विभेदले पोलेको मन र छुटेको सम्बन्ध – Nepal Press
सन्दर्भः जातीय विभेदमुक्त राष्ट्र घोषणा दिवस

विभेदले पोलेको मन र छुटेको सम्बन्ध

रामेछापको एक औसत गाउँमा जन्मिएँ । हिन्दू धर्मावलम्बी नेवार समुदायको निम्नमध्यम वर्गाीय परिवारमा जन्मिएर प्रवेशिका परीक्षासम्म गाउँमै पढें । जुन समयमा हिन्दू सँस्कार, परम्परा र सभ्यता सिक्ने बुझ्ने मौका पाएँ ।

मेरो परिवारसँगै गाउँमा कृष्ण प्रणामी धर्म मान्ने धेरै छन् । हाम्रो घर नजिकै ठूलो कृष्ण मन्दिर पनि छ, जहाँ बेलामौकामा विभिन्न धार्मिक कार्यक्रम भइरहन्थ्यो । ती कार्यक्रम तथा अनुष्ठानहरुमा हामी पनि जान्थ्यौं, जसले मलाई हिन्दू धर्मबारे झन् राम्ररी बुझ्न सहज बनायो ।

पाँच कक्षासम्म पढ्दा केही दलित साथीहरुसाग संगत भयो । त्यसमध्ये एकजनासँग अलि बढी नजिक थिएँ । म नेवार नभएर बाहुन भएको भए दलितलाई साथी बनाउन कठिन हुन्थ्यो होला । गदाल थरकी ती साथीसँग म सँगै बस्थें, खान्थें, खेल्थें ।

६ कक्षापछि हामी फरक-फरक विद्यालयमा पढ्न थाल्यौं । यद्यपि, भेटघाट भइरहन्थ्यो । पानीपधेंरो, अर्मपर्म र गाइबाख्रा चराउने चरनक्षेत्र एउटै थियो । हामी मिल्ने साथी भएकामा परिवारको आपत्ति थिएन । त्यसैले त हामी आपसमा खुब मिल्थ्यौं, दुःखसुख साट्थ्यौं, भविष्यका योजना बनाउँदै घण्टौं कुरा गरेर बस्थ्यौं ।

तर बिडम्बना, गाउँमा हुने विहे, व्रतबन्ध तथा सामाजिक कर्ममा हामी छुटिनुपर्थ्याे । हामी बेग्लाबेग्लै बसेर भोज खान वाध्य हुन्थ्यौं । म घरभित्र बसेर खान्थें, उनी बाहिर अलग्गै पर बसेर । त्यस्तै म सजिलै मन्दिरभित्र पस्न पाउँथे, उनलाई दिइदैनथ्यो । त्यस्तो विभेदले मेरो मन दुख्थ्यो, उनलाई झन् कति नरमाइलो लाग्दो हो । तर न उनी केही भन्न सक्थिन्, न म उनलाई घरभित्र वा मन्दिरभित्र आउन आग्रह गर्न सक्थें !

लाग्थ्यो, दलित नै भए पनि हामी एउटै जातको हुन पाएको भए पनि हुने नि ! तर त्यो भावनात्मक कुरा रहेछ । दुखद सत्य त यो रहेछ कि, हाम्रो समाजमा एउटा मान्छे जन्मनेवित्तिकै किन छुत, अछुतमा विभाजित हुन्छ वा गराइन्छ ? किन मान्छे-मान्छेबीच विभेद निर्माण गरिन्छ ? जे होस्, सामाजिक विभेद भए पनि हामीले मनबाट आपसमा विभेद गरेनौं । यस्तैबीच हामीले प्रवेशिका उतीर्ण गर्यौं ।

प्रवेशिकापछि थप अध्ययनका लागि काठमाडौं आएपछि हामीले सँगै पढ्ने, सँगै काम गर्ने सपना देखेका थियौं, अर्थात् योजना बनाएका थियौं । तर परिस्थिति अलग बन्यो । हामी फरक-फरक कलेज भर्ना भयौं । एकै सहर भए पनि हाम्रो बस्ने ठाउँ र हिँड्ने बाटो फरक पर्यो । दूरी क्रमशः कम भयो । १२ कक्षा पनि पास नगरी उसको विहे भयो । विहेपछि उसँगको सम्पर्क, सम्बन्ध टुट्यो । सायद, ऊ परिवारमा व्यस्त भइ । जहाँ पनि ऊ सुखी र खुसी होस् भन्ने कामना छ ।

त्यसपछि काठमाडौं बसेको झण्डै दश वर्ष बित्यो । मैले व्यवस्थापन संकायमा स्नात्तोकोतरसम्मको पढाइ पूरा गरे । यद्यपि, पढ्न सहज भने थिएन, पढाइसँगै काम गर्नुको दुःख आफ्नै थिए । काठमाडौं बसाइँको यो अवधिमा पढाइ मात्र सिकिएन सहरीया समाज र यसको मनोविज्ञान नजिकबाट बुझ्ने अवसर पनि मिल्यो । जिल्लाकै क्याम्पस पढेको भए सहरीया परिवेश बुझ्ने अवसर कहाँ पाउँथे र ! यसर्थ, संघर्षपूर्ण नै भए पनि काठमाडौं बसाइँ उपलब्धिमूलक नै भएको महसुस हुन्छ । तर, सहर नै किन नहोस्, यदि म दलित भएको भए, आज म जहाँ छु र जति अवसर पाइरहेको छु, त्यो सम्भव थिएन ।

खैर, यतिका समयको अन्तरालमा मेरो बालसखा गदाल साथीसँग कुनै पनि माध्यमबाट जोडिन सकेकी छैन । तर, त्यो बेला हामीबीच हुने अन्तरंग कुराकानी भने सधै मिस गरिरहन्छु । काठमाडौं पढ्न आउने बेला हामीले केही थान सपना र योजना सँगै बुनेका थियौं, जुन सँगै पूरा गर्न त पाएनौं नै, आज ऊ के गर्दैछे समेत बेखबर छु । कस्ती भइ होला ?

