विभेदले गिज्याइरहेको समृद्धि !
न्याय, स्वतन्त्रता र समानताका लागि नेपालमा धेरै आन्दोलन र क्रान्ति भए । क्रान्तिमा धेरै नेपालीले ज्यानको आहुति दिए । परिणामतः व्यवस्था परिवर्तन भयो, तर देश र नागरिकको अवस्था उस्तै छ ।
नेपालमा बलिदानीको इतिहास लामो छ । योगमायालगायत ५८ जनाले समानता र स्वतन्त्रताकै लागि जलसमाधि गरे । २००७, ३६, ४६ र ६२/६३मा भएको जनआन्दोलनसँगै माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा हजारौ नेपाली सपुतले ज्यानको आहुति दिए । रै पनि समाजमा विभेद उस्तै छ, न नागरिकले स्वतन्त्रताको अनुभूति गर्न पाएका छन् । न त मुलुक समृद्ध नै भयो ।
महिला भएकै कारण धेरैले सास्तीसँग जीवन बाँचिरहेका छन् । कथित दलित भएकै कारण कतिले मृत्युवरहण गर्नुपरेको छ । सधैं समाजमा हेंलामा, उपेक्षामा बाँच्नुपरेको छ ।
यो समाजमा अझै यस्तो जर्जर स्थिति कायम छ कि, बोक्सीको आरोपमा एउटी महिलालाई मलमुत्र खुवाइन्छ, कुटपिट गरिन्छ, बालिका बलात्कार बढ्दो छ । अन्तरजातीय प्रेमकै कारण नवराज विकसँगै धेरैको ज्यान गएको छ ।
सूचना प्रविधिसँगै सञ्चार क्षेत्रको व्यापक विकास भएको छ । तर मान्छेले मान्छेमाथि गर्ने अन्याय, अत्याचार र विभेद कम भएको छैन । भएका अन्यायपूर्ण घटनाको आवश्यक छानविनसमेत भएको छैन, कारवाहीको कुरा त धेरै परको भयो । अझै यस्तै अन्याय, विभेद र अत्याचार सहेर कतिन्जेल बाँच्ने ? कहिले अन्त्य हुन्छ, असमानता र अत्याचार । के त्यसका लागि फेरि युद्ध गर्नपर्ने हो ?
यो धरतीमा हरेक प्राणीको बराबर अधिकार छ । अरु प्राणी जस्तै मान्छे पनि एक प्रजाति हो । मान्छे जन्मने बेला ऊ निर्दोष हुन्छ । उसको कुनै जात, भाषा, धर्म हुँदैन । पछि मान्छेले जात तथा धर्मको नामा विभेद गर्ने अनेक नियम बनाएका छन् । मान्छेले मान्छेले शासन गर्न बनाएका त्यस्ता मान्यताको अन्त्य हुनैपर्छ ।
समाजमा जबरजस्त वर्ग निर्माण गरिएको छ । उच्च वर्ग निम्न वर्गमाथि शासन गर्न अनेक नियम बनाएको छ । त्यो जातको नाममा होस् या धर्मको नाममा । विभेदमा पर्नेहरुले पनि नियति ठानेर चुपचाप बसिरहेका छन् ।
नेपालमा बनेका कानुन तथा ऐनमा जातीय तथा लैंगिक विभेद गर्न नहुने र गरेमा कडाभन्दा कडा कारवाही हुने कुरा उल्लेख छ । तर, त्यो कागजमा मात्रै सीमित छ । व्यवहारमा लागू हुन सकेको छैन ।
अब हामीले जो जहाँ छौं, त्यहींबाट फेरि पनि समानता र स्वतन्त्रताका लागि लड्नुपर्ने बेला आएको छ । वर्षौदेखि जकडिएको विभेद एवम् अत्याचार अन्त्य गर्नु सजिलो सवाल हुँदै होइन । यहाँ शिक्षित भनिने वर्ग नै विभेदकारी छ ।
भाषण र गफमा जातीय विभेद हुन नहुने बताउनेहरु नै आफ्नो परिवार र समाजमा विभेद गरिरहेका छन् । उनीहरु अन्तरजातीय प्रेम तथा विवाहलाई स्वीकार्न सक्दैनन् । घरमा महिलामाथि अनेक हिंसा गरिरहन्छन् । त्यसैले अब गफमा होइन, व्यवहारमै विभेद अन्त्यका लागि थप संघर्ष गर्न जरुरी छ ।
समाजमा प्रगतिशीलको बिल्ला भिर्नेहरु नै विभेदका मतियार हुनु हाम्रो समाजको दुर्भाग्यपूर्ण सत्य हो । स्वातन्त्रता र समानताकै लागि भन्दै च्याउनसरी एनजिओ–आइएनजिओ सक्रिय छन् । तर, समस्या घटेको छैन ।
सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा भजाएको भजाएकै छ । सरकारको बुझाइमा भौतिक विकास मात्रै विकास हो । तर समाजमा हुने असमानता अन्त्य नभएसम्म समाज समृद्ध बन्न सक्दैन ।