सफल र सुन्दर जीवनका लागि अनिवार्य ‘समयको अडिट’
सन् २०२०मा जय सेट्ठीले ‘थिंक लाइक अ मंक’पुस्तक लेखे । अनुभवसमेत समावेश गरिएको उनको उक्त पुस्तकले राम्रै चर्चा पायो । पुस्तकको सार एक व्यक्ति सन्त वन भिक्षुमनसम्म कसरी पुग्न सक्छ भन्ने नै हो । यसमा पूर्वीय दर्शनका धेरै अभ्यास र ज्ञानलाई सन्दर्भको रुपमा लिइएको छ । पुस्तकमार्फत जयले अहिलेका मानिसको समय कसरी बितेको छ ? भन्ने बारेमा उपयोगी सूचना दिएका छन् । र, मूलतः ‘व्यक्तिले समय अडिट गर्नुपर्छ’ भन्ने उनको धारणा छ ।
जयका अनुसार व्यक्तिले आफ्नो जीवनकालको लगभग ३३ वर्ष जति ओछ्यानमा नै बिताउने रहेछ । सो अवधिमध्ये करिब ७ वर्ष जतिको समय त सुत्ने प्रयास गरेरै बित्ने रहेछ । ४ वर्ष ४ महिना जति समय शारीरिक अभ्यासमा बित्छ, यसैगरी ३ वर्षभन्दा बढी समय त बिदामा वित्ने रहेछ । महिलालाई मेकअप गर्नका लागि लगभग १३६ दिन लाग्ने रहेछ भने पुरुषलाई यो काम गर्न ४६ दिन भए पुग्ने उनको मत छ । यो समय बाँडफाँड त जयको अनुमान मात्र हो, जुन मूलत पश्चिमा समाजमा आधारित भएर गरिएको हो ।
यदि मानिसको औसत आयु ७५ वर्ष मान्ने हो भने आधाभन्दा बढी समय त जयले भनेअनुसारका काममा नै जाने रहेछ । व्यक्तिको जीवनमा बाँकी रहेको आधा समयमात्र साँच्चिकै काम गर्नका लागि उपलब्ध हुने रहेछ । हाल ५० वर्ष आयु भएको व्यक्तिसँग औसत आयुअनुसार लगभग २५ वर्ष आयु बाँकी हुने देखिन्छ । उसँग खास काम गर्नका लागि त लगभग १२ वर्षजति मात्र समय बँच्ने रहेछ । यसैगरी ६० वर्ष पुगेको मानिससँग सात वर्षभन्दा केही बढी समयमात्र काम गर्नका लागि उपलब्ध हुने रहेछ । व्यक्तिको उमेर ४० वर्ष रहेछ भने उसँग काम गर्नका लागि करिब १८ वर्ष बाँकी हुने रहेछ ।
तारा स्नेहता (२०१६) एक आलेखमा उल्लेख भएअनुसार मानिसको सरदर आयु ८० वर्ष मानेर दिनमा करिब आठ घण्टा सुत्छ भनेर अनुमान गर्ने हो एक व्यक्ति जीवनभरमा ९७३८ दिन अर्थात लगभग २६ वर्ष सुत्छ । पश्चिमा समाजमा त ट्राफिक लाइटमा कुरेर पाँच वर्ष, मेकअप र कपडा लगाउन २३८ दिन, बाथरुममा एक वर्ष पाँच महिना, चाबी चश्मा र हेडबिन खोज्दा ११८ दिन र सामाजिक सञ्जालमा तीन वर्ष पाँच महिना बित्छ । यी सबै काममा प्रयोग भएको समय घटाउँदा ८० वर्ष (९६० महिना) आयु भएको मानिससँग साँच्चिकै काम काम गर्नका लागि जम्मा साढे बयालिस वर्ष अर्थात १५५३० दिनमात्र बाँकी देखिन्छ ।
मानिसको मनको कुरा वा भित्री चाहना देखाउने ऐना अहिलेसम्म बनेको छैन । यस्तो ऐना बनेको भए अवस्था अर्कै हुनसक्थ्यो । एउटाले ऐना लिएर हिँड्ने अनि अर्कोको बारेमा बताइदिने भए मानव समाज सुध्रन्थ्यो होला ।
स्टाफ राइटर (२०२०) ले रेफरेन्समा उल्लेख गरेअनुसार एक व्यक्ति जीवनभर औसतमा २६ वर्ष (२२७४६८ घण्टा) सुतेर बिताउँछ, जुन पूरा आयुको लगभग एकतिहाई हिस्सा हो । पश्चिमा समाजमा यस्तो अवस्था होला । पूर्वीय समाजमा यो अवस्था फरक हुन पनि सक्छ ।
जय सेट्ठीको पुस्तकका साथमा माथिका तथ्यांक हेरेपछि व्यक्तिको जीवनभरमा उपलब्ध हुने समयलाई सदुपयोग गर्न अवलम्बन गर्न सकिने उपायहरुका बारेमा थप खोजी गर्ने चाहना भयो । मैले त सोचेकै थिइनँ कि, नेपालीको औसत आयु ७० वर्ष भने पनि खास काम गर्ने समय त ३५ वर्षभन्दा कम रहेछ ।
यही ३५ वर्षको समयलाई महिना, दिन, घण्टा अनि सेकेण्डमा विभाजन गरेर समयलाइ ख्याल गरेर काम गर्नुपर्ने रहेछ । केही मात्रा घटबढ होला तर सबै मानिसका लागि उपलब्ध हुने समय यस्तै हो ।
अहिलेको मूल प्रश्न यही उपलब्ध समयको सदुपयोग कसरी गर्ने ? भन्ने हो । उपलब्ध समयमा राम्रा काम गर्न सके त अरुले सम्झन्छन् होला । अन्यथा शून्यमा विलिन भएपछि सबैथोक सकिने रहेछ । शून्यबाट शुरू भइ पुनः शून्यको यात्रा जस्तो । समाजमा केही छाप छोड्नका लागि यही समयको सदुपयोग गर्नुपर्ने रहेछ ।
यो हिसाबमा हामीले बाँचेको समय साँच्चिकै अत्यन्त छोटो छ भन्ने लाग्छ । सरदर आयु ८० वर्ष मान्दा पनि धेरै समय नगरिनहुने कामका लागि सबैले प्रयोग गर्नैपर्छ । यसरी प्रयोग गरेको समय घटाएर बाँकी रहन आएको समयमात्र हामीले काम गर्ने हो । यो आधारभूत समय हरेक व्यक्तिको हकमा लागू हुन्छ । यसमा केही तलमाथि होला तर मानिसका लागि यस्तो आधारभूत समय चाहिन्छ नै । यी सबै कटाएर बाँकी रहेको समय (सरदरमा चालिस वर्ष)लाई प्रयोग गरेर नै मानिसले आफ्नो काम र अरुको भलाइ गर्ने हो ।
के हामीले यो चालिस वर्ष के कसरी बित्ला भनेर कुनै अनुमान गरेका छौँ ? आउने समयमा के होला भन्नेमा अनुमान गर्न नमिल्ला तर बितेको समय कसरी प्रयोग भएको रहेछ भनेर हेर्न सक्छौं । हामीले आफ्नो समय के, कसरी बितेको छ भनेर हेरेका छौं त ? सायद कमैले मात्र यसो गर्छौ होला । जसले समयको अडिट गरेको छ, उसलाई समयको महत्व थाहा हुन्छ होला । यस्तो अडिट गर्ने ऐना भएको भए हामीमध्ये धेरैको अवस्था कहालीलाग्दो पनि हुनसक्छ ।
सारमा हरेक व्यक्तिले जीवनकालको लगभग आधा समयमात्रै कामका लागि प्रयोग गर्नसक्ने रहेछ । सोमध्ये के कति समय सदुपयोग गर्न सक्छ भन्ने अर्को विषय भयो । उपलब्ध समयमध्ये के कति समय उत्पादनमूलक काममा प्रयोग भएको होला ? नगर्न पर्ने वा नगरे पनि हुने कामका लागि कति समय खर्च भएको होला ? अर्काको बारेमा कुरा गरेर कति समय बितेको होला ? अर्कोसँग झगडा गरेर, वा अर्कोलाई गिज्याएर कति समय बिते होलान् ? अरुलाई उछिन्नमात्र कति समय खर्च भयो होला ? आफ्नो बढाइचढाइ गर्नमा कति समय बित्यो होला ? मनमा कुविचार आएको समय जोड्न सके कति हुन्थ्यो होला ? अरुलाई भन्न जे–जे भने पनि हरेकले आफूले आफूलाई एकपटक नियालेर हेर्दा तस्वीर कस्तो देखिएला ?
मानिसको मनको कुरा वा भित्री चाहना देखाउने ऐना अहिलेसम्म बनेको छैन । यस्तो ऐना बनेको भए अवस्था अर्कै हुनसक्थ्यो । एउटाले ऐना लिएर हिँड्ने अनि अर्कोको बारेमा बताइदिने भए मानव समाज सुध्रन्थ्यो होला । यसैगरी बितेको समय गणना गर्ने एप भएमा पनि हरेक व्यक्तिलाई सुध्रन पनि सजिलो हुन्थ्यो होला ।
समयलाई कसरी उत्पादनमूलक बनाउने ?
समयलाइ बढीभन्दा बढी उत्पादनमूलक कसरी बनाउने त ? कम बोल्ने अनि खुरुखुरु आफ्नो काम गर्ने । यो काम यति सजिलो छ र ? छैन, तर गर्ने पर्छ । कम बोल्नुपर्छ र अरुलाई धेरै सुन्नुपर्छ । आखिर जीवन यहीं कम बोल्ने र धेरै सुन्नेको चक्र नै त रहेछ । समयमा नै बुझ्नेले कम बोल्छन् र धेरै अरुलाई सुन्छन् । बुझ्न बाँकी रहनेले धेरै बोल्छन् । सबैले बुझ्ने यहीं रहेछ । कसैले छिटो बुझ्ने रहेछ भने कोही अलि ढिलो हुने रहेछन् ।
जीवन नै सुन्ने र सुनाउनेमा रहेछ । यसको मात्रा कति हुन्छ भन्नेमात्र रहेछ । मोटिभेसनल स्पिकर एवम् मनोविज्ञानवेत्ताहरुले कम बोल्नुपर्छ, धेरै सुन्नु पर्छ भन्छन् । पूर्वीय दर्शनमा पनि सन्त, ऋषिमुनि तथा महात्माहरु कमै बोल्छन् । कसैलाई लाग्ला हरेक स्थानमा पुगेपछि केही न केही बोल्नै पर्छ । कार्यक्रम वा भेटघाटमा गएपछि केही नबोले समयको सदुपयोग भएको नमानिन सक्छ । मानिसले अनुभव आदान–प्रदान गर्नका लागि पनि बोल्नुपर्छ । अन्यथा बोलीचालीको भन्दा भाषामा ‘बेरुजु’ होइनसक्छ ।
के मानिसले समय विताउनका लागि बोल्नै पर्छ भन्ने छ त ? नबोलिकन विताएको समयलाई अनुत्पादक मान्ने त ? माथि नै भनियो कि, ऋषिमुनिहरु एकदम कम बोले, जति चाहिन्छ त्यति मात्र बोले भनिन्छ । बुद्ध पनि कमै बोले । हरेक स्पिरीच्युअल लिडरहरु कमै बोल्ने सल्लाह दिन्छन् । बोल्दै नबोल्नु र कम बोल्नुमा फरक छ ।
व्यक्तिमा नकारात्मक सोच जन्मजात आउने होइन । जन्मदा बच्चा निर्दोष, नकारात्मक सोच नभएको र संसारप्रति इन्डिफरेन्ट हुन्छ । घर परिवार, साथीभाइ, वातावरणबाट आर्जित विद्या, सोच, धनमध्ये नकारात्मक सोच पनि एउटा हो । यो सोच त बादलले सूर्यलाई ढाकेजस्तै हो । सूर्य देखिनका लागि बादल हट्नु पर्छ वा बादललाई हटाएपछि सूर्य देखिन्छ ।
कम बोल्नु र चाहिएको मात्र बोल्नुमा धेरै फाइदा छन्, खासै बेफाइदा छैनन् । बेफाइदा खोजे पनि अत्यन्तै कम छन् । ज्ञानी एवम् ऋषिमुनिहरुले आफूलाई हेरेर समय बिताए, आफूलाई भित्रैदेखि चिन्ने प्रयासमा समय बिताए । आफूलाई भित्रैबाट चिन्न त्यति सजिलो छैन । यो आत्मबोधको विषय हो । आखिर जीवनमा आफूलाई चिने पुग्ने रहेछ ।
जुन मान्छेले आफूलाई चिन्न सक्छ उसले अरुलाई पनि सजिलै चिन्नसक्ने रहेछ । महाभारतको एक प्रसंगमा युधिष्ठिरले सोधेका छन्, ‘ब्रम्ह भनेको के हो पितामह ?’ भिष्मले जवाफ दिए, ‘हेर युधिष्ठिर यो ब्रम्ह भन्ने जानेर सकिने विषय होइन, आफूलाई चिन, मानिसलाई चिन, त्यति भएपछि तिमी असल राजा बन्न सक्छौ ।’
वास्तवमा मानिसले आफूलाई नचिनेर रिस, राग, घमण्ड गर्छन् । व्यक्तिको समय अडिट गरिरहँदा सामाजिक सन्जालमा धेरै समय खर्च भइरहेछ । के त्यो समय साँच्चिकै सदुपयोग भएको हो त ? कतै सामाजिक सन्जालको लतले व्यक्तिको मस्तिष्कमा नकारात्मक असर पारेको त छैन ? यी त प्रतिकृया जनाउने वा तनाव थप गर्ने स्थान हुन् । त्यसैले मानिसहरु अछुतो बस्न थालिकसकेका छन् ।
समय सामाजिक सन्जालमा बिताउने भन्नेमा फरक–फरक धारणा हुनसक्छन् । आखिर अहिलेको समयमा यसबाट पूरै अलग बस्न त नसकिएला तर यसमा प्रयोग भएको समयमध्ये अधिक समय अस्वभाविक वा अनावश्यक चाहिँ छ नै । यसबाट पनि समय बचत गरी अन्य उपयोगी काममा लगाउन सके राम्रै हुन्थ्यो । केही नभए आफैंलाई चिन्ने प्रयास गर्दा व्यक्तिलाई लाभ हुनथ्यो ।
व्यक्तिमा नकारात्मक सोच जन्मजात आउने होइन । जन्मदा बच्चा निर्दोष, नकारात्मक सोच नभएको र संसारप्रति इन्डिफरेन्ट हुन्छ । घर परिवार, साथीभाइ, वातावरणबाट आर्जित विद्या, सोच, धनमध्ये नकारात्मक सोच पनि एउटा हो । यो सोच त बादलले सूर्यलाई ढाकेजस्तै हो । सूर्य देखिनका लागि बादल हट्नु पर्छ वा बादललाई हटाएपछि सूर्य देखिन्छ । व्यक्तिमा रहेको नकारात्मक सोच हटाएपछि पूर्णमानव बन्न सक्छ, पुन जन्मजात शिशु जस्तो । जय सेट्ठीले ऐनामा लागेको धुलो पुछ, अनिमात्र अनुहार देखिन्छ भन्छन् ।
रोबर्ट इ क्यूइन (२००२)ले चेन्ज द वर्ल्ड भन्ने पुस्तकमा व्यक्ति रुपान्तरणका लागि उसँग टाँसिएको वा उभित्र रहेको स्क्रिप्ट र कल्चरको कभर बाहिर आउन सक्नुपर्छ । जसरी जमिनमा रहेको बिउ कभर तोडेर बाहिर आउँछ, यस्तै प्रकृया व्यक्तिको हकमा पनि लागू हुन्छ ।
उनका अनुसार त व्यक्ति यी दुईबाट बाहिर ननिस्की आफूमा परिवर्तन ल्याउन सम्भव छैन । आखिर जे जे भनेपनि आधारभूत ज्ञान भनेको व्यक्तिले पहिला आफूलाई चिन्नु रहेछ, आफ्ना कमजोरी पहिचान गर्नु रहेछ । अनि आफूमा सुधार ल्याउनु रहेछ ।
जब व्यक्ति कम बोल्न थाल्छ, उसले अरुलाई सुन्न पाउँछ । हामीले बोल्दा वा कुरा गर्दा अरुको बारेमा टिकाटिप्पणी गरिने हुनाले यसबाट व्यवहारिक रुपमा पनि लाभ हुन्छ । भनिन्छ- ज्ञानी दर्शन वा विचारका बारेमा मात्र बोल्छ, मध्यमस्तरको मानिस घटनाको बारेमा बोल्छ र निम्नस्तरको व्यक्ति अरु व्यक्तिका बारेमा कुरा गर्छ । हामीले दैनिक रुपमा जे जति सुन्छौ, अरुलाइ सुनाउँछौ, यीमध्ये धेरै कार्यहरु माथि दिइएकामध्ये तेस्रो समूहमा पर्छन् होला । यसबारेमा अरुलाई बताउनै पर्दैन, एकपटक आफूले आफूलाई हेरेमात्र पुग्छ । त्यसैले त भन्ने गरिन्छ- बोलेका विषयवस्तु र प्रस्तुतिले व्यक्तिको हैसियत निर्धारण गर्छ ।
दर्शन वा विचारका बारेमा बोल्नेले थोरै मात्र बोल्छ, आफूलाई नियाल्छ, आत्मबोध वा आत्मस्वीकार गर्नेतर्फ लाग्छ । जव व्यक्ति घटना पनि छाडेर स्वयं अरु व्यक्तिका बारेमा वोल्न थाल्छ, उसले सवै बिर्सेर निरन्तर वोलिरहन्छ । श्रीकृष्णले गीतामा पनि सत्य बोल्नपर्ने, लाभदायक बोल्नपर्ने, हरुलाई चोट पुग्नेगरी बोल्न नहुने कुरा बताउनु भएको छ ।
जयसेट्ठीले भिक्षु बन्ने क्रममा कैयौँपटक नबोलेर बिताएको प्रसंग पुस्तकमा उल्लेख गरेका छन् जुन शुरुवाती दिनमा साह्रै कठिन हुन्छ । अहिले पनि आश्रममा यस्तो अभ्यास भइआएको छ । सत्य पनि बोल्नुपर्ने, लाभदायक पनि बोल्नुपर्ने एवम् अरुलाई चोट पुर्याउन पनि नहुने काम गर्नु आफैमा अत्यन्त चुनौतीपूर्ण छ ।
हाम्रा हरेक संवाद आफू अब्बल र उच्च भन्ने ढंगबाट सम्प्रेषित भएका हुन्छन् । यस्ता संवादबाट ‘म’ भन्ने पात्र झिक्ने हो भने आफूले मात्र काम गरेको भन्ने भनाइ कम हुनपुग्छ । अरुले पनि काम गरेका छन् भन्न सक्नुपर्छ । अरुलाइ माथि राख्न सक्नुपर्छ । आफ्नै बारेमा त थाहा नहुनेलाई अरुका बारेमा के कति थाहा हुन्छ होला र ? जयका अनुसार हामीमध्ये धेरैले अरुलाई उच्च देखाएर कुरा गर्ने अभ्यासै गेरेका छैनौँ । यसलाई अभ्यास गरेर हेर्दा व्यक्तिलाई लाभै पुग्छ । यसबाट नै आत्मबोध हुन्छ । अनिमात्र स्वयम्ले अनुभव गर्न सकिन्छ, परिवर्तन गर्नुपर्ने के रहेछ भनेर ।
समाज र सार्वजनिक प्रशासनमा ठूलो अर्थात् माथिल्लो तहमा रहेका व्यक्तिले बोल्ने र बाँकी अरुले सुन्नुलाई साधारण मानिन्छ । यस्ता संवादमा आफूले गरेको कामका बारेमा बखान गर्ने गरिन्छ । तलका तहमा रहेकाहरुको कुरा सायदै सुन्ने गरिन्छ । भन्ने गरिन्छ, ठूलाका अगाडि बोल्नु हुँदैन । को ठूलो भन्ने प्रश्नलाई नजिकबाट हेर्ने हो भने सबै समस्या समाधान हुने रहेछ । यहाँ त म ठूलो भन्ने भ्रमले नै सबै बिगारेको छ ।
हरेक बैठकमा समय पुगेन भन्ने मात्र गरिन्छ । सहभागीले बोल्नमा के कति समय खर्च गरेका छन् भन्ने बारेमा सायदै खोजी गरिन्छ । समय त संसारका हरेकका लागि उस्तै नै हो । सबैजना समयअनुसार चल्ने नै हो, न कि व्यक्तिअनुसार समय चल्ने गर्छ । समय न त तन्काउन सकिन्छ न बढाउन । हरेकले आफू कम बोल्ने र अरुका कुरा सुन्ने संस्कार बसाल्ने हो भने समय कम भन्ने प्रश्न नै उठदैन । वातावरण नै बदलिन्छ । हरेकले एकपटक अभ्यास गर्न सके बाँकी सबैलाई फाइदा नै हुन्थ्यो ।
व्यक्ति के कति मात्रामा बोल्नुपर्छ भन्ने बारेमा पूर्वीय दर्शनमा धेरै दृष्टान्तहरु छन् । विदुर नीतिमा सभामा बस्दा नमागेको सल्लाह दिन नहुने, बोल्दा सत्य तर अरुलाई चोट नपुग्ने गरी बोल्नुपर्ने भनिएको छ । बुद्ध दर्शनमा पनि सत्य बोल्नुलाई मूलमर्म मानिएको छ । व्यक्तिले उपयुक्त समयमा मात्र बोल्नुपर्छ भनिएको छ । बिस्तारै बोल्ने, सत्य बोल्ने, नम्र भइ बोल्ने तथा सकारात्मक सोचबाट बोल्नुपर्छ भनिएको छ ।
बोल्नुको अर्थ चाहेको कुरा ओकल्नु मात्र होइन, बेला न कुबेला बोल्नु पनि होइन, नमागेको सल्लाह दिनु पनि होइन । बोलाइ ध्वनी हाो यसमा मिठास पनि छ र कर्कशपना पनि छ । ठीक तरिकाले बोलाइ पुगेन भने नमीठो हुने मात्र होइन कि, ध्वनी प्रदूषण पनि हुन्छ । जसले व्यक्ति स्वयम्प्रति नकारात्मक भाव उत्पन्न गराउँछ ।
(लेखक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हुन् ।)
फरक धारको लेख । बधाई छ डा लम्साल सरलाई ।
excellent write up
kati mitho lekhnu vayaxa dhanyabad xa tapailai. feri yastai ramro lekhdai janu hai.