यस्तो लाग्छ, ऊ आज जहाँ भए पनि एक दलित परिवारमा समाजको विभेद सहेर हिनताबोधसहित बाँचिरहेकी होली ! किनकि, हाम्रो समाज यस्तै छ, हाम्रो चेतना उस्तै पुरातन र रुढीवादले ग्रस्त छ ।

उसको ठाँउमा म भएको भए, समाजले मलाई गर्ने व्यवहारमा उसलाई भन्दा भिन्न हुने थिएन । ऊ जस्तै म पनि अछुत हुन्थें, कति त मेरो जात सुन्दै दश हात पर भाग्थे होलान् । आज हामी जुन घरमा बसिरहेका छौं, यो घरमा बस्न दिँदैनथे होला । दलित हुनुको मूल्य पलपलमा चुकाउनु पथ्र्यो । यस्तो उपेक्षा सम्झँदा मात्रै पनि असैह्य र, छटपटी हुन्छ, भोग्नेलाई झन् कस्तो होला ?

नेपालमा २०२० सालमै छुवाछुतविरुद्धको कानुन बनेको हो । पछिल्लो समय संविधानसभाबाट बनेको संविधानमा पनि जातीय विभेद र छुवाछुतलाई दण्डनीय भनिएको छ । तर व्यवहार उस्तै छ । जंगबहादुरकालीन समयजतिकै निर्मम छ, जातीय विभेद ! यो दुखद सत्य हो ।

बालमस्तिष्कमै विभेदको विष घोलेपछि कोही मानिस युवा वा प्रौढ हुँदासम्म उसले सोच्ने र गर्ने व्यवहार परिवर्तन हुन कठिन हुन्छ । विभेदकारी मानसिकताको परिणाम नवराज वि.क. जस्ता होनाहार युवाको सपना भेरी नदीको छालसँगै बगिरहेको छ भने कतिको खरानी र धँुवामा उडिरहेको छ ।

समाजमा अझै कति समय जातीय विभेद रहिरहने हो ? कथित दलितले कहिलेसम्म अछुत भइरहनु पर्ने हो ? अन्तरजातीय प्रेम सम्बन्ध र विवाहकै कारण कतिले कुटाई खानु पर्ने हो र कतिले काटिनु-मारिनु पर्ने हो ? मारिने र घाइते हुनेका परिवारले कहिलेसम्म सन्तान वियोगमा तड्पिएर बाँच्नु पर्ने हो ? यावत् सवालले दिमाग रन्थनिन्छ ।

आजकै दिन अर्थात् २१ जेठ २०६३ मा राज्यले जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । उक्त घोषणा भएको पनि १४ वर्ष पूरा भयो । तर पनि समाजमा जातीय भेदभाव र छुवाछुत अन्त्य हुन सकेको छैन । यसरी नै समाजमा जात व्यवस्था कायम रहिरहने र यसविरुद्ध युवाले आवाज बुलन्द नगर्ने हो भने विभेदको अन्त्य असम्भवप्रायः छ । अतः धर्मको आडमा रचिएको जातीय विभेद अन्त्यका लागि मूलतः आफूलाई सचेत ठान्ने युवा पुस्ताले पहल लिन ढिलो गर्नु हुँदैन । युवाले आँट गरे मात्र समाजको अग्रगति सुनिश्चत हुन्छ ।

२१ औं शताब्दिका हामी युवाले समाजमा स्थापित मूल्य मान्यतामाथि चुनौती खडा गर्नै पर्दछ । त्यसका लागि नेपाली समाज निर्माणको सैद्धान्तिक धरातलका विषयमा अध्ययन-अनुसन्धान गरी यथार्थ ज्ञान हासिल गर्न जरुरी हुन्छ । हिजोको चेतना र ज्ञानले आज र भोलिलाई हेरियो भने समाज र सामाजिक मूल्यमाथि फरक मत राख्नु विल्कुल गाह्रो काम हो ।

तर, हामीले चाहेमा त्यो फेरि विल्कुलै सामान्य हुनेछ । चिनियाँ दार्शनिक तथा लेखक लाओ ताजुले ‘हजारौ माइलको यात्रा, एक पाइलाबाट सुरु हुन्छ’ भनेजस्तो जात व्यवस्था अन्त्यका लागि हामीले सुरुवात गर्नैपर्छ । सामाजिक रुपान्तरणमा प्रत्येक व्यक्तिको सोच परिवर्तनले योगदान पुग्दछ । समाजमा स्थापित जात व्यवस्थाका बारेमा आफूले आफैंलाई प्रश्न गर्न ढिला भइसकेको छ । अतः आउनुस्, कुरुप सामाजिक विभेद अन्त्य र समतामूलक समाज निर्माणमा सामूहिक संकल्पसहित हातेमालो गरौं ।


प्रतिक्रिया

One thought on “विभेदले पोलेको मन र छुटेको सम्बन्ध

  1. अहिलेका युबा युबती भन्दा पनि पहिलेका बृद बृदा हरु बाटनै यो प्रथालाई निरन्तरता दिएको हुनाले अझै पनि यस्तो कष्ट खेप्न बाध्य बनिएको जस्तो लाग्छ । जे भए पनि जातीय भेदभाबको अन्त्य हुनै पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *