दोस्रो लहरले पर्यटन क्षेत्रमा चरम संकट, व्यवसायी भन्छन्- छिटो भ्याक्सिन चाहियो ! – Nepal Press

दोस्रो लहरले पर्यटन क्षेत्रमा चरम संकट, व्यवसायी भन्छन्- छिटो भ्याक्सिन चाहियो !

काठमाडौं । गत वर्ष कोरोनाको महामारी सुरु हुँदा पर्यटन व्यवसायीले सायदै सोचेका थिए, यति ठूलो क्षति सामना गर्नुपर्ला भनेर । पहिलो लहरको कोरोना साम्य भएर पर्यटन क्षेत्र बिस्तारै चलायमान हुँदै गर्दा दोस्रो लहरले फेरि व्यवसायीलाई सुताइदिएको छ ।

पर्यटक निर्भर आधारित होटल, वायुसेवा, टूर एण्ड ट्राभल, ट्रेकिङ, यातायात, गाइड, साहसिक पर्यटनलगायतका व्यवसाय अहिले धराशयी बनेका छन् । अहिले आफ्नो कम्पनी टिकाउनै मुस्किल परिरहेको व्यवसायी बताउँछन् । साथै, पछिल्लो समय देखिरहेको कोरोनाका अन्य भेरियन्टले पनि पर्यटन व्यवसायीलाई त्रसित बनाइरहको छ ।

होटलहरुको अवस्था नाजुक

कोरोनको मार सबै व्यवसायीले खेपिरहेका छन् । तर, पर्यटकमा आधारित ठूला तथा साना होटललाई सबैभन्दा बढी मार परेको छ ।

गत वर्ष आएको कोरोनाको पहिलो लहरपछि पाँचतारे बाहेकका होटलहरुलाई आन्तरिक पर्यटकले टेको दिएका थिए । तर, कोरोनाको दोस्रो लहरपछि आन्तरिक पर्यटन पनि ठप्प छ । दोस्रो लहरले पहिलोभन्दा झनै ठूलो क्षति गरेको बताउँछन् होटल एसोसिएसन नेपाल (हान) का महासचिव साजन शाक्य । पहिलो लहरपछि दोस्रो लहर आउँला भनेर कल्पना पनि नगरेको उनको भनाइ छ ।

‘पहिलो लहरको असर कम भएपछि विस्तारै खुलेका होटलमा आन्तरिक पर्यटकको चहलपहल बढेपछि निकै आशा जागेको थियो । गत सेप्टेम्बरपछि त विदेशी पर्यटक पनि छिटफुट रुपमा आए । त्यसले हामीमा हौसला जगायो । तर दोस्रो लहरले १० खर्बको लगानी रहेको होटल व्यवसाय केही वर्ष उठ्नै नसक्ने गरी पछारेको छ,’ शाक्यले भने ।

अब तेस्रो लहरको हल्लाले व्यवसायीलाई थप चिन्तित बनाएको उनी बताउँछन् । अब पनि सरकारले नसोच्ने हो भने पर्यटन व्यवसाय मात्र होइन अर्थतन्त्रका अन्य क्षेत्र पनि ठूलो मारमा पर्ने उनको भनाइ छ ।

पर्यटन व्यवसायलाई अघि बढाउने हो भने ‘भ्याक्सिन’ को विकल्प नभएको शाक्यले बताए ।

‘सरकारले कोरोना विरुद्धको भ्याक्सिन जति सक्दो चाँडो जनतालाई दिन सक्यो, त्यति नै चाँडो हामी यो संक्रमणबाट बाहिर निस्कन सक्छौं,’ उनी भन्छन्, ‘‘यदि सरकारले भ्याक्सिन उपलव्ध नगराउने र जनताले लगाउन नपाउने हो भने पर्यटन व्यवसाय पुनः पहिलाकै अवस्थामा फर्कन वर्षौ कुर्नु पर्नेछ ।’

शाक्यको अनुभवमा सन् २०२० मा ठूला पाँचतारे होटलको करोडौं आम्दानी गुम्यो । २०२१ मा झन् ठूलो क्षति हुने अवस्था छ । यो वर्षको पहिलो सिजन समाप्त भइसकेको छ । अर्को सिजन अटम (सेप्टेम्बर टु अक्टोवर) मा पनि अहिलेसम्म कुनै बुकिङ छैन र नेपाल कोरोनाको दोस्रो लहरको संक्रमणमा गुज्रिरहेको छ । यसले आउँदो अटम सिजनमा पर्यटक आउने आश गर्ने ठाउँ नै छैन ।

तेस्रो लहर आउने कुराले कस्तो असर गर्ने हो त्यो हेर्ने र भोग्न बाँकी छ । त्यसैले २०२३ को अन्त्यसम्म पर्यटन व्यवसायीले पर्ख र हेरको स्थिति रहेको शाक्यले बताए ।

‘यदि यो बीचमा नै भ्याक्सिन आयो र नेपाली जनताले लगाउन पाए भने पर्यटन व्यवसाय ‘रिभाइभ’ हुन सक्छ,’ उनले भने ।

हानमा अहिले तीन किसिमका होटल व्यवसायी आवद्ध छन् । ठूला पाँचतारे होटल, मझौला र साना होटल । अहिले यी तिनै होटल व्यवसायी अस्तित्व संकटमा छन् ।

महासचिव शाक्यका अनुसार ठूला (पाँचतारे, चारतारे) होटलको दैनिक खर्च लाखौमा हुने गरेको छ । ठूला होटलको खर्च विषेशगरी कर्मचारीको तलव भत्ता र होटल मेन्टेनेन्समा जान्छ । लामो समय होटल बन्द भएकाले यत्रो म्यान्जमेन्ट कसरी धान्ने भन्ने पिरमा व्यवसायी छन् ।

मझौला स्तरका भर्खर खुलेका होटलको अवस्था पनि दयनीय छ । ती होटललाई बैंकको ऋण तिर्न नै सकस परेको छ । यस्तै पर्यटकमा आधारित साना होटल पनि मारमा छन् । ठमेल जस्तो मंहगो एरियाका घरमा सञ्चालित होटलहरुले मासिक भाडा तिर्न सक्ने अवस्था पनि छैन ।

राष्ट्र बैंकले ५% दरमा ठूला होटललाई २० करोडसम्म सहुलियत ऋण दिएको छ । शाक्यका अनुसार अहिलेसम्म हानमा आवद्ध ९३ वटा ठूला होटलले सो सहुलियत ऋण लिइसकेका छन् । तर यो रकमले ठूला होटललाई पर्याप्त छैन । सरकारले यी होटलका लागि ५० करोडभन्दा माथि सहुलियत ऋण दिनुपर्ने शाक्यले बताए ।

५/७ करोड लगानीमा खुलेका साना होटलले सहुलियत ऋण प्राप्त गर्न सक्दैनन् । राष्ट्र बैंकको नियमअनुसार होटल आफ्नै नाममा हुनेले मात्र उक्त ऋण प्राप्त गर्न सक्ने प्रावधान छ । त्यसैले ती साना होटलले पनि आफ्नो जायजेथाका आधारमा ऋण लिनुपर्छ । होटलले सामाजिक सुरक्षा कोषमा जम्मा गरेको पैसा यो समय होटल रिभाइभ गर्नका लागि सरकारले खर्च गर्नु पर्ने व्यवसायीको माग छ । अन्यथा तेस्रो लहर आएको खण्डमा होटल व्यवसायबाट पलायनको विकल्प नरहेको उनीहरु बताउँछन् ।

वायुसेवामा पनि संकट

पर्यटन क्षेत्रको अर्को ठूलो व्यवसाय हो वायुसेवा । ११ खर्ब लगानी रहेको नेपालको वायुसेवा अहिले ठप्पप्रायः छ ।

कोरोनाको दोस्रो लहरले वायूसेवा धर्मराइरहेको बताउँछन् वायुसेवा संचालक संघका प्रवक्ता योगराज कँडेल । उनका अनुसार नेपालका आन्तरिक वायुसेवा कोरोना महामारी अघि ४०/४५ प्रतिशत ऋणमा रहेका थिए भने अहिले त्यो ऋणको आकार बढेर ७० प्रतिशत पुगेको छ ।

अहिले नेपाली वायुसेवालाई करिब १८ देखि २० अर्बसम्मको नोक्सान भएको कँडेलले बताए । कोरोनाका कारण अझै कति समय यस्तै समस्या झेल्नु पर्नेछ भन्ने एकिन छैन । समस्या समाधानका लागि सरकारले चाँडोभन्दा चाँडो भ्याक्सिन ल्याउनु पर्ने उनी पनि बताउँछन् ।

कँडेल भन्छन् ‘सरकारले भ्याक्सिन ल्याएर ८० प्रतिशत जनतालाई नलगाइकन पर्यटन क्षेत्रको ‘रिभाइभ’ मुस्किल छ । फेरी कोरोनाको तेस्रो लहर आउँदै छ भनिदैछ । नेपालको वायुसेवाले तेस्रो लहरलाई थेग्न सक्ने क्षेमता राख्दैन ।’

ट्रेकिङ व्यवसाय ठप्प

ट्रेकिङ व्यवसाय नेपालको पर्यटन क्षेत्रको मुटु नै मानिन्छ । ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) यो क्षेत्रको छाता संस्था हो । नेपालमा आउने विदेशी पर्यटक कतै न कतै टानमा जोडिन पुग्छन् ।

अहिले कोरोनाका कारण विगत एक वर्षदेखि टानमा आवद्ध व्यवसायी र यसका श्रमिक निकै अफ्ठेरोमा परेको बताउँछन् टानका अध्यक्ष खुमबहादुर सुवेदी । उनका अनुसार पहिलो लहरको कोरोनाले छोटो समयमा पर्यटन व्यवसायलाई तहसनहस बनायो । अहिले फेरी दोस्रो लहरले अर्को धक्का दिएको छ । तेस्रो लहर आएको खण्डमा यो व्यवसाय समाप्त नै हुन वेर नलाग्ने सुबेदीले बताए ।

अहिले पनि पर्यटन व्यवसायका १७ प्रतिशत व्यवसायी पलायन भएका छन् । यस्तै क्रम धेरै समयसम्म रहे ७०/८० प्रतिशत व्यवसायी पलायन हुने अध्यक्ष सुवेदीको तर्क छ । सरकारले अहिले टानमा आवद्ध व्यवसायीलाई ‘सस्टेन’ गर्नका लगि मात्र पनि ‘ट्याक्स किल्यरेन्स’ का आधारमा २५ लाखसम्म विना धितो ऋण दिनु पर्ने उनी बताउँछन् । साथै यसमा आवद्ध श्रमिकका लागि पनि सरकारले हेर्नुपर्ने उनको भनाइ छ ।

‘सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेट नेपाल’ (सोट्टो) सोट्टोका अध्यक्ष नारायण पराजुलीका अनुसार अब नेपालमा तुरुन्त पर्यटक आउने छैनन् । सोट्टोलगायत नाट्टा, टान जस्ता पर्यटन व्यवसायीका कम्पनीहरु धेरै बन्द भएका छन् । भएका केही कम्पनी पनि घरबाट चलाउनु पर्ने अवस्था छ ।

‘सबै प्रोटोकल अपनाएर नियमित उडान भयो भने मात्र पनि हामी ट्राभलमा भएका व्यवसायी बाच्ने थियौं । तर पुनः कोरोनाको तेस्रो लहर आउँछ भनिँदैछ । यदि यो आएको खण्डमा कसरी व्यवसायमा टिकिरहनु ?’ उनी भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर