गणतन्त्र शासन पद्धति मात्र हैन, नागरिकको जीवन पद्धति हो : मुख्यमन्त्री पाेखरेल
रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गणतन्त्रले नागरिक सम्प्रभुता स्थापित गरेको बताएका छन् । उनले गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतः नागरिकमा स्थापित गरेको बताए ।
गणतन्त्र दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै मुख्मन्त्री पोखरेलले गणतन्त्र शासन पद्धति मात्र नभएर नागरिकको जीवन पद्धति भएको उल्लेख गरेका छन् । वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भई जनताका छोराछोरीहरूले शासन व्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण लामो संघर्ष र बलिदानले सम्भव भएको उनको भनाइ छ ।
‘नागरिक सार्वभौम बनेको यो दिन नेपालको राजनैतिक इतिहासको अविस्मरणीय दिन हो, यो दिन जनताको संघर्ष र बलिदानले सार्थकता पाएको दिन हो,’ उनले भनेका छन् ।
नेपालको संविधानले गणतन्त्रलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका रुपमा आत्मसात गरेको मुख्यमन्त्री पोखरेलले बताए । संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित र संस्थागत गर्न भएका प्रयासमा सबैको सार्थक सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
‘सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई अघि बढाउँदै लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन हामी दृढसंकल्पित छौं । आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न अझै प्रेरणा प्रदान गर्नेछ, शुभकामना सन्देशमा उल्लेख छ । शासन प्रणाली बलियो हुँदा नै दिगो शान्ति, सुशासन र समृद्धि हासिल गर्न सकिने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन हुँदै जाँदा नागरिकले विकास र समृद्धिको आकांक्षा पूरा गर्दै जाने उनले बताए । प्रदेश सरकार स्थापनाको तीन वर्षमा देखिने र सुनिने सरकारको रुपमा स्थापित भएको र प्रदेशको योजनाबद्ध विकासको आधार तयार भएको उनले बताए । ‘प्रदेश सरकार विकासको मेरुदण्ड हो भन्ने नागरिकले अनुभूति गर्न पाएका छन्,’ उनले भने ।
नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन र संक्रमितको उपचारमा तीनै तहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढेको मुख्यमन्त्री पोखरेलको भनाइ छ । नागरिकको जीवन जोगाउने विषयलाई उच्च प्राथमिकता दिदै राज्य संयन्त्रको प्रभावकारी परिचालन भएको उनले बताए ।
‘यो संकटको बेला उत्तेजना, आक्रोश र भडकाउमा नलागी उच्च मनोबलका साथ राज्य संयन्त्रलाई सहयोग गरौं । संक्रमित र उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग गरौं । सबैको सार्थक सहयोगबाट नै महामारीलाई जित्न सकिन्छ,’ शुभकामना सन्देशमा भनिएको छ ।
प्रदेश सरकारले चार वटा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएर कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाएको र यसका साथै जिल्ला अस्पतालहरूको स्तरोन्नतिको काम अघि बढेको उनले बताए । अस्पतालहरूका अक्सिजन प्लान्ट स्थापना गर्न बजेट विनियोजन भई काम अघि बढेको उनको भनाइ छ । अस्पतालको आवश्यकता र माग अनुसार अरु पूर्वाधार निर्माणका काम पनि अघि बढेको मुख्यमन्त्री पोखरेलले बताए ।
कोभिड-१९ को महामारीबाट नागरिकलाई जोगाउन सरकारले निषेधाज्ञा जारी गरेको र निषेधाज्ञा जारी गर्दा नै परिस्थितिलाई नियन्त्रणमा राख्न सम्भव भएको उनको भनाइ छ । कोरोनाविरुद्धको लडाइँलाई जित्न नागरिकको सजगता र सहयोगबाट सम्भव भएको उनले बताए । राज्यले कोरोनाविरुद्ध चालेका कदममा नागरिकले गरेको सहयोग प्रशंसनीय रहेको मुख्यमन्त्री पोखरेलले बताए ।
‘कोभिड-१९ महामारीविरुद्धको संघर्षमा सबै मिलेर अघि बढ्दा नै छिट्टै विजय प्राप्त गर्नेछौं ’शुभकामना सन्देशमा भनिएको छ ।