ओली मन्त्रिपरिषद्का ५ नयाँ अनुहार, चन्दाको बढुवा – Nepal Press

ओली मन्त्रिपरिषद्का ५ नयाँ अनुहार, चन्दाको बढुवा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद १८औं पटक पुनर्गठन गरेका छन् । पुनगर्ठित १७ सदस्यीय मन्त्रिपरिषद्‌मा पहिलोपटक मन्त्री भएका सात नयाँ अनुहार छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमल श्रीवास्तव, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरिया, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी र युवा तथा खेलकुद मन्त्री एकवाल मियाँ पहिलोपटक मन्त्री पदमा पुगेका हुन् । यसैगरी राज्यमन्त्रीद्वय चन्द्रकान्त चौधरी र रेनुका गुरुङको पनि पहिलो अनुभव हो ।

मन्त्रिपरिषद्‌मा समावेश नयाँ अनुहारहरूको राजनीतिक पृष्ठभूमि कस्तो छ त ?

उमाशंकर अरगरिया

अरगरियाको घर धनुषाको ग्रामीण भेगमा पर्ने शहिदनगर नगरपालिका ८ मा पर्छ । उनले स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

९ कक्षामा पढ्दा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका अरगरीया पछि मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए । उनले मधेस आन्दोलनका बेला भ्रष्टाचारविरोधि अभियान चलाएर चर्चा बटुलेका थिए ।

फोरमको धनुषा अध्यक्षसमेत भएका अरगरिया पार्टी फुटेपछि विजय गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकतिर लागे । फोरम लोकतान्त्रिकको जिल्ला अध्यक्ष हुँदै प्रदेश अध्यक्षसम्म भए । ०७४ सालको निर्वाचनताका उनी पुनः उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गरे । सोही पार्टीबाट टिकट पाएर धनुषा क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा निर्वाचित भए ।

अरगरियाले सांसदमा पार्टीको प्रमुख सचेतकको जिम्मेवारी निभाएका थिए । उपेन्द्र यादवसँग रुष्ट बनेर महन्थ ठाकुर पक्षमा लागेपछि उनले मन्त्री पड्काउन सफल भएका छन् । अरगरियाका बुवा तत्कालीन विसरभोरा गाविसमा कांग्रेसबाट तीनपटक अध्यक्षमा निर्वाचित भएका थिए ।

चन्दा चौधरी

२०३२ सालमा महोत्तरीको मोटीहानीमा जन्मिएकी हुन् चन्दा चौधरी । उनले विवाहपछि सर्लाहीलाई कर्मघर बनाइन् । त्यहीँबाट सद्भावना पार्टीमा आवद्ध भएर राजनीतिक यात्रा सुरु गरिन् ।

चौधरी २०६२/०६३ को मधेस आन्दोलनमा सक्रिय थिइन् । पछि महन्थ ठाकुरले गठन गरेको तराई मधेस लोकतान्त्रिक पार्टीमा लागिन् । तमलोपाको तर्फबाट २०६६ मा माधवकुमार नेपाल नेतृत्वको सरकारमा उनी खेलकुद सहायक मन्त्री बन्ने अवसर बनेकी थिइन् ।

६ राजनीतिक दल मिलेर बनेको जसपाले उनलाई समानुपातिक सांसद बनाएको थियो । अहिले उनी पहिलोपटक मन्त्री बन्न सफल भएकी छन् । चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

चौधरीले भारतबाट एसएलसी सरहको परीक्षा उत्तिर्ण गरेकी छन् । उनका दाजु कांग्रेसमा निकट थिए । ०५४ मा राजनीतिक दुश्मनीकै कारण उनको दाजुलाई भारत लगेर हत्या गरिएको थियो ।

विमल श्रीवास्ताव

पर्साको वीरगञ्ज घर भएका विमल श्रीवास्तावले राप्रपाबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । उनी चार पटकसम्म वीरगञ्जका मेयर भए । पछि महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक (तमलोपा)मा प्रवेश गरे ।

श्रीवास्तवले पहिलो संविधानसभाको निर्वाचनमा राप्रपाबाट र दोस्रोमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट पर्सा क्षेत्र नम्वर १ बाट चुनाव लडेका थिए । तर दुवैमा पराजित भए ।

स्थानीय तहको निर्वाचन नजिकिएपछि तमलोपासहित ६ पार्टी मिलेर राजपा बन्यो । उनलाई राजपाले स्थानीय तहको निर्वाचनमा वीरगञ्जका मेयरको टिकट दिएन । त्यसपछि उनी विजय गच्छदार नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेर चुनाव लडे तर पराजित भए ।

श्रीवास्तवलाई त्यसपछि उपेन्द्र यादवले आफ्नो पार्टीमा भित्र्याएर पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाए । त्यसमा उनले नेपाली कांग्रेसका अजयकुमार चौरासियालाई पराजित गर्दै सांसद निर्वाचित भए ।

उनी धनाढय व्यक्तिका रुपमा चिनिन्छन् । जहिल्यै पावरमा बस्न रुचाउने उनी उपेन्द्र यादवले सरकारमा जाँदा मन्त्री नबनाएका कारण रुष्ट बनेका थिए । त्यसैले पछिल्लो समय उपेन्द्रको साथ छाडेर महन्थ ठाकुर पक्षमा लागे ।

एकवाल मियाँ

युवा तथा खेलकुदमन्त्री नियुक्त भएका एकवाल मियाँ बाराको क्षेत्र नम्बर ४ बाट संसदमा प्रत्यक्ष निर्वाचित भएका हुन् । २०२६ साल जेठ १५ गते बारामै जन्मेका मियाँले २०४३ सालबाट राजनीति सुरु गरेका थिए ।

एमालेनिकट अनेरास्ववियूको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका उनी २०६० सालदेखि ७१ सालसम्म एमालेको बारा जिल्ला बुद्धिजिवी कमिटीमा सल्लाहकार रनहे । २०७३ सालमा उनी तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीमा प्रवेश गरे भने त्यहाँबाट फेरि राजपातिर लागे । राजपाको केन्द्रीय सदस्य रहेका उनी हाल जसपामा छन् ।

२०७४ सालको संसदीय चुनावमा वाम गठवन्धनका उम्मेदवार देवनारायण थारुलाई हराउँदै मियाँ सांसद निर्वाचित भएका हुन् । गत वर्ष लाट्भियामा आयोजित स्वतन्त्र तिब्बतको वकालत गर्ने सम्मेलनमा भाग लिएर उनी विवादमा तानिएका थिए । उनले अञ्जानमा आफू सो कार्यक्रममा पुगेको भन्दै क्षमायाचना गरेका थिए ।

चन्द्रकान्त चौधरी

सप्तरीको क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद चन्द्रकान्त चौधरी उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री बनेका छन् । ७४ वर्षिय चौधरी पञ्चायतकालदेखि नै राजनीतिमा थिए ।

२०१८ सालदेखि २०४६ सालसम्म उनले प्रधानमञ्चका रुपमा पञ्चायतको सेवा गरे । ४६ सालपछि उनी कांग्रेस राजनीतिमा लागेर गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भए ।

पछि कांग्रेस छोडेर मधेश आन्दोलनमा सक्रिय बनेका चौधरी राजपा नेपाल हुँदै जसपामा आएका हुन् । संसदीय चुनावमा कांग्रेसका दिनेशकुमार यादवलाई पराजित गर्दै उनी सांसद निर्वाचित भएका थिए । संसदका चुनाव लड्नुअघि चौधरीले मेयरको टिकटका लागि निकै प्रयास गरेका थिए । पार्टीले टिकट नदिएपछि उनी डाकनेश्वर नगरपालिकाको प्रमुखमा स्वतन्त्र चुनाव लडेर पराजित भए । दुई हजार भोट पनि कटाउन नसकेका उनी पाचौं स्थानमा रहेका थिए ।

रेणुका गुरुङ

जसपाकी समानुपातिक सांसद रेणुका गुरुङलाई प्रधानमन्त्रीले बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनाएका छन् । २०३४ सालमा खोटाङमा जन्मेकी उनी राजनीतिमा लागेको धेरै भएको छैन ।

२०७४ सालमा संघीय समाजवादी पार्टीको टोखा नगरपालिका अध्यक्ष भएर उनको राजनीतिक जीवन सुरु भएको हो । समाजवादी पार्टीले नै उनलाई जनजाति महिलाको कोटामा सामानुपातिक सांसद बनाएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर