गुल्मीमा गाई काटेको आरोपमा २ जना पक्राउ
रूपन्देही । गुल्मीमा गाई काटेको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका-१ लिलिङ्गका २४ वर्षीय रमेश श्रीस र २२ वर्षीय बिमल घर्तीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
सोही वडाकी स्थानीय हिरा पुनले २२ दिन अघि पाल्न गाई किनेर घर ल्याएकी थिइन् । पुनको गोठमा बानिएको गाई दुईजना मिलेर जंगलमा ल्याइ काटेर खाएको आरोपमा उनीहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
गाईको मासु काटेर घर-घरमा लगेको र टाउको र छाला गाडेर छाडेको अवस्थामा फेला पारेको पारेको डिएसपी पाण्डेले बताए । घटनामा संलग्न थप मानिसहरु खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
जेठ १६ गतेका दिन गुल्मीको मालिका गाउँपालिकाको वडा नं-२ पाटाखर्कमा एक हल गोरु घनको प्रयोगमा मारी काटेर पित्त झिकेको आरोपमा एक जना युवासहित ३ जना नाबालक प्रहरीद्वारा पक्राउ गरी अनुसन्धान सुरू गरेकाे छ ।