मल पर्याप्त छ, स्टक नराख्नुहाेला : कृषिमन्त्री अर्याल – Nepal Press

मल पर्याप्त छ, स्टक नराख्नुहाेला : कृषिमन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले मलको अभाव नभएको बताएकी छन् । शुक्रबार कृषि सामग्री कम्पनी लिमिटेडमा पुगेर रासायनिक मलको अवस्थाको बारेमा अनुगमन गरिसकेपछि बोल्दै मन्त्री अर्यालले खेती लगाउने प्रयोजनको निम्ति मलको अभाव नभएको बताएकी हुन् ।

मल पर्याप्त रहेको उनको दाबी छ । मल पर्याप्त रहेपनि वितरणमा समस्या देखिएको भन्दै वितरणको समस्यालाई पनि छिटोभन्दा छिटो समाधान गरिने मन्त्री अर्यालले बताइन् । हाल मल असार र साउनको निम्ति खेती लगाउने प्रयोजनका लागि पर्याप्त भएको भन्दै उनले भदौँ र असोजका लागि मल ल्याउने तयारी भइरहेकाले स्टक नराख्न किसानहरुलाई आग्रह समेत गरेकी छन् ।

उनले भनिन्,‘आजको दिनमा हाम्रो खेतीबाली लगाउन सम्मको निम्ति मल पर्याप्त छ । थोरै समस्या वितरणसँग जोडिएर छ । वितरणसँग जोडिएका समस्या हामी तुरुन्तै समाधान गर्छौ । भदौमा मल आउँदैन कि, असोजमा मल हुँदैन कि भनेर अहिले यो सिजनको निम्ति हामीले प्रवन्ध गरेको, वितरणको निम्ति ल्याएको मल आफुलाई आवश्यकताभन्दा बेसी राखिदिने अनि भर्खरै किसानले नपाउने, भोलिको निम्ति साचिदिने त्यो काम नगरिदिनका लागि अनुरोध गर्दछु । असार र साउनका लागि वितरण गरेको मल भदौ र असोजको लागि स्टक नराख्नुहोस् । मल पर्याप्त छ ।’

मन्त्री अर्यालले कृषि सामग्री कम्पनी लिमिटेडलाई कृषकको पहिचान सहित मल वितरणको व्यवस्था मिलाउन निर्देशन समेत दिएकी छिन् । उनले सहकारीहरु दोस्रो पटक मल लिन आउँदा पहिलो पटक लगेको मल वितरणको मुल्य सूचिसहितको विवरण माग गरेर मात्रै दिन पनि निर्देशन दिइन् । स्थानीय तहलाई पनि पत्राचार गरेर मल स्टक नराख्न अनुरोध गर्नुपर्ने, मलको आपुर्ति र वितरण सँग जोडिएका कर्मचारीलाई स्वास्थ्य प्रोटोकल पालना गरेर निरन्तर सेवा प्रवाहमा खट्न पनि उनले आग्रह गरेकी हुन् । उनले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई आपुर्ति र वितरणको दैनिक विवरण कृषि मन्त्रालयमा पेश गर्न निर्देशन दिइन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले हाल रासायनिक मल यूरिया २० हजार ८६ दशमलव ९५० मेट्रिक टन, डि.ए.पी ३९ हजार २ सय ८६ दशमलव ६८८ मेट्रिक टन, पोटास ४ हजार १ सय ४६ दशमलव ६५० मेट्रिक टन र कृषि चुन ४ सय ४४ दशमलव ५७५ मेट्रिक टन मौज्दात रहेको बताएको छ । साथै साल्ट ट्रेडिङ्ग कर्पोरेशनसँग हाल रासायनिक मल यूरिया मल १५ हजार २ सय ४ मेट्रिक टन, डि.ए.पी. १४ हजार ४ सय ४४ मेट्रिक टन र पोटास ३ हजार ८ सय ९६ मेट्रिक टन मौज्दात रहेको छ जनाएको छ । त्यस्तै रासायनिक यूरिया मल ६५ हजार मेट्रिक टन असार महिना भित्रै प्राप्त हुने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङग कर्पोरेशन लिमिटेडले संयुक्त रुपमा जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *