माधव नेपाललाई प्रश्न- आफ्नो १५ वर्षे कार्यकाललाई फर्किएर हेर्ने कि ?
नेपालमा वामपंथीको वर्चस्व छ । विश्व परिप्रेक्ष्यमा वामपंथी आन्दोलन रक्षात्मक अवस्थामा हुँदा पनि नेपालमा वामपंथीको उपस्थिति २०४७ सालयता सडक वा सदनमा उल्लेख्य छ ।
२००६ साल वैशाख १० गते विदेशी भूमीमा पुष्पलाल श्रेष्ठसहित पाँच जनाले गठन गरेको नेपाल कम्युनिष्ट पार्टी अहिले झन्डै एक दर्जन बढी पार्टीमा विभाजित छ । पार्टी स्थापनाकालको एक वर्ष नबित्दै शुरु भएको राजनीतिक, संगठनात्मक विवाद २०१७ सालपछि विभाजन र फुटको पर्याय बन्यो ।
व्यक्तिपिच्छेका समूहमा आक्रान्त कम्युनिष्ट आन्दोलन २०४७ सालमा जब नेकपा (एमाले) गठन भयो, त्यसपछि मात्र विभिन्न समूहहरू पार्टीमा विकास हुँदै आएका देखिन्छन् । रणनीति र कार्यनीतिक हिसाबले पनि एकमत हुन नसकेको कम्युुनिष्ट आन्दोलन २०४७ सालयता मूलत स्पष्ट दुई धारमा विभाजन भएको देखिन्छ ।
नेकपा(एमाले)ले अख्तियार गरेको शान्तिपूर्ण संघर्षको कार्यनीति र नेकपा (माओवादी)ले अख्तियार गरेको दिर्घकालीन सशस्त्र विद्रोहको कार्यनीति । जुन कार्यनीतिका कारण दुई पार्टीबीचमा एकले अर्कोलाई रुपान्तरण गर्ने प्रक्रिया लामै चल्यो ।
पछिल्लो समयमा वामपंथी विचार बोक्नेहरुको भौतिक शरीर जहाँ र जुनसुकै पार्टीमा भएपनि वैचारिक हिसाबले सबै वामपंथी दल नेकपा (एमाले)कै विचारको नजिक रहेको यथार्थ छ ।
२०५२ सालमा नेकपा माओवादीद्वरा संचालित एक दशक लामो सशस्त्र विद्रोहको ‘असफलता’पश्चात माओवादी पार्टी शान्ति सम्झौता गर्न वाध्य भयो । युद्ध शान्तिमा रुपान्तरण भएयता नेपालका सबै वामपन्थी दल नेकपा(एमाले)ले विकास गरेको जनताको बहुदलीय जनवाद र त्यसले अख्तियार गरेको शान्तिपूर्ण संघर्षको र सहकार्यको बाटोमा यात्रा गरिरहेका छन् ।
पछिल्लो समयमा वामपंथी विचार बोक्नेहरुको भौतिक शरीर जहाँ र जुनसुकै पार्टीमा भएपनि वैचारिक हिसाबले सबै वामपंथी दल नेकपा (एमाले)कै विचारको नजिक रहेको यथार्थ छ ।
आत्मकेन्द्रित सोच र माधव नेपाल
सिद्धान्त, संगठन र नेतृत्वको उचित छनौट र व्यवस्थापनले मात्र आमजनताले पार्टीलाई देख्ने, बुझ्ने र अनुभुति हुने बनाउन सकिन्छ । जब पार्टीका कामहरु आमजनताका सरोकारका विषय बन्दछन्, अनि मात्र त्यो पार्टी लोकतान्त्रिक पार्टी बन्न सक्छ । नेपालको सन्र्दभमा नेपाली कम्युनिष्ट आन्दोलन आमरुपमा देखिने बुझिने छ । तर पार्टीको शीर्ष तहमा बसेका नेताहरुको व्यवहार, स्वभाव र शैली अलोकतान्त्रिक र जडतामा जकडिएको देखिन्छ ।
लामो समय पार्टीको नेतृत्वमा रहिरहन अनेकन खालका प्रपञ्च गर्ने, आफू प्रमुख नेता नहुँदा कार्यकर्ता स्तरमा आफ्नै सहकर्मीविरुद्ध विषवमन गर्ने जस्ता क्रियाकलाप विगतदेखि हुँदै आएका छन् । परिणामस्वरुप नेपालको कम्युनिष्ट आन्दोलनमा थुप्रै टुटफुट र विभाजन भए, जुन जारी छ ।
२०४७ सालअघि विचार, दृष्टिकोण, परिस्थति र परिवेशलाई हेर्ने कुराको विषयलाई बहस गर्दै एकता र विभाजन हुँदै आएका नेपालका कम्युनिष्ट पार्टीहरुमा अहिले व्यक्तिको कुण्ठा, महत्वकांक्षा र पदको लालसाका कारण विवाद हुने गरेको छ ।
नेकपा(एमाले), जसले पहल कदमी, प्रतिस्पर्धा र सामूहिक लोकतान्त्रिक अभ्यासबाट नेतृत्वको छनौट गर्ने प्रणाली अवलम्बन गर्दै आएको छ । एमालेका तत्कालीन पार्टी महासचिव मदनकुमार भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवाद(जबज)लाई मार्गदर्शक सिद्धान्तको रुपमा अंगिकार गर्दै आएको छ ।
कमरेड मदन भण्डारीको रहस्यमयी दुर्घटनामा परी निधन भएपश्चात् कार्यबाहक महासचिवको जिम्मेवारी पाएका क.माधव नेपाललाई करिब पन्ध्र वर्ष प्रमुख नेताको भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुँदा पनि पार्टीले गति लिन सकेन । कमरेड मदनको नेतृत्वमा निर्माण भएको विशााल पार्टी माधव नेपाल नेतृत्वमा हुँदा विस्तारै खुम्चिन शुरु भयो ।
फरक मत राख्ने नेता, कार्यकर्ताप्रति असहिष्णु माधव नेपाल नेतृत्वमा हुँदा कम्युनिष्ट आन्दोलनमा लामो इतिहास बोकेका धेरै नेताहरु भूमिकाविहीन बन्न पुगेका थिए ।
२०४७ सालअघि विचार, दृष्टिकोण, परिस्थति र परिवेशलाई हेर्ने कुराको विषयलाई बहस गर्दै एकता र विभाजनहुँदै आएका नेपालका कम्युनिष्ट पार्टीहरुमा अहिले व्यक्तिको कुण्ठा, महत्वकांक्षा र पदको लालसाका कारण विवाद हुने गरेको छ ।
सानो घेरा र व्यक्ति प्रशंसामा रमाउने व्यवहारका कारण माधव नेपाल पार्टी प्रमुख हुँदा धेरै नेताहरु राजनीतिबाट नै विश्राम लिन वाध्य भएका थिए । माधव नेपालको व्यवहारकै कारण २०५४ सालमा पार्टी विभाजन भयो र ठूलो कार्यकर्ता पंक्तिले पार्टी परित्याग समेत गरे, जसले माओवादी आन्दोलनलाई बल पुगेको थियो ।
२०५९ सालमा राजा ज्ञानेन्द्र शाहले चालेका निरंकुश कदमविरुद्धको आन्दोलनमा पार्टी पंक्तिलाई सही दिशानिर्देश गर्न नसकेका कारण नेकपा एमालेले ‘न भाले न पोथी’ को आरोप खेप्नुपर्यो । परिस्थितिअनुसार दृष्टिकोण बनाउन नसक्ने र समयमा निर्णय दिन र लिन नसक्ने क्षमताको अभावका कारण क.माधव नेपाल नेतृत्वमा हुँदा एमालेले धेरै क्षति ब्यहोर्नु परेको इतिहास छ ।
२०६४ सालको संविधानसभाको निर्वाचनमा पार्टीले लज्जास्पद परिणाममा चित्त बुझाउनु परेको थियो । नेपालको समकालीन नेताहरु बीच खेल्न सिपालु स्वभावका कारण नेता बन्न सफल भएपनि पार्टीले कहिल्यै सफलता प्राप्त गर्न सकेन । २०५२ सालमा नेकपा माओवादीले तथाकथित जनयुद्धको नाममा सशस्त्र विद्रोह शुरु गरेर देशभर नेकपा एमालेका कार्यकर्ताको विभत्स हत्या गर्यो । तर पार्टीले माओवादी पार्टीलाई हेर्ने दृष्टिकोण समयमा बनाउन नसक्दा धेरै एमालेका कार्यकर्ता ज्यान जोगाउनकै लागि सशस्त्र द्वन्द्वमा सामेल भए, जसकारण एमालेका व्यवस्थित संगठनहरु तहसनहस भए ।
२०६४ सालमा माधवकुमार नेपालले महासचिवबाट राजीनामा गरेपश्चात कमरेड झलनाथ खनाल कार्यबाहक हुँदै निर्वाचित पार्टी अध्यक्षसम्म पुग्दा २०७० सालमा संविधानसभाको दोस्रो चुनाव भयो । उक्त चुनावमा पार्टीले दोस्रो स्थान हाँसिल गर्यो । माधव नेपाल नेता हँुदा अस्तव्यस्त भएका पार्टी कमिटी र कार्यकर्तामा गिरेको मनोवल २०७० को चुनावको परिणामपश्चात मात्र कलिकति बढ्यो ।
२०७१ सालमा पार्टीको नवौं महाधिवेशन सम्पन्न भयो । महाधिवेशनले कमरेड केपी ओलीलाई अध्यक्षमा विजय गरायो र कमरेड माधव नेपाललाई पराजय गरायो । तर माधव नेपालले आफूलाई कहिल्यै पराजय भएको अध्यक्ष भन्दा पनि छायाँ अध्यक्षको रुपमा पार्टीपंक्तिमा व्यवहार देखाउँदै आए ।
उनले पार्टीले गरेका निर्णयविरुद्ध मिडियामा बोल्ने, नेतृत्वलाई चुनौती दिने र स्थानीय कमिटीहरुमा समेत आफ्ना प्रतिनिधि तयार पार्ने काम गरिरहे । २०७२ सालमा पार्टी अध्यक्ष कमरेड केपी ओलीको नेतृत्वमा पार्टीले सरकारको नेतृत्व गरिरहँदा भारतीय नाकाबन्दीको सामना गर्नुपर्यो ।
फरक मत राख्ने नेता, कार्यकर्ताप्रति असहिष्णु माधव नेपाल नेतृत्वमा हुँदा कम्युनिष्ट आन्दोलनमा लामो इतिहास बोकेका धेरै नेताहरु भूमिकाविहीन बन्न पुगेका थिए ।
भारतको नाकाबन्दीविरुद्ध दृढतापूर्वक उभिँदै चिनसँग पारवहनसन्धि जस्ता महत्वपूर्ण कामले पार्टी र कमरेड केपी ओलीको लोकप्रियता बढ्यो । परिणामः २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्यो ।
स्थानीय तहको निर्वाचनमा पार्टी पहिलो भएकोमा खुसी हुने भन्दा केपी ओलीको व्यक्तित्व लोकप्रिय भएकोमा दुखी हुने आत्मा धेरै थिए र ती आत्माहरुको नेतृत्व गर्ने काम माधव कमरेडबौ भयो ।
नेकपा निर्माण र एमाले पुनःस्थापना पश्चात्
स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको अपार सफलता र नेकपा माओवादी केन्द्रको पराजयपछि नेपालको राजनीति वृतमा प्रचण्ड रक्षात्मक स्थितिमा पुगेका थिए । राजनीतिक व्यपारीको उपमा पाएका प्रचण्डले समेत जित्न सक्ने निर्वाचन क्षेत्रको सुनिश्चिता थिएन ।
संघ र प्रदेशको चुनावमा पार्टीको अस्तित्व राख्नका निम्ति प्रचण्डका निम्ति हम्मेहम्मेको परिस्थति निर्माण भएको थियो । त्यहीं परिस्थितिमा नेकपा एमालेसंग पार्टी विलय गराएर भए पनि प्रचण्ड संघको माननीय हुने दाऊमा थिए । त्यसका निम्ति नेकपा एमालेका अध्यक्ष ओलीसँग मित्रताका निम्ति भित्रभित्र वातावरण तयार पारिरहेका थिए । जुन कुरालाई उनी पहिलो भेटमै सूर्य चिह्नमा निर्वाचन लड्न तयार भएको कुराले प्रष्ट पार्छ ।
तर पछि नेपाली कांग्रेसले एमालेको भन्दा धेरै प्रतिशत दिने कुरा गर्दा उनी सूर्य चिह्नमा चुनाव लड्ने सम्भौताबाट पछि हटेका थिए । परिणाम चुनावी तालमेल मात्र भयो र चुनाव चिह्न आ–आफ्नै पार्टीका गरी संयुक्त उम्मेदारीसहित संघ र प्रदेशको निर्वाचन सम्पन्न भयो । जसमा सूर्य चिह्नबाट लडेका उम्मेदारहरुले जिते, हँसियाहथौडाबाट लडेका उम्मेदवार अधिकांश पराजित भए । जुन परिणामले पार्टी एकताका निम्ति वातावरण तयार पारेको थियो । साथै नेपालको राजनीतिमा जनमोर्चा र नेमकिपाको अवस्थामा पुगेको नेकपा माओेवादी केन्द्रका निम्ति एमालेसँगको चुनावी तालमेलले जीवनबुटीको काम गर्यो ।
नेकपा एमालेको संगठन र सूर्य चिह्नप्रतिको जनताको आस्था देखेर लोभिएका प्रचण्ड सजिलै पार्टी एकतामा सहमत भएका थिए । २०७५ जेष्ठ ३ गते पार्टी एकता भयो, जुन एकता माधव नेपालले हृदयदेखि स्वीकार गरेका थिएनन् र उनीमा तत्काल एकताको विरोध गर्ने सामथ्र्य पनि थिएन । पार्टी एकताको एक वर्ष नवित्दै प्रचण्डमा भएको पदको महत्वाकांक्षा र अस्थिर स्वभाव माधव नेपालका निम्ति केपी ओली ढाल्ने हतियार थिए ।
त्यस्तै माधव नेपाल भित्र रहेको केपी ओलीप्रतिको कुण्ठा, इष्र्या र जलन प्रचण्डका निम्ति केपी ढाल्ने हतियार थिए । जुन हतियारहरु प्रयोग गरी केपी ओलिलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष समेतबाट हटाउन ठूलो र्मोचा बन्यो । आफ्नै पार्टीको सरकार र पार्टी अध्यक्ष ढाल्न सडक–सदनमा गज हँसाउने खेल भयो । तर केपी ओलीको दृढताका अगाडि उनीहरुको खेल सफल भएन ।
२०७७ फागुन २८ गते सर्वोच्च अदालतको फैसलाले पूर्ववत् पार्टीको अस्तित्व पुनः जीवित गर्यो । एकता अघिका पार्टीहरु पुनः स्थापित हुँदा फर्किन चाहनेहरु फर्किन पनि सक्थे, नफर्किन नचाहने नफर्किन पनि सक्थे । एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आ–आफ्नो पार्टीको नेतृत्व गर्न साविकका पार्टी फर्किए तर एमालेका वरिष्ठ नेताद्वयमा कहाँ जाने भन्ने अन्योल देखियो ।
एमाले हुन नसक्ने प्रचण्डलाई छाड्न नसक्ने रोगबाट ग्रस्त नेताद्वयको पहिलो काम एमालेको संगठन भताभुङ्ग गर्ने र विस्तारै प्रचण्डकरण हुने रणनीतिका साथ एमालेको किनारमा उभिएका थिए । त्यसका उदारण हुन्, वागमती प्रदेशमा भएको राष्ट्रियसभाको निर्वाचनमा गरेको घात, नेपाली कांग्रसेका सभापतिलाई प्रधानमन्त्री बनाउन २३ जनाले गरेको हस्ताक्षर प्रकरण र कर्णालीमा गरेको फ्लोरक्रस । यस्ता अपराधले माधव नेपालको नियत के हो भन्ने कुरा प्रस्ट हुन्छ । एमाले कमजोर हुँदा मात्र आफू बलियो भइन्छ भन्ने मान्यताबाट ग्रसित माधव समूह अहिले तलदेखि माथिसम्म हात धोएर लागेको छ ।
यो सत्य नै हो कि, नेकपा(एमाले)नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रबाह हो । जुन पार्टीसंग मार्क्सवादको नयाँ संस्करणको रुपमा विकास गरेको जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्त छ । इतिहासको कुनामा थन्किन वाध्य नेपालका वामपंथीहरुका निम्ति जबजले रक्षा कवचको काम गर्दै आएको छ ।
उग्रता र जडतामा रन्थनिएको नेपाली कम्युनिष्ट आन्दोलन जबजको विकासपछि नेपालमा फूल्न र फक्रिन थालेको हो । नेपालमा भएका सबै प्रगतिशील आन्दोलनहरुको नेतृत्व गर्दै आएको पार्टी एमाले हो । यस पार्टीको नेतृत्वतहमा बसी लामो समय काम गरेका माधव नेपाल र झलनाथ खनालमा देखिएको राजनीतिक विचलन व्यक्ति कुण्ठाको पराकाष्ठाबाहेक अरु केही होइन । आफू पार्टीको प्रमुख नेता हुँदा पार्टीलाई सही मार्गमा हिडाउँन नसक्ने, अरु नेता हुँदा पार्टीले गरेको प्रगति सहन नसक्ने विकृत प्रवृति नै माधव नेपालको मुल समस्या हो ।
नेकपा एमालेविरुद्ध अहिले गरेका कामले नेताद्वयले विगतमा गरेका सबै कामहरु मेटिएका छन् । अथवा माधव समूहमा लागेका केही व्यक्ति अहिले ‘भुइँको टिप्ने स्वार्थमा खल्तीको खसाल्दै’ छन् ।
सहि कुरा हो। शुभ प्रभात नमस्कार