरुले नै अब स्थायित्वसंगै समृद्धि पनि आउनेछ भनेकै थिए । अझ २०७४ सालको चुनावमा दलका घोषणा पत्र र उम्मेदवारका प्रतिबद्धता पढी नसक्नुका थिए । खासमा ती त आम जनताको भोट तान्नका लागि देखाइएको ‘ललिपप’ पो रहेछन् । जनताले वामगठबन्धनलाई झण्डै दुई तिहाई दिएकै थिए । देशको मुहार फेर्छौ भन्ने कम्युनिष्टहरुलाई शासनको बागडोर सुम्पिएकै थिए । आज तीन वर्षमै न कम्युनिष्ट पार्टी सग्लो रह्यो न जनताको विश्वास । सामाजिक सञ्जालमा कोही जनता केपी ओलीको पक्षमा होलान्, कोही शेरबहादुर देउवा वा प्रचण्डको पक्षमा होलान् । तर आम जनता यी सबैको विरुद्धमा छन् । दुःखको बेला देश बिगार्ने कुनैपनि दलका कुनैपनि नेता अहिले हाम्रो भरोसा बन्न सकेनन् ।
राजनीतिको सुरुवात नै जनताबाट हुनुपर्छ र अन्त्यपनि जनताबाट । जनताको सरोकारलाई वास्ता नगर्ने राजनीतिले मुलुकलाई दुर्घटनातर्फ लैजान्छ । त्यस्तो दुर्घटनाबाट देश जोगाउने नेतृत्व यतिबेला मुलुकले खोजिरहेको छ । विपक्षी दलदेखि प्रधानमन्त्रीसम्म, सभामुखदेखि राष्ट्रपतिसम्म एकले अर्कालाई ‘सिध्याउने राजनीति’ को अन्त्य मुलुकले चाहेको छ । म जुन पुस्तालाई प्रतिनिधित्व गर्छ त्यो पुस्तामा राजनीतिप्रति तीव्र घृणाभाव छ । राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा जनताले नै बलिदानी दिएको इतिहास छ । नेता भन्नेहरुले सत्ता र शक्तिबाट आर्जन मात्रै गरेका छन् । संकटको यो घडीमा अक्सीजन र आइसीयु नपाएर छटपटिएका र राजनीतिप्रति ‘प्रश्न’ गरिरहेका मेरो पुस्ताका साथीहरुको दह्रो खबरदारी अब जरुरी छ ।