भाइरस संकट खेपिरहेको नेपालले कसरी पाउँदैछ अन्तर्राष्ट्रिय सहायता ?
महामारीविरुद्धको लडाइमा नेपाललाई राष्ट्रसंघ र इयुसहित १० मुुलुकको साथ
काठमाडौं । स्वास्थ्य मन्त्रालयले साउन दोस्रो सातादेखि भाइरसको संक्रमण दर पुनः उकालो लाग्ने बताएको छ । ११ जेठमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले साउन मध्यदेखि भाइरसको तेस्रो लहर सुरु हुन सक्ने संकेत गरे ।
सरकारले कात्तिक-मंसिरमा मध्यावधि चुनावको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावअघि जोखिम वर्ग समूहलाई कोभिड-१९ विरुद्धको खोप लगाइसक्ने बताएका छन् । सरकारले कूल जनसंख्याको ७५ प्रतिशतलाई खोप लगाउने योजना बनाएको छ ।
तत्काल खोप आपूर्तिका लागि सरकारले कूटनीतिक र राजनीतिक माध्यममार्फत प्रयत्न गरिरहेपनि खोप आउने टुंगो चाहिँ लागिसकेको छैन । परराष्ट्र मन्त्रालयले खोप उत्पादक मुलुकहरु र कोभ्याक्सलाई पटक-पटक ताकेता गरिरहेको छ । सिरम इन्स्टिच्युटले वर्ष २०२१ को अन्त्यदेखि मात्र खोप आपूर्ति सुरु हुनसक्ने बताएको छ ।
सिरम र कोभ्याक्सले तत्काल खोप आपूर्ति गर्न नसकेपछि नेपालको खोप अभियान प्रभावित बनेको मात्र छैन, पहिलो डोज लगाएर बसेका नागरिकले दोस्रो डोजको लागि केही समय प्रतीक्षा गर्नुपर्ने अवस्था छ । सरकारले पहिलो डोज लगाएका ६५ वर्ष माथिल्लो उमेरका नागरिकलाई दोस्रो डोज १२ देखि १६ साताभित्र दिने निर्णय गरेको छ ।
सरकारको पहल र प्रधानमन्त्रीको आह्वान
परराष्ट्र मन्त्रालयले भारतबाहेकका अन्य खोप उत्पादक मुलुकसँग आपूर्तिका लागि पहल गरिरहेको जनाएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अमेरिका, भारत, युरोपेली युनियन र बेलायतलाई खोप आपूर्तिका लागि पत्राचार गरिएको बताएका छन् । सोमबार मात्रै मन्त्री त्रिपाठीले नर्वेली राजदूतसँग उक्त देशले स्टकमा राखेको भनेको अस्ट्राजेनेका खोप आपूर्तिका लागि आग्रह गरेका छन् र जवाफमा नर्वे सकारात्मक रहेको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले खोप आपूर्तिको जिम्मा परराष्ट्रलाई दिने घोषणा गरे लगत्तै बसेको मन्त्रालयको बैठकले अन्तर्राष्ट्रिय सहायताका लागि सबै कूटनीतिक नियोगलाई परिचालन गर्ने निर्णय गर्यो । अहिले विदेशस्थित नेपाली नियोगहरुले सम्बन्धित मुलुकका सरकारसँग खोप आपूर्ति र मानवीय सहायता परिचालनका लागि पहल गरिरहेका छन् । स्वयम प्रधानमन्त्रीले सीएनएन, द गार्जियनजस्ता पश्चिमा मिडिया र जापानको फ्युचर अफ एसिया फोरममार्फत नेपालको महामारीविरुद्ध सघाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे ।
जेठ ११ गतेसम्म नेपालमा भाइरसको कारण ६,७०० जनाको मृत्यु भएको छ भने कूल संक्रमित संख्या ५ लाख २८ हजार पुगेको छ । दैनिक संक्रमित संख्या ८ हजार माथि छ भने दैनिक मृत्यु २०० आसपास छ । सक्रिय संक्रमित संख्या १ लाख १७ हजार पुगेको छ । संक्रमण दर वृद्धि हुँदै जाँदा दोस्रो लहरमा स्वास्थ्य संस्थाको क्षमताले थेगेन । अक्सिजन अभावमा सयौंले ज्यान गुमाए । अक्सिजन सिलिन्डर, भेन्टिेलटर, कन्सनट्रेटरजस्ता स्वास्थ्य सामाग्रीको अभाव चुलियो ।
देशभित्रै संक्रमण र मृत्युदर चुलिएपछि भारतले नेपालसहितका मुलुकलाई अहिले खोप निर्यातमा अस्थायी रोक लगाएको छ । अन्य स्वास्थ्य उपकरण पनि दक्षिण छिमेकीबाट हुन नसकेपछि नेपालले खोप र जरुरी उपकरणको लागि भारतको विकल्प खोज्न थाल्यो । यसका लागि कूटनीतिक संयन्त्र परिचालन भयो र नेपालले अन्य मुलुकलाई सहायताका लागि अपिल गर्यो । अनि सुरु भयो, कोभिड-१९ महामारीविरुद्ध नेपाललाई सघाउन अन्तर्राष्ट्रिय सहायताको सिलसिला ।
खोप तत्काल नआउने भएपनि अहिले नेपाललाई अहिले जरुरी स्वास्थ्य सामाग्री र मानवीय सहायता मिलिरहेको छ । चीन, बेलायत, अमेरिकाजस्ता शक्तिराष्ट्रसहित विदेशी नियोगले दैनिकजसो नेपाललाई सहायता परिचालन गर्दै सहयोग गर्ने घोषणा गरिरहेका छन् । राष्ट्रसंघको नेपाल कार्यालयले त विश्व स्वास्थ्य संगठनलाई नेपालको दैनिक संक्रमणदर र परिस्थितीबारे हेक्का राख्न भनिसकेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोसले नेपाललाई तत्काल मानवीय सहायता जरुरी भएको बताएका छन् ।
कुन देशले के सहयोग गरे ?
नेपाललाई खोप बाहेक अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराउन विभन्न देशले अग्रसरता लिएका छन् ।
अमेरिकाको करीव ६ अर्बको सहायता
३० बैशाखमा अमेरिकी सिनेटमा नेपालको कोरोना भाइरस संकटबारे औपचारिक छलफल भयो । अमेरिकी सिनेटअन्तर्गको वैदेशिक मामिला समितिमा सिनेटर क्रिस मुर्फे लगायतले भारतले स्वास्थ्य सामाग्री निर्यातमा रोक लगाउँदा नेपालको अवस्था नाजुक भएको बताएका थिए । अमेरिकी नियोग युएसएडका वरिष्ठ सल्लाहकार जेरेमी कोन्ड्याकले नेपाललाई अतिरिक्त सहायताका लागि योजना बनाइरहेको समेत उल्लेख गरेका थिए ।
राजदूत र्यान्डी जे बेरीका अनुसार महामारी सुरु भएयता अमेरिकाले नेपाललाई ५० मिलियन डलर (५ अर्ब ८२ करोड रुपैयाँ) बराबरको स्वास्थ्य सहायता उपलब्ध गराएको छ । महामारीको सहायतालाई जोडेर अमेरिकाले नेपाललाई उपलब्ध गराउने वैदेशिक सहायताको आकार ५ अर्ब ८४ करोड पुर्याएको छ । पछिल्लो सातामात्रै अमेरिकाले नेपाललाई युएसएडमार्फत दुई खेप स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
अमेरिकाले यसैसाता नेपाललाई १००० थान अक्सिजन सिलिन्डर, सय थान भेन्टिलेटर, परीक्षण उपकरण, अक्सिजन सम्बन्धि उपकरण, पीपीई, ग्लोब्स उपलब्ध गराएको छ । अमेरिकी राजदूत बेरीले यसैसाता चार्टर्ड जहाजमार्फत थप स्वास्थ्य सामाग्री काठमाण्डू ल्याउने उल्लेख गर्दै सहायताका लागि सघाउने जनाएका छन् । अमेरिकाले उपलब्ध गराउने सहयोगअन्तर्गत उसको इन्डो–प्यासिफिक कमान्डले उपलब्ध गराउने घोषणा गरेको अक्सिजन प्लान्ट, सिलिन्डर र भण्डारण ट्यांकहरु पनि सामेल छन् । सन् २०२० को अप्रिलयता कमान्डले ५८ लाख डलर बराबरको स्वास्थ्य सहायता उपलब्ध गराइसकेको छ ।
This week @USAID is airlifting urgent #COVID19 supplies to Nepal. Since the beginning of the pandemic, the American people have given Nepal over $50 million in COVID-19 assistance to #beatthevirus, and we’ will continue to do so. 🇳🇵🇺🇸 @USAIDNepal @USEmbassyNepal pic.twitter.com/S8GbYnAgby
— Ambassador Randy Berry (@USAmbNepal) May 25, 2021
नेपाल प्रेससँग कुरा गर्दै अमेरिकी दूतावासकी प्रवक्ता अन्ना रिच एलेनले राष्ट्रसंघको खोप आपूर्ति कार्यक्रम कोभ्याक्समा अमेरिकाले थप २ बिलियन डलरको प्रतिबद्धता जनाएको बताइन् ।
सोमबार मात्रै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी आर सेर्मनसँग टेलिफोन संवाद गरे । नेपालले अमेरिकाले वितरण गर्ने भनेको ८० मिलियन डोज खोपको प्राथमिकतमा नेपाललाई राख्न मन्त्री ज्ञवालीले आग्रह गरेका थिए । जवाफमा सेर्मनले अमेरिकी प्राथमिकतामा नेपाल रहेको जवाफ दिएकी थिइन् ।
अमेरिकी सहायता परियोजना डाइरेक्ट-रिलिफले पनि महामारीविरुद्ध लड्न नेपाललाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्न लागेको छ । उक्त परियोजनाले प्रदान गर्ने २५ टन तौलको स्वास्थ्य सामाग्री मंगलबार अमेरिकाबाट नेपालको लागि प्रस्थान गरेको छ । सिकागोदेखि काठमाण्डूसम्म उडान भर्ने उक्त कार्गो बिमानले अमेरिकादेखि ८६० वटा अक्सिजन कन्सननट्रेटर नेपाल ल्याउनेछ ।
आगामी मे २७ तारिखमा उक्त बिमान काठमाण्डू अवतरण गर्ने जानकारी अमेरिकास्थित नेपाली दूतावासले दिएको छ । अमेरिकाबाट ल्याइएका ती सामाग्रीलाई कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई प्रदान गरिने भएको छ । ती सामग्रीलाई प्रदेश र जिल्ला अस्पतालमा वितरण गरिने भएको छ ।
चीन सधैंको साथी
दोस्रो लहरमा पनि नेपाललाई सघाउने मामिलामा चीनको सक्रियता पहिलेजस्तै देखिएको छ । पहिलो लहरपछि नेपाललाई ८ लाख डोज सिनोफार्म खोप उपलब्ध गराएको चीनले दोस्रो लहरमा भने अक्सिजन, भेन्टिलेटर, कन्सनट्रटेर लगायतका स्वास्थ्य सामग्रीको सहयोग उपलब्ध गराएको छ । बैशाख २८ गते नेपाल वायुसेवा निगमको जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर ल्याएको थियो । जसमा १६० थान अक्सिजन कन्सनटेटरसहित ३० टन स्वास्थ्य सामाग्री समेत समावेश थिए ।
चीनको स्वशाषित क्षेत्र तिब्बतले ८ जेठमा नेपाललाई महामारीविरुद्ध डेढसय थान अक्सिजन सिलिन्डर र ३० हजार लिटर तरल अक्सिजन प्रदान गरेको थियो । नेपाल-चीन सीमावर्ती तातोपानी नाका हुँदै सामाग्री ल्याइएका थिए । ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार तिब्बतले थप स्वास्थ्य सामाग्री, २०० आइसीयू बेड, ५ भेन्टिलेटर, १० अक्सिजन कन्सनट्रेटर, ८०० अक्सिजन ग्याँस सिलिन्डर, ७ लाख थान सर्जिकल मास्क दिने घोषणा गरेको छ ।
Having supplied 300 million doses of COVID-19 vaccines to the world, China will provide still more vaccines to the best of its ability: Xi https://t.co/FEttC8nXrz pic.twitter.com/FsjqpAutMa
— China Xinhua News (@XHNews) May 21, 2021
नेपालको निजी क्षेत्रले चीनबाट मात्र ९ हजार ८५० थान सिलिन्डर ल्याइसकेका छन् । बैशाख १४ गते सम्पन्न सार्कका पाँच सदस्य मुलुक नेपाल, अफगानिस्तान, बंगलादेश, श्रीलंका र पाकिस्तानका विदेशमन्त्रीसहितको भर्चुअल बैठकमा चीनले नेपाललाई ५० लाख युआन बराबरका स्वास्थ्य सामग्री प्रदान गर्ने घोषणा गरेको थियो । चीनको उक्त सहायताअन्तर्गत ६५० थान अक्सिजन कन्सनट्रेटर, २० हजार थान अक्सिजन नासल क्यानुअल्स र २० हजार फेस मास्क पनि संलग्न छन् ।
मे १९ मा चीनको सिचुआन प्रान्तले ३.६ मिलियन युआन बराबरको ३ लाख सर्जिकल मास्क, १ लाख ६२ हजार एन-९५ मास्क, १० हजार पीपीई, ५०० इयर थर्मोमिटर उपलब्ध गराएको समेत परराष्ट्रले जनाएको छ । परराष्ट्रका अनुसार चीनका निजी संस्थाहरुले नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।
बेलायतले के-के दियो ?
८ जेठमा बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्ड्समा नेपालको महामारी अवस्था र गर्न सकिने सहायता बारेमा छलफल भएको थियो । संसदमा ११ मिनेटजति नेपालबारे छलफल भएको र उठेका प्रश्नको जवाफ दिँदै बेलायती विदेश मन्त्रालयको तर्फबाट लर्ड अहमद अफ विम्वल्डनले बेलायतले कोभ्याक्स सुविधामार्फत नेपाललाई २० लाख डोज खोप उपलब्ध गराउने बताएका थिए । त्यसअघि नेपालले कोभ्याक्सबाट ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो ।
बेलायतले कोभ्याक्समा ५४८ पाउन्ड सहायता उपलब्ध गराएको र नेपालले सोही अन्तर्गत सहायता प्राप्त गर्ने बेलायती राजदूत निकोला पोलिटले जनाएकी छिन् । बेलायतले युकेएडअन्तर्गत नेपाललाई जरुरी स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । उक्त बेलायती सहयोग नियोगअन्तर्गत प्रदेश अस्पतालहरुमा अक्सिजन कन्सनट्रेटर, पीपीई लगायतका उपकरणहरु र सामग्री पुगेका छन् ।
२० मेमा बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजदूत पोलिटलाई भेट गर्दैै जतिसक्दो चाँडो अस्ट्राजेनेका खोप उपलब्ध गराउन आग्रह गरेका थिए । जवाफमा पोलिटले प्रधानमन्त्रीको आग्रहमा आफूहरु सकारात्मक रहेको बताएकी थिइन् । बेलायतले महाराजगञ्जस्थित प्रहरी अस्पतालमा १६० वटा ठूला सिलिन्डरसहितको अक्सिजन प्लान्ट स्थापना समेत गरेको छ ।
इयुको घोषणा, स्पेनको चार्टर्ड फ्लाइट, स्वीटजरल्यान्ड नेपालसँगै उभियो
युरोपेली युनियन (ईयू)ले नेपाललाई २ मिलियन युरो (२८ करोड नेरु) उपलब्ध गराउने घोषणा गरेको छ । साथै, चिकित्सकीय टोली पनि परिचालन गर्ने जनाएको छ । आइसोलेसनमा बसेकाहरुको अनुगमन र उपचार, आपतकालमा परिचालन हुने डाक्टरको टोलीसहित नेपाललाई ईयूले अक्सिजन ग्याँस सिलिन्डर, अक्सिजन कन्सनट्रेटर, होम केयर र एन्टीजेन परीक्षण किट्स, पीपीई प्रदान गर्ने भएको छ । ईयूका क्राइसिस म्यानेजमेन्ट संयोजक जेनेज लेनार्कले ईयूले थप सहयोग गर्ने बताएका छन् ।
ईयुको सदस्य राष्ट्र स्पेनले समेत नेपाललाई जरुरी स्वास्थ्य सहायता उपलब्ध गराएको छ । ६ जेठमा मड्रिडबाट चार्टर्ड जहाजमा ल्याइएका ती सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरियो । जसमा ५० थान अक्सिजन सिलिन्डर, २० थान अक्सिजन कन्सनट्रटेर, ७७ थान भेन्टिलेटर, १४ थान रेस्पिरेटर्स, १ लाख ६४ हजार एन्टीजेन किट्स, २.४ मिलियन मास्क लगायत छन् ।
८ जेठमा विशेष कार्गो बिमानमा जुरिचबाट ल्याइएका स्वास्थ्य सामाग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वीस राजदूत एलिजाबेथ क्यापेलारले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् ।
ल्याइएका तीन टन सामाग्रीमा ४० थान अक्सिजन भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, ११ लाख र्यापिड एन्टीजेन टेस्ट, १ लाख १० हजार मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई छन् ।
राष्ट्रसंघको साझेदारी
नेपालस्थित संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरुले आपतकालिन कोभिड-१९ योजना जारी गर्दै साढे सात लाख जनसंख्यालाई आगामी तीन महिनासम्म सहयोग गर्न ८ करोड ३७ लाख डलर बराबरको कोष खडा गरेका छन् र उक्त कोषलाई परिचालन गर्ने जनाएका छन् ।
राष्ट्रसंघको नेपाल संयोजक सारा ब्योस्लो न्यान्तीले घोषणा गरिएको उक्त प्रतिकार्यले आगामी दिनमा जीवन बचाउन र अनावश्यक पीडा निवारण गर्न आवश्यक कदम तत्काल चालिहाल्नुपर्ने र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको लागि आह्वान गर्ने बताएकी छिन् ।
नेपालको भाइरसको परिस्थिती भयावह बनेको भन्दै राष्ट्रसंघले पनि तत्काल नेपालमा खोप र मानवीय सहायता आपूर्तिका लागि सम्बन्धित निकायलाई ताकेता गरिरहेको छ जुन कुरा न्यान्तीका पछिल्ला ट्वीटहरुमा स्पष्ट देख्न सकिन्छ ।
२८ बैशाखमा बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जाहिद मल्लिकले बेक्सिमको फर्माबाट उत्पादित पाँच हजार भायल रेम्डेसिभिर, सुई तथा पीपीई लगायतका स्वास्थ्य सामाग्री नेपाल राजदूत वंशीधर मिश्रलाई प्रदान गरे ।
जापानको साथ
जापानले नेपालका २३ अस्पताललाई कोभिडका बिरामीको उपचारमा सहयोग गर्न पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोसिट सिस्टम उपकरण प्रदान गरेको छ । काठमाडौंस्थित जापानी दूतावासले विज्ञप्ति जारी गर्दै जापानले आगामी महिना १६० थान अक्सिजन कन्सनट्रेटर र ६ वटा एम्बुलेन्स दिने तयारी गरेको छ ।
अष्ट्रेलियाको आर्थिक सहायता
अष्ट्रेलियाले महामारीविरुद्ध नेपाललाई ६३ करोड ४८ लाख रुपैयाँ (७ मिलियन अष्ट्रेलियन डलर) प्रदान गर्ने जनाएको छ । नेपालसहित दक्षिण एसियाका बंगलादेश र श्रीलंकालाई प्रदान गर्ने १७.५ मिलियन डलरकै हिस्सा अन्तर्गत रहेर उक्त सहायता प्रदान गर्न लागिएको जानकारी अष्ट्रेलियाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अष्ट्रेलियाले दिने उक्त सहयोगमा प्रदेश अस्पताललाई अक्सिजन लगायतका जरुरी उपकरण र स्वास्थ्यकर्मीका लागि पीपीई लगायत समेटिएको छ ।
अष्ट्रेलियाले नेपालको महामारीविरुद्ध लड्न युरोप, अमेरिका र राष्ट्रसंघीय नियोगसँग मिलेर काम गर्ने जनाएको छ ।
न्युजिल्यान्डले सम्झियो हिलारी र तेन्जिङ
७ जेठमा न्यूजिल्यान्डले महामारीविरुद्ध लड्न नेपाललाई १ मिलियन न्यूजिल्यान्ड डलर (८ करोड ४० लाख नेरु) प्रदान गर्ने घोषणा गर्यो । विदेशमन्त्री ननैया महुताले उक्त सहायता राष्ट्रसंघीय युनिसेफमार्फत प्रदान गर्ने घोषणा गरिन् । पहिलो सगरमाथा आरोही एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाकै पालादेखि नेपाल र न्यूजिल्यान्डबीच विशिष्ठ सम्बन्ध रहिआएको विदेशमन्त्री महुताले जनाएकी छिन् ।
क्यानडाको साथ
क्यानडाले नेपालको महामारीविरुद्ध १ मिलियन क्यानडेली डलर (९ करोड ६५ लाख नेरु) प्रदान गर्ने घोषणा गरेको छ । १० जेठमा क्यानडेली विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भाइरसको दोस्रो लहरसँग जुध्न नेपाललाई रकमसहित आवश्यक स्वास्थ्य उपकरण, एम्बुलेन्स सेवा र रक्तदान सम्बन्धी उपकरण समावेश छन् । समुदायमा हाइजिन स्टेशन स्थापना गर्ने र अन्य स्वास्थ्य सुविधा पनि दिने क्यानडाले जनाएको छ ।
थाइल्याण्ड पनि छुटेन
१० जेठमै बिमस्टेकको एक सदस्य मुलुक थाइल्यान्डले नेपाललाई महामारीविरुद्ध लड्न ४६ थान अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ । बैंककमा आयोजित एक कार्यक्रममा ती सामग्री राजदूत गणेश ढकाललाई प्रदान गरिएको थियो । ती सामग्रीलाई आगामी शुक्रबार श्री एयरलायन्सको विमानबाट काठमाण्डू ल्याइने भएको छ ।
अबको ध्यान खोपमा
परराष्ट्र मन्त्रालयले सहायता सामग्रीहरु प्राप्त भैरहेको जनाउँदै भाइरसको तेस्रो लहरको चुनौतिसँग जुध्न आवश्यक स्वास्थ्य पूर्वाधार खडा गर्ने जनाएको छ । साथै, मन्त्रालयले केही साताभित्रै ठूला मुलुकले दिने भनेको खोपको आपूर्तिबारे टुंगो लाग्ने समेत जनाएको छ । नेपाल प्रेससँग कुरा गर्दै संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले तेस्रो लहर अगाडि नै आवश्यक स्वास्थ्य पूर्वाधार स्थापना गर्न र खोपको आपूर्ति सुनिश्चित गर्न आग्रह गरेका छन् ।
Bloomberg figure depicts how uneven the COVID vaccine distribution is. Out of 1.65 billion plus doses administered so far (till yesterday), 1.57 billion doses (95%) are used only in 15 countries. More collaborative approach is needed, because no one is safe until we all are safe. pic.twitter.com/lWz2Ca3AEm
— Pradeep Gyawali (@PradeepgyawaliK) May 25, 2021
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मंगलबार ट्वीटमार्फत खोपको असमान आपूर्ति र वितरणप्रति असन्तुष्टि जनाएका छन् । ब्लुमबर्गको एक तथ्यांक सेयर गर्दै उनले सोमबार विश्वमा १.६५ बिलियन डोज खोप लगाइएको र त्यसको ९५ प्रतिशत ठूला १५ मुलुकले लगाएको उल्लेख गरेका छन् । ‘बढीभन्दा बढी साझेदरिता जरुरी छ । सबैजना सुरक्षित नभएसम्म कोहीपनि सुरक्षित हुनसक्दैन’ ज्ञवालीले उल्लेख गरेका छन् । कोभिड-१९ खोपको समान आपूर्ति सुनिश्चित गर्न समेत उनले आग्रह गरेका छन् ।