कोरोना जोखिम : सहरमा घट्दो, गाउँमा बढ्दो
विज्ञ भन्छन्- परीक्षण दायरा बढाउनुपर्छ
काठमाडौं । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङअनुसार ६ हजार ७ सय १४ जना मात्र नयाँ संक्रमित थपिए । मंगलबारसम्म संक्रमणदर स्थिर जस्तै थियो । यो तथ्यांकले देशभर कोरोना संक्रमणको संख्या घट्दै गइरहेको बुझाउँछ ।
काठमाडौं उपत्यकामा पनि १४ सय ९३ मात्र कोरोना संक्रमित थपिए । मंगलबारको तुलनामा यो धेरै कम हो । जबकि मंगलबार उपत्यकामा २ हजार ६ सय १३ संक्रमित थपिएका थिए ।
केही दिन यता काठमाडौं उपत्यकाका अस्पताहरूमा पनि कोरोनाका बिरामीका चाप घटिरहेका छन् । अस्पतालहरूका अनुसार हप्तादिन यता संक्रमितको चाप घटेपछि बेडहरू उपलब्ध हुन थालेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हप्तादिनअघिसम्म पनि बिरामीको चाप थेगिनसक्नुको थियो । अक्सिजन र बेड अभावका कारण आकस्मिक कक्षको गेटबाटै बिरामी फर्काउनुपरेको बाध्यता अस्पतालको थियो । तर अहिले संक्रमित बिरामीको संख्या घट्दै गएको अस्पतालका निर्देशक डा सागरराज भण्डारी बताउँछन् ।
उनका अनुसार उपत्यका र उपत्यका बाहिरबाट बिरामी आइरहे पनि भर्ना नलिई फर्काउनुपरेको बाध्यता अहिले छैन । ‘हामीले दुई चार वटा स्टेपडाउन बनाएका छौं । अहिलेका बिरामी त्यता राखिदिन्छौं । पहिलेभन्दा चाप कमी भएको पनि छ,’ डा भण्डारी भन्छन्, ‘अहिले अस्पतालमा अक्सिजन अभाव छैन । १ सय ८ बेड छन् । पुर्याएकै छौं ।’
‘सहरी इलाकामा केही घट्न सुरु भएको छ । काठमाडौं, वीरगञ्ज, पोखरा, नेपालगञ्ज लगायतका उपत्यकामा संक्रमण मत्थर भएका छन् । सहरहरूमा चाप घट्न सुरु भएको छ । तर संक्रमण गाउँ पस्यो । गाउँमा फैलने क्रममा छ,’- डा. बाबुराम मरासिनी
उनका पीसीआर परीक्षण गर्दा पनि अहिले पोटेटिभ दर ५६ प्रतिशतबाट घटेर २४ प्रतिशतमा पुगेको छ ।
ट्रमा सेन्टरमा कोभिडका १ सय २५ बेड सञ्चालनमा छन् । एक समय बिरामीको चाप बढेर १ सय ७६ सम्म पुगेको थियो । अस्पतालले धान्न नसकेर धेरै बिरामी भुइँमा बसेर उपचार गर्न बाध्य भए । तर बुधबारको तथ्यांक हेर्दा हाल ९५ जनामात्र कोभिडका बिरामी छन् ।
अस्पतालका निर्देशक डा सन्तोष भण्डारी पहिलेको तुलनामा निकै चाप घटेको बताउँछन् । ‘वैशाखको अन्तिम सातासम्म अत्यधिक चाप थियो । अहिले त्यो घटिरहेको छ,’ उनी भन्छन् । उनका उपचाररत बिरामीलाई अक्सिजनको समस्या पनि छैन ।
दैनिक मृत्यु हुनेको संख्या कुनै मसय ७ जनासम्म पुगेको अस्पतालमा आज एक जनामात्र मृत्यु संख्या छन् । ‘पछिल्लो समय २४ घण्टामा १ जनाको मात्र मृत्यु भयो सुरुको अवस्थामा बिरामी वार्डमा पनि मृत्यु भएको थियो । अहिलेचाहिँ वार्डमा पनि चाहिने मेसिन चलाइदिएका छौं । वार्डमै मृत्यु हुने संख्या पनि न्यून छ,’ डा पौडेल भन्छन् ।
वीर अस्पतालमा २ सय ३० सम्म्म पुगेको कोभिड बिरामीको चाप अहिले घटेर १ सय ४४ पुगेको छ । दिनमा १४/१५ जनाको दरले निको हुने संख्या पनि बढ्दै गएको अस्पतालको निर्देशक डा शान्ता सापकोटा बताउँछिन् । मृत्यु हुने संख्या पनि वैशाखको अन्तिम साताको तुलनामा निकै घटेको उनको दाबी छ । ‘वैशाखको अन्तिम सातासम्म बिरामीको सख्या बढेको बेला मृत्यु संख्या पनि बढेको थियो । अक्सिजन पनि अभाव थियो । अहिले मृतक संख्या ३/४ जना हुन्छ,’ डा सापकोटा बताउँछिन् ।
टिचिङ अस्पताल महाराजगञ्जमा बिरामीको चाप घटेको छ । ‘पहिला नियमित ६० जना भर्ना हुन्थे । अहिले नियमित २५ देखि ३० जना हुन्छ । ६ दिनयता घट्न थालेको छ,’ अस्पतलाका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्त कुमार दास बताउँछन् ।
उनका अनुसार मृत्यु हुनेको संख्या पनि ६ दिन अघि १० जना पुग्थ्यो भने अहिले आधा घटेको छ । अन्य अस्पतालमा पनि अहिले विस्तारै चाप घट्दै गइरहेको त्यहाँ कार्यरत डाक्टरहरू बताउँछन् ।
त्यसैगरी संक्रमणबाट निको हुने दर पनि अहिले बढेको छ । बुधबारको अपडेटअनुसार निको हुने दर ७६.९ प्रतिशत छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख एवम् जनस्वास्थ्यविद् डा बाबुराम मरासिनी संक्रमितहरू सरुदेखि नै सजग हुन थालेकाले निको हुने दर बढेको बताउँछन् । ‘पहिले धेरै मानिस सुरुमै गएर अस्पताल बसे ।
अस्पतालको शय्या कमी भएका कारण त्यो पनि हो । सामान्य अवस्था हुँदा नि गएर बसिदिए । जसलाई भर्ना गर्नुपर्ने थियो, ती आउँदा बेड पाएनन् । ढिलो गरेर जाँदा ज्यान जोखिममा पर्छ भन्ने चेतना भयो । अहिले दुई तीन दिनमै छातीको एक्स रे गराएर निमोनिया छ कि छैन भनेर आफैं पनि नियाल्न थाले । यसले गर्दा निको हुने दर बढ्यो,’ डा मरासिनी भन्छन् ।
भेन्टिलेटर र आईसीयू अभाव कायमै
बिरामीको चाप घटेका तिनै अस्पताहरूमा भने भेन्टिलेटर र आईसीयू अभाव भने कायमै छ । टेकुमा पनि गम्भीर प्रकृतिका बिरामीको व्यवस्थापन गर्न भने समस्या छ । आइसियु र भेन्टिलेर अभावले क्रिटिकल बिरामीको उपचार गर्न कठिन छ ।
ट्रमा सेन्टरमा पनि आईसीयू र एचडीयू चाहिने बिरामी धेरै छन् । ‘आज पनि हाम्रो वार्डमा ७ जनालाई आइसियु चाहिएको छ । तर हामीसँग आइसियु १० वटा छ, त्यो सबै भरिभराउ छ,’ निर्देशक डा पौडेल भन्छन् ।
वीर अस्पतालमा पनि दैनिक आइसियु चाहिने बिरामी ८ जना हुन्छन् । ती बिरामीलाई आइसियु र भेन्टिलेटर उपलब्ध गराउन समस्या नै भएको निर्देशक डा. सापकोटा सुनाउँछिन् । क्रिटिकल पेसेन्ट बढेकै छन् ।
जनरल बिरामी घटेका छन् । टिचिङ अस्पताल महाराजगञ्जको अवस्था पनि उस्तै छ । अस्पतालमा हाल आइसियुमा ५२ र भेन्टिलेटरमा २९ जना छन् । तत्काल आइसियु चाहिने ८ जना बिरामी वार्डमा छन् । ‘पाउने सम्भावना छैन । कसैको मृत्यु भयो वा कोही डिस्चार्ज नगरी व्यवस्थापन गर्न सकिन्न,’ डा. सन्तकुमार दास बताउँछन् ।
गाउँमा भने संक्रमणको जोखिम
कोरोना संक्रमणबाट निको हुने दर बढे पनि गाउँमा भने जोखिम कायमै रहेको बताउँछन् । जनस्वास्थ्यविद् डा. मरासिनी सहरी इलाकामा संक्रमणदर घट्न थाले पनि गाउँमा भने जोखिमको डर रहेको बताउँछन् ।
‘सहरी इलाकामा केही घट्न सुरु भएको छ । काठमाडौं, वीरगञ्ज, पोखरा, नेपालगञ्ज लगायतका उपत्यकामा संक्रमण मत्थर भएका छन् । सहरहरूमा चाप घट्न सुरु भएको छ । तर संक्रमण गाउँ पस्यो । गाउँमा फैलने क्रममा छ,’ डा. मरासिनी भन्छन् ।
गाउँमा जनस्वास्थ्यका मापदण्ड नअपनाएर विवाह र पूजामा भेला हुने क्रम अझै रहेकाले जोखिम बढ्ने उनको अनुमान छ । त्यसमाथि परीक्षणको दायरा पनि सरकारले गाउँ गाउँमा बढाउन नसकेको उनी बताउँछन् ।
‘गाउँमा परीक्षण हुने सम्भावना पनि एकदम कम छ । सरकारी टोली गएर स्याम्पल ल्याएर टेस्ट गर्ने अनि संक्रमित को हो, होइन भनेर छुट्यायो भने मात्र हो । पोजेटिभ भएको मान्छे पनि संक्रमितको संख्यामा अझै गनिएका छैनन्,’ उनी भन्छन् ।
सरकारले आफूसँग भएको परीक्षणको माध्यम प्रयोग गर्न नसकेको उनको गुनासो छ । ‘सरकारी कार्यक्रम नै भएन । चीनले दिएका मोबाइल पीसीआर कहाँ गए ? त्यो काम नलाग्ने बनिसकेका होला । चीनले ठूलै संख्यामा पीसीआर मेसिन मोबाइल भ्यानमा राखेर ल्याब लगे गाउँमा पीसीआरको टेस्ट गर्न सकिन्थ्यो,’ उनी भन्छन् ।
डा. सागरराज भण्डारी पनि गाउँमा परीक्षणको दायरा बढाउन नसकिएको बताउँछन् । ‘गाउँ गाउँमा टेस्ट उपलब्ध छैन । टेस्ट, आइसोलेट, ट्रिटमेन्ट यी तीन कुरामा ध्यान दियो भने महामारी तुरुन्तै कम गर्न सकिन्छ । हैन भने गाउँ गाउँमा गइरहेको हुन्छ,’ उनी भन्छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीरराज अधिकारी पनि ग्रामीण क्षेत्रमा संक्रमण बढ्दै गइरहेको स्वीकार्छन् । ‘ग्रामीण क्षेत्रमा संक्रमणको जोखिम डरलाग्दो छ । नियन्त्रण गर्ने भनेको गाउँमा क्वारेन्टिनमार्फत् हो,’ उनी भन्छन् ।
गाउँमा संक्रमण नियन्त्रण गर्न मन्त्रालयले परीक्षणको दायरा अझै बढाउने प्रयास गरिरहेको डा. अधिकारीको दाबी छ ।