अस्पतालको उपचारबाट सन्तुष्ट स्थानीय – Nepal Press

अस्पतालको उपचारबाट सन्तुष्ट स्थानीय

सुर्खेत । केहीदिन पहिले जाजरकोट आठविसकोट– ६ का जयबहादुर रोकायालाई दुई दिन बोकेर उपचकारका लागि चौरजहारी अस्पताल ल्याइयो । एन्टेजिन विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेभेटिभ आयो । अनि उनको उपचार थालियो ।

आन्द्रा फुटेर पेटभित्रै दिसापिसाब भइरहेका रोकायालाई अस्पतालका ६ जना चिकित्सकको टोली उपचार गरे । अहिले उनको अवस्था सामान्य भएको चिकित्सक कालेबकुमार बुढाले बताए ।

निषेधाज्ञाकै बीच राम्रो उपचार पाएर रोग निको भएकाप्रति रोकाया खुसी छन् । भन्छन्– नयाँ जीवन दिनुभएकोमा डाक्टरहरुलाई धन्यवाद दिन्छु ।

रोकाया मात्रै होइनन्, जाजरकोट, डोल्पा, सल्यान र रुकुम पीश्चमका नागरिक चौरहजारीको उपचारबाट लाभान्वित छन् ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु कोरोना महामारीबीच नागरिकको उपचारमा सक्रिय छन् ।

‘अचेल अस्पतालामा दैनिक डेढ सय भन्दा बढी विरामी उपचार गर्न आउँछन्’, डा कालेभ भन्छन्, ‘कोरोना महामारीअघि दैनिक तीन सयसम्मले यहाँ उपचार गर्थे ।’

यहाँ अपेन्डिक्स भएकाहरु, हाडजोर्नीसम्बन्धी, प्रसूती, आन्द्रा फुटेको, दाँत, आँखासम्बन्धी, निमोनिया तथा झाडापखाला, दमलगायतका रोगीहरु उपचारका लागि आउने गरेका छन् ।

अस्पतालमा अहिले एक सय सिलिण्डर अक्सिजन छ । प्रदेश सरकारले पनि यो अस्पताललाई कोभिड विशेष अस्पताल भनेर घोषणा गरेको छ । सामुदायिक अस्पताल भए पनि सरकारले गत वर्ष एक करोड पचास लाख रुपैयाँ दिएको थियो । उक्त रकम कोरोनाका विरामीलाई उपचार गर्न, अन्य स्वास्थ्य सामग्री खरिद गर्न काम भएको अस्पताल प्रशासनको भनाइ छ ।

यसका अलावा अस्पतालले आफ्नै लगानीमा डेढ करोडको लगानी गरेर अक्सिजन प्लान्ट खोल्ने तयारी गरेको छ । यसका लागि टेण्डर आह्वान भइसकेको डा. बुढाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *