‘पहल’ पत्रकारिता कि ‘भक्तिकारिता ?’ – Nepal Press
ब्लग

‘पहल’ पत्रकारिता कि ‘भक्तिकारिता ?’

सञ्चारकर्मी कुन दिशातर्फ हिँड्दैछौं ?

९ जेठ २०७८ मा एउटा समाचारले देशका ठूलादेखि साना मिडियासम्म चर्चा पायो । प्रायः प्रकाशन प्रशारण भएका समाचारको शीर्षक थियो ‘कोभिडविरुद्ध लड्न सभामुखको पहल’ । यसै विषयलाई लिएर भोलिपल्ट सिन्धुपाल्चोकका पनि विभिन्न सञ्चारमाध्यमले आफ्नो अनुकुलता र भाषा प्रयोग गरेर थप विवरणसहितको समाचार प्रकाशन प्रशारण गरे । त्यसको मूल शीर्षक थियो– सभामुख सापकोटाको विशेष पहलमा चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना । लगत्तै सोही समय अर्को समाचार पनि प्रकाशन÷प्रशारण भयो ‘पूर्वमन्त्री तामाङको पहलमा जडान हुने भयो अक्सिजन प्लान्ट’ ।

सभामुख अग्निप्रसाद सापकोटातर्फको समाचारको मूलभूत आशय छ– ‘सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । सभामुख सापकोटाको बिशेष पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नको लागि ७५ लाख बिनियोजनको लागि अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ । मन्त्रालयले आइतबार अर्थ मन्त्रालयलाई स्रोत सुनिश्चितताको लागि पत्र काटिसकेको छ ।’

त्यस्तै पूर्व कानुन मन्त्री शेरबहादुर तामाङतर्फको समाचारको मूलभूत आसय छ– ‘पूर्वमन्त्री शेरबहादुर तामाङको पहलकदमीपछि जिल्ला अस्पताल चौतारामा अक्सिजन प्लाण्ट जडानका लागि आवश्यक उपकरण र सामग्री खरीद प्रक्रियामा गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्लाण्ट जडान गर्न विभिन्न ५ जिल्लाका अस्पताल छनोट गरेको र पूर्वमन्त्री तामाङको पहल र प्रस्तावमा जिल्ला अस्पताल चौतारा पनि छनौटमा परेको हो ।’

सिन्धुपाल्चोकबाट निर्वाचित भइ संघ र प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको सूची लामै छ । सभामुखदेखि मन्त्री, पूर्वमन्त्री, सांसदको रुपमा थुप्रैलाई सिन्धुपाल्चोकले जन्माएको छ । तर सिन्धुपाल्चोकमा कोरोना दोस्रो लहरको कहरकाबीच १४ बढीको मृत्यु भइसकेको र १६ सय भन्दा बढी संक्रमित रहेको अवस्थामा एउटा पनि अक्सिजन प्लान्ट नहुनु र उपचारको लागि अन्यत्र लैजानुपर्ने बिडम्वना छ ।

यसलाई मध्यनजर गर्दै अघिपछि ‘पहल’ मात्रै गर्ने सभामुख अग्निप्रसाद सापकोटाले ‘विशेष पहल’ गर्दै मिति २०७८÷०२÷०६ मा ‘आवश्यक अक्सिजन उपलब्ध गराउन र अक्सिजन प्लान्ट स्थापनाका लागि समन्वय गर्न, तत्कालका लागि १ सय थान भरिएको अक्सिजन सिलिण्डर, २ हजार थान एन्टिजेन किट उपलब्ध गराउन’ स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको पत्रसमेत राखि स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई पत्र पठायो ।

यता प्रतिनिधिसभा सदस्य एवम् पूर्वकानुन मन्त्री शेरबहादुर तामाङले ‘विशेष पहल’ गरेरै मिति २०७८/०१/२५ मा ‘कोरोनाको उपचारमा अक्सिजनको अति आवश्यक भएकाले जिल्लाले नै अक्सिजन सिलिण्डरको व्यवस्थापन विविध तरिकाले भैरहेको तर अक्सिजन भर्ने व्यवस्था नहुँदा जिल्लामा धेरै समस्या परिरहेकोले जिल्ला अस्पताल चौतारामा एउटा अक्सिजन प्लान्ट निर्माण जरुरी भएकोले सो को व्यवस्थापनका लागि अनुरोध छ’ भन्दै स्वास्थ्य मन्त्रीलाई पत्र लेखे ।

अन्ततः कोरोनाको महामारीलाई ध्यानमा राख्दै मिति २०७८/०२/०९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका ७ वटा अस्पतालमा अक्सिजन प्लान्ट जगान गर्न स्रोत सुनिश्चितताको लागि अर्थ मन्त्रालयलाई पत्र पठायो । लगत्तै १० गते अर्थ मन्त्रालयले अन्य ६ अस्पतालसहित चौतारा अस्पताललाई अक्सिजन ट्याङ्क खरिद र जडानको लागि ७५ लाख विनियोजन भएको जानकारी स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई दियो ।

यसपछि सुरु भयो राजनीति र मिडियाबाजी । अब आमनागरिकमा दुविधा देखियो कि कस्ले र कस्का कारण अक्सिजन प्लान्ट स्थापना हुने भयो । कुनै मिडियामा सभामुखको ‘विशेष पहल’ मा भनियो, कुनै मिडियामा पूर्व मन्त्रीको ‘पहल’ मा भनियो । यसले आम नागरिकमा भ्रम मात्र पैदा गरेन, मिडियाको विश्वसनीयता माथी समेत प्रश्न खडा गर्यो ।

मूख्यतः संकटमा नागरिकको सुरक्षा गर्नु राज्यको पहिलो दायित्व हो । सोहि दायित्व अनुरुप अक्सिजन प्लान्ट स्थापनाको लागि बजेट विनियोजन भएको हो । नेपाल सरकारको ढुकुटी र नेपालीले तिरेको करबाटै स्वस्थ्य मन्त्रालयको सिफारीसमा अर्थ मन्त्रालयले आवश्यक्ताअनुसार बजेट विनियोजन गरेको भन्ने माथिको कुराले प्रस्ट्याउँछ । यसमा राजनीति गर्नुपर्ने र मिडियाबाजी गर्नुपर्ने कुरै छैन ।

जो ‘पहल’ को विषय छ । नागरिकले मतदान गरेर निर्वाचित गरेका प्रतिनिधिहरुको मूख्य कर्तव्य भनेकै नागरिकको ‘सुख दुःखको सारथि’ बन्नु हो । संकटमा नागरिकको पक्षमा लागि पर्नु नौलो कुरा होइन । यो उनीहरुको कर्तव्य नै हो, मतको सम्मानका लागि पनि निर्वाचित प्रतिनिधिहरुले नागरिकको सुख दुःखमा साथ दिनैपर्छ ।

‘पहल’ पत्रकारिताको पराकाष्ठा

पत्रकारिता पेशा हो, व्यवसाय होइन । यो मर्यादा, जवाफदेहिता र उत्तरदायित्वसहितको पेशा हो । कानुन व्यवसायीले गर्ने वकालतजस्तो कानुनी व्यवसाय होइन । उद्योगी व्यवसायीले गरेजस्तो उद्योग व्यवसाय पनि होइन । पत्रकारिता त उच्च नैतिकतासहितको आस्था, विश्वास र प्रतिबद्धता हो ।

तर अहिले ‘पहल’ पत्रकारिताले पत्रकारिताको सर्वोच्चतालाई खस्काइदिएको छ । माथिको अक्सिजन प्लान्ट स्थापनाकै कुरालाई हेर्ने हो भने ‘पहल’ पत्रकारिताले समाजलाई दुई क्षेत्रमा फाटो गराईदिएको प्रष्ट देखिन्छ । एकातर्फले सभामुख नै सर्वेसर्वा हो र उनकै कारण अक्सिजन प्लान्ट स्थापना भएको भन्ने अफवाह फैलाउन मद्धत पुर्याएको छ भने अर्कोतर्फ पूर्व मन्त्रीकै कारण यो सम्भव भएको हो र उनै महान हुन भन्ने दर्शाउन सफल भएको छ ।

त्यसो त कुनै उच्चपदस्थ व्यक्तिहरुले गर्ने ‘पहल’ ले समाजलाई फाईदा पुर्याउँदैन । नागरिक र समुदायलाई तबमात्र फाईदा पुग्छ जब ‘पहल’ हैन काम गरिन्छ । उदाहरणको लागि १७ साउन २०७१ मा सिन्धुपाल्चोकको जुरेमा भीषण पहिरो गयो ।

लगत्तै पहिरो स्थल पुगि जिल्लाबाट प्रतिनिधित्व गरेका तत्कालीन सभासदहरु अग्निप्रसाद सापकोटा, मोहनबहादुर बस्नेत, अमृतकुमार बोहोरा, शेरबहादुर तामाङ, रमेश लामाले पीडितको उद्दार, व्यवस्थापन र आवासको लागि ‘पहल’ गर्ने प्रतिबद्धता जनाए । मिडियाहरुले ‘…को पहलमा यस्तो हुने’ भनेर प्रचार गरे । जो जुन खेमाको पत्रकार छ उहि अनुरुप ‘पहल’ का समाचार बनाए । पहलकारिता गरे । तर उनीहरुले ‘पहल’ पीडितहरुको मल्हम बन्न सकेन । स्वस्फूर्त रुपमा पीडितहरुलाई देश विदेशबाट सहायता जम्मा भयो ।

तीन महिना पुग्दा नपुग्दै कोषमा २ करोड २४ लाख रुपैयाँ जम्मा भयो । तर पहिरो गएको झण्डै ७ वर्ष पुग्न लाग्दासमेत पीडितहरुले सो रकम पाउन सकेका छैनन् । उनीहरु अझै टहरामै जीवन गुजारिरहेका छन् । जसले पहिरो लगत्तै उद्दार, व्यवस्थापन र आवासको लागि ‘पहल’ गर्ने प्रतिबद्धता जनाएका थिए उनीहरु अहिले पनि साहयता रकम बाँड्न ‘पहल’ गरिरहेका छौं भन्दै आईरहेका छन् ।

त्यस्तै सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ लिदीमा २०७७ साउन ३० गते भीषण पहिरो गयो । मर्ने त मरिगए बाँचेकाहरु अहिले बाँसखर्कमा अस्थायी टेन्टमा बसिरहेका छन् । यो बीचमा सो अस्थायी टेण्टमा सभामुख अग्निप्रसाद सापकोटा ७ पटक पुगिसकेका छन् । उनी जतिपटक जाँदा पनि स्थायी आवास, जीविकोपार्जन सहितको व्यवस्थापनको लागि आपूmले ‘पहल’ गरिरहेको बताउँदै आएका छन् । मिडियाहरुले ‘सभामुखको पहलमा’ भन्न छोडेका छैनन् । यता पीडित भने हुरी बतास, भोक प्याससँग संघर्ष गरिरहेका छन् । सभामुखको ‘पहल’ले त्यहाँका भोकाहरुको पेट भरिएको छैन न त ‘पहल’ पत्रकारिताले ।

यस्ता थुप्रै उदाहरण छन् ‘पहल’ पत्रकारिताका । यस्तोखाले पत्रकारिताले समाजको हित गर्दैन । यसकारण पत्रकारिता पेशालाई थप मर्यादित बनाउन जरुरी देखिन्छ ।

सञ्चारकर्मी कुन दिशातर्फ हिँड्दैछौं ?

पत्रकारितामा प्रचलित एउटा भनाइ छ, ‘सरकार बिनाको राज्यको कल्पना गर्न सकिन्छ तर पत्रकारिता बिनाको राज्यको कल्पना पनि सकिँदैन’ । कुनै पनि समाज र मुलुकमा पत्रकारिता कति अपरिहार्य छ भन्ने दर्शाउन यति एउटा भनाइ काफी छ । अझ संकटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको हुन्छ । मुलुक स्वास्थ्य संकटबाट गुज्रिरहेको छ । यस्तो समयमा पत्रकारिता क्षेत्रको भूमिका झनै महत्वपूर्ण रहन्छ ।

पत्रकारिता यस्तो पेसा हो, जसमा इमान, आदर्श र नैतिकताको अन्य पेसामा भन्दा बढी महत्व र अर्थ रहन्छ । पत्रकार समाजको विशिष्ट व्यक्ति हो, कारण, ऊसँग समाज र राज्यका धेरैजसो विषयको ज्ञान हुन्छ, सूचना हुन्छ । उक्त सूचनाको दुरूपयोग भएमा राज्य र समाजमा हिंसा, द्वन्द्व र अराजकता फैलिन सक्छ । समाज विखण्डन हुन सक्छ यस कारण पनि पत्रकार समाज, राज्य र समाजका वा राज्यका मानिसप्रति सदैव सचेत, संवेदनशील र जिम्मेवार हुन जरुरी छ ।

तर यहाँ त्यसो भएको पाईदैन । पत्रकारिताको मर्ममाथिनै प्रहार भइहेको देखिन्छ । राजनीतिक दल, व्यापारी, अभियानकर्ता, अन्य केही समूहहरुले पत्रकारितालाई आफ्नो पक्षमा प्रयोग गरेको पाइन्छ । त्यसमा पत्रकारहरु मौन रहनु र ‘पहल’कारितामा रमाउनु संवेदनशील विषय हो । ‘प्रलोभन’मा परेर पत्रकारहरु पत्रकारिता कम र ‘पहल’कारिता, ‘पार्टी’कारितामा लाग्नु नेपाली सञ्चार क्षेत्रको विडम्बना हो ।

पत्रकारितालाई ‘पार्टी’कारितामा ढाल्ने काम राजनीतिक दलबाट भइरहेको भनेर प्रचार गरिँदै आइएको छ । कुनै हदसम्म त त्यो सत्य नै होला वास्तवमा त्यसो होइन, राजनीतिक दलहरुको भक्ति गाउनेहरुले आफूलाई पत्रकार भनेर चिनाउँदा समस्या उत्पन्न भएको हो । उनीहरुले पार्टीको प्रचार गर्ने काम मात्र गरेका हुन् तर आफूलाई पार्टीको कार्यकर्ता भन्दा उनीहरुलाई अप्ठ्यारो परेकाले उनीहरुले आफूलाई पत्रकार भनेर भनिरहँदा साँच्चिकै पत्रकारिता गर्नेहरुलाई भने समस्या उत्पन्न भएको हो ।

अहिलेका पत्रकारमा अध्ययन छैन, न त शैक्षिक, न त व्यवहारिक । आफूलाई पत्रकार भनेर चिनाएपछि केही बार्गेनिङ गर्न पाइने, केहीको भोजमा सम्मिलत भएर पेट भर्न पाइने भएपछि आफूलाई पत्रकारको लाइनमा राख्नेहरु अधिकांश भेटिन्छन् । आजका हरेकजसो मिडिया र प्रायः पत्रकार कुनै न कुनै राजनीतिक दल, दलका नेता, व्यापारी, माफिया आदिका अघोषित समर्थन र नियन्त्रणमा छन् ।

यी र यस्ता गतिविधिले अब पत्रकारिताको भविष्य कता जादैछ ? भन्ने प्रश्न खडा गरेको छ । तसर्थ अब आपूmलाई सञ्चारकर्मी हुँ भन्नेहरुले आपूm कुन दिशातर्फ हिँडिरहेको छु भन्ने पूर्णतः ख्याल गर्न जरुरी छ । तब मात्र सञ्चार क्षेत्रमा भएका यावत समस्याहरुलाई न्यूनिकरण गर्न सकिन्छ । यो सँगै सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न र बदनाम हुनबाट रोक्न सरकार, प्रेस काउन्सिल, सूचना विभाग, पत्रकार महासंघजस्ता निकायले महत्वपूर्ण भूमिका खेल्न जरुरी छ । र, पत्रकारिता पेसा बदनाम हुनबाट जोगाउनु जरुरी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